उत्तमकृष्ण मजगैयाँतँतँ मँमँ
नशामा बाह्रमासेको धन सारा गुमाउँछौ विहानैदेखि सीसीको झोलले नित्य झुम्दछौ ! नशा पिएर मातेरै कुटेका घाउ खोलूँ कि ? पत्नी छाडेर कोठीमा धाएको भेद बोलुँ कि ?

उत्तमकृष्ण मजगैयाँ :
श्रीमान्जी आज्ञा गर्नुहुन्छः –
औंसीको रातझें काली पूर्णिमा नाम राखियो
पसिना निस्कँदा कालो मसीको पात्र थापियो ।
झिनो शरीर प्रेमीको मुठीभित्र अटाउने
लामा नङहरू पाल्ने केश बाब कटाउने !
हिल बित्ते लुगा बित्ते गरी देह प्रदर्शन
केटा झुलाउने, फेरि आलोचन अहो किन ?
नख्वाई दूध छातीको रक्षा सौन्दर्यको गरी
घुँडा चुसाउने लोग्ने ? अधिकार बराबरी !
कमजोर कहाँ नारी ? हकको गर्जना गरिन्
पतिका सामु जाज्वल्य बिजुली चम्कँदा लडिन् ।
चट्याङ र मुसादेखि तर्सिने मधुयामिनी !
यात्रामा कसरी पूर्ण बनेकी सहगामिनी ?
विरामी पति बोकेर अस्पताल पुऱ्याउने
कहाँ छ अब त्यो शक्ति भालुलाई कज्याउने ?
नाङ्गिएकै छ यो नारी पत्रिका मुखपृष्ठमा
झाङ्गिएकै छ हा नारी। मोडेल अनि फिल्ममा ।
श्रीमतीजी आज्ञा गर्नुहुन्छ :-
अँध्यारोदेखि तर्सिन्छौ नाम वीरबहादुर ?
भक्ति औ भीमका नाती एक नम्बर काँतर ।
सिकुटे ख्याउटे देह रुद्रघण्टे कि नर्कट ?
एक मुन्द्रे, ठुलो जुल्फी, जुँधादारी सफाचट ।
न केही काम धन्धा छ न उद्योग कुनै पनि
पर्दैन पछि बाजेको नामै बेच्नुपरे पनि ।
नशामा बाह्रमासेको धन सारा गुमाउँछौ
विहानैदेखि सीसीको झोलले नित्य झुम्दछौ !
नशा पिएर मातेरै कुटेका घाउ खोलूँ कि ?
पत्नी छाडेर कोठीमा धाएको भेद बोलुँ कि ?
न जिम्मा पुत्रपुत्रीको शिक्षा, स्वास्थ्य र पालन
न संस्कार कुनै राम्रो शब्द अश्लील वाचन ।
त्याग औ कर्मले प्यारो राष्ट्र मुक्त हँसाउने
कहाँ छ अब त्यो शक्ति शत्रुलाई कज्याउने ?
पुरुष बाँधिएकै छौ सुराको बाहुपासमा
कर्महीन भई गुम्दो छ विश्वास हताशमा ।
तिमी नरहे देश डुब्न्याछ (२०५६)
०००
दाङ
Subscribe
Login
0 Comments
Oldest







































