हाेमनाथ घिमिरेरङ्गमञ्च !
आयो वादविवाद मान्यवरको, के हुन्छ त्यो मापन - भन्दै चील लिएर गिद्ध नभमा, उड्दै रह्यो फन्फन ! सारा नाटक झैँ भयो चहुरमा, कोही रुखैमा बसे । हेर्छन् त्यो रमिता बडो गजबले, च्याँसे भुँडे वा नशे !

होमनाथ घिमिरे :
फेरे नाम मुकाम आज तिनले, छुट्टै सिलाए लुगा !
कोही सारस छन् कुनै ढुकुर छन्, कोही बकुल्ला सुगा !
बोल्छन् मञ्च बसेर भाषण बडो, एकत्व हाम्रो जित !
यौटै भाव विचार मिल्छ सबको, हामी लगाआौँ मित !
राता रङ्ग बसे सँगै चहुरमा, काला पहेँला उता !
कोही छन् हरिया कुनै छिरबिरे, डाङ्ग्रे बकुल्ला कता !
मेरो ठाउँ कहाँ छ आसन कता, भन्दै भँगेरो पनि !
फिस्टे हाँस त्यहीँ चिबे पनि पुग्यो, डाँफे सँगै धोबिनी !
पायो स्थान मयूरले प्रमुखको, यो कार्य सञ्चालन !
पक्र्यो माइक कोइली तब त्यहाँ, गर्दैछ सम्बोधन ।
हाम्रो शक्ति घट्यो हिजो समयले, जो शक्ति हाम्रो थियो !
नौलो यो परिवेशले मुलुकको, साँच्चै चुनौती दियो !
आए शक्ति नयाँ युवा र बलिया, निर्माणमा तत्पर !
आगोतुल्य स्वभाव तीक्ष्ण चतुरा, आगै लगाए घर !
रोक्नैपर्छ तसर्थ आज सबले, अस्तित्व राख्ने भए ।
जो प्रस्ताव थियो ; समर्थन गरे, ताली सबैले दिए !
आयो वादविवाद मान्यवरको, के हुन्छ त्यो मापन –
भन्दै चील लिएर गिद्ध नभमा, उड्दै रह्यो फन्फन !
सारा नाटक झैँ भयो चहुरमा, कोही रुखैमा बसे ।
हेर्छन् त्यो रमिता बडो गजबले, च्याँसे भुँडे वा नशे !
०००
भरतपुर चितवन
२१ कार्तिक , २०८२
Subscribe
Login
0 Comments
Oldest








































