बिन्दु दहाल ‘मूकदर्शक’मान्छे
जे रोप्छ फल्छ सोही फल्दैन अन्य वस्तु जो ठग्नढाट्नलाई माग्दै छ ऊ तथास्तु अन्याय गर्छ मान्छे निर्धाहरू दबाई जो खन्छ पुर्न खाल्डो भन्दै छ ऊ बधाई ।

बिन्दु दाहाल मूकदर्शक :
सिद्धान्त बेच्छ मान्छे आदर्श बेच्छ मान्छे
आफैँ हसुर्नलाई मान्छे हुँदै छ भान्छे
तृष्णा र राग बोकी आफैँ भएछ कंस
गर्दैन कर्म केही भन्दै छ खोइ अंश ?
निर्ढुक्क हुन्छ स्वार्थी खोसेर खानलाई
दृष्टान्त दिन्छ आफैँ क्राइस्ट बुद्धलाई
नेपाल आज खोक्रो बन्दै छ ध्वस्त पारी
छन् नन्दलाल जस्ता घिच्चास कर्मचारी ।
सक्दो दिएर पीडा हाँस्छ्न् गल्ल सारा
टेकेर हिँड्दछ्न् ती निर्दोष स्वेद धारा
संस्कार भुल्छ पैसा खाएर गर्छ काम
झेली हरामले नै जप्दै छ नाम राम ।
दु: खीहरू रुवाई मान्छे रमाउँदैछन्
मारेर अन्यलाई पैसा कमाउँदैछन्
को लान्छ स्वर्ण हीरा बोकेर माथि जाँदा
प्रख्यात हुन्न कोही खोसेर गाँस खाँदा ।
जे रोप्छ फल्छ सोही फल्दैन अन्य वस्तु
जो ठग्नढाट्नलाई माग्दै छ ऊ तथास्तु
अन्याय गर्छ मान्छे निर्धाहरू दबाई
जो खन्छ पुर्न खाल्डो भन्दै छ ऊ बधाई ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































