अमर अधिकारीकवि साथीको गुनासो
नून हालेको तरकारी र दाल खाऔँला” भन्ने सोँच्नेछन्। यत्ति हो आफन्त र शुभचिन्तकमा भिन्नता यत्ति हो नातेदार र साथीहरुमा असमानता।

अमर अधिकारी :
तीन दशक अघिदेखि नै
पत्रपत्रिकाहरुमा उसका कविताहरु देखिन्थे
मैले भेटाएसम्म कवि साथीका रचनाहरु पढ्थेँ
भेटमा भन्थेँ- “आहा क्या गजबको कविता !”
थप्थेँ- “वाह क्या समसामयिक सृजना !”
उसका मन छुने कविता
अनि कथाहरु धमाधम छापिन थाले
राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा
पहिलेदेखि नै बहुप्रतिभाशाली थियो ऊ
बहुविधाका साहित्यिक रचना गर्थ्यो
अनि
बहुविषयका लेखहरु पनि लेख्थ्यो
उत्कृष्ट भएर नै होला निरन्तर छापिइरहन्थे
अहिले पनि प्रकाशन भैरहन्छन् अटुट रुपमा
हाल अनलाइन मिडियाहरुले पनि
उच्च स्थान दिएर उसका
लेख रचनाहरु प्रकाशन गर्छन्
उसका लेख अनि रचनाहरुको रफ्तार देखेर
शुभचिन्तकहरुले खुशी प्रकट गर्दछन् भने
केही आफन्तहरु बेखबर झैँ देखिन्छन्
उसले मान सम्मान अनि पुरस्कार पाएको पनि
केही आफन्तहरुलाई चित्त बुझ्दैन
सोँच्थ्यो- “आफन्त नै डाहाडे र रिस गर्ने हुँदा रहेछन्”
अहिले साहित्यिक संस्थाहरुले उसलाई बोलाइरहन्छन्
साक्षात्कार भैरहन्छ प्राज्ञहरुसँग
विद्वानहरुले उसलाई अङ्गालो हालेको फोटो
फेसबुकमा सप्रेषण गर्दा शुभचिन्तकहरुको
लाइक र कमेन्टहरुको ओइरो आउँदा
आफन्तहरु चुप लागेर बस्छन्
उसका यी सबै गुनासो सुन्ने म नैँ हुँ सायद,
ऊ राष्ट्रियस्तरको लेखक तथा साहित्यकार हुँदा पनि
केही आफन्तलाई कुनै चासो छैन
उसले सोच्दछ होला- “आफन्त भनेका केवल
म मरेपछि शवयात्रापूर्वको सानो शोकसभामा उपस्थिति जनाउने मात्र हुन्,
केवल औपचारिकता निभाउनका लागि
भित्री मनले उनीहरुलाई मेरो शबसँग आर्यघाट जान दिँदैन
तर
समाजका लागि उनीहरु जबर्जस्ती मेरो मलामी जानेछन्
घाटमा श्रद्धाको फूल चढाएको नाटक गर्नेछन्
साथीहरु र शुभचिन्तकहरु भने
भित्री मनदेखि नै दुःखित हुनेछन्,
शोकाकुल हुनेछन्
म मरेपछि
आफन्त त “कहिले तेह्र दिन पुग्ला र
नून हालेको तरकारी र दाल खाऔँला”
भन्ने सोँच्नेछन्।
यत्ति हो आफन्त र शुभचिन्तकमा भिन्नता
यत्ति हो नातेदार र साथीहरुमा असमानता।
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest










































