घनश्याम रेग्मीगाउँ पसेका साँढे
दाम्ला जुवाली सब भाँचिएका निर्विघ्न साँढे अझ ठाँटिएका मैदान खाली गर भन्न थाले को आउला हेर्न बनेर पाले । नेपाल यो खेत सके लुँड्याई चल्दैछ मेलो र हुँदै बढाइँ हैरान पारे जनता यहाँका साँढे रहेछन् भन यी कहाँका ।

घनश्याम रेग्मी :
साँढे जुधेका सपना छ सत्ता
बाछाहरूको छ यहाँ बिपत्ता
हाने तिखा ती सिङले करारा
आहाल छन् रक्त बगेर धारा ।
के चाल हो यो भन गालपारा
कुल्चेर बाली छ सखाप सारा
होक्काँ गरी घुम्न पुगे बताऊँ
डुक्रेर साँढे किन गाउँ गाउँ ।
लैना बकेर्ना सब खेद्न थाले
बाछा ससाना खुरले कुचेले
यी गोरु निर्धा सब खेद्न थाले
खेती सबै लाग्दछ दाइँ हाले ।
तुर्काउँदै भूमि खनी उधिन्छन्
छेकी सधैँ मार्ग यही उभिन्छन्
बिष्टा तथा गोबर छ्याल ब्याल
लागेन बाली न हुने कमाल ।
पूजा गरेका कतिले जुटेर
गर्छन् कुनै दण्डवतै सुतेर
पायौँ प्रभो दर्शन धन्य भन्छन्
सौभाग्यले पूर्ण भएँ म ठान्छन् ।
देखेर यो रूप र चाल ढाल
लोभी जुटे बाल्न नयाँ मसाल
बत्ती तथा धूप यहाँ जलाए
आराधनामा मन खुब लाए ।
लाग्थ्यो कहाँ कानुन साँढलाई
लर्को छ पुज्ने र हुने बढाइँ
मस्ती हुने चाल बुझेर आज
नौला बढे साँढ जमात राज ।
देखेर चाला प्रभु रूप धारी
नौला पुगे घेर्न यहाँ विचारी
पोतूँ भने गोबर गन्धवाला
आतंकले आजित देख्छु ग्वाला ।
को पाल्छ साँढे बिनकाम आज
भाँडी सके सुन्दर यो समाज
आए कताबाट घुसी निशामा
गन्तव्य होला अब को दिशामा ।
दाम्ला जुवाली सब भाँचिएका
निर्विघ्न साँढे अझ ठाँटिएका
मैदान खाली गर भन्न थाले
को आउला हेर्न बनेर पाले ।
नेपाल यो खेत सके लुँड्याई
चल्दैछ मेलो र हुँदै बढाइँ
हैरान पारे जनता यहाँका
साँढे रहेछन् भन यी कहाँका ।
भुक्छन् भुस्याहा पछिबाट आज
के पर्न सक्थ्यो अघि यो समाज
काने कुनै खोर तयार राख
चाट्छन् सबैक यिनले दिमाग ।
०००
विकास चोक ५, चितवन
Subscribe
Login
0 Comments
Oldest







































