अशोककुमार शिवाकार्यक्रमको मज्जा, प्लास्टिकको खाजा
धेरै दिन अघिदेखिको सिस्नुपानीको निम्ता मान्न नजाने कुरो पनि भएन गइयो । रुसी सांस्कृतिक केन्द्र कमलपोखरी पुग्दा सिस्नोपानीको तुक्यौली कार्यक्रम करिव सुरु हुनै लाग्या रहेछ । गेटैमा सुरक्षा गार्डले रोक्यो र भन्यो मोटरसाईकल पार्किङ स्पेस छैन ठाउँ भरियो । म लगायत मसँगै पछिपछि जानुभएका मेरा मित्र बाईक रोकेर ट्वाँ परियो । कार्यक्रम हेर्न भनेर आएको त्यसै फर्किने कुरो पनि भएन तर बाईक कता पार्किङ गर्ने समस्या सृजना भयो । बाटोमा त्यसै छाडेर जाउँ भने पनि नगरपालिकाको हजारे हुस्सुदण्ड पहिलै भोगिसक्या थ्यो । एकमनले त फर्किने सल्लाहा पो दिँदैथ्यो फेरि कार्यक्रमको चस्कोले अड्कायो । सिटी कम्ल्पेक्स मुनि लगेर बाईक थन्क्याएर आइयो । गेटैमा झ्याईंकुटी लट्रीको नम्बर लिएर बस्या रहेछ । नम्बर लिएर भित्र गएको सिट सबै भरिभराउ भएको रहेछ । मैलेसम्म एक कुनामा सिट पाएँ र बसें मेरा दुई मित्रहरु हलको सिंडीमा थ्याच्च बसे । करिव सवा दुई घण्टा थप्पडी मार्दै हाँसियो । हाँस्दा हाँस्दा भोकै लागिसक्याथ्यो ।
सन् २०१४ को अप्रिल फुल । कहिले मनोज गजुरेलले रेल कुदाउँछन्, कहिले कोमल ओलीको कोमल बोलीले मन सुकोमल बनाउँछ । बिचरीले पोईल जान नपाएको व्यथा त्यहाँ पनि पोखिन् । प्रा.डा. अभि सुवेदी, लक्ष्मण गाम्नागे, मादव पोख्रेल, कृष्ण धरावासी लागायत शीर्ष व्यक्तित्वहरूको तुक्का मजाले सुनियो । कोमल ओलीले आफ्नो छिप्पिदो उमेरलाई टाईट पाईण्ट र झिल्के सर्टले निखारेर जवानी देखाएकी थिईन् । मञ्चमा आसिन बुढाहरु घरिघरि तिनलाई चियाउँथे नजानिदो गरी । सायद तिनैलाई देखेर हुनुपर्छ बहुत रसिला रसिला तुक्काहरुबाट पाका स्रष्टाहरू समेतले हल उचालेका थिए ।
एकजना अमेरिकन भाइ हुन् कि दाइ हुन्ले बेलुनमा हावा भरेर केटाकेटीलाई हँसाए । नयाँ सृजना भने खासै सुनिएन । तुक्केहरूका लागि तीन मिनेटको समय कडाईका साथ लागु गरिएको थ्यो । एकजना तुक्काकार उनको एकजना साथीको घरमा गएर गउँत खाएर आउँदा बाटोभरि आफूलाई साँढेले लखटेको गुनासो पोख्दै थिए भने कोही लिफ्ट दिँदा फसेको सुनाउँदैथे । हाँसियो मज्जाले चित्त खोलेर ।
कार्यक्रमको अन्त्यतिर मनोज गजुरेलले एनाउन्स गरेपछि बल्ल गेटमा दिएको नम्बरको बारेमा थाहा लाग्यो त्यो त हावा लट्री रहेछ भन्ने कुरा । डोकामा केही कागजका टुक्रा ल्याएर मञ्चमा घोप्ट्याई काम सकियो । नम्बर लेख्या कागज खल्तीमा टटोल्दाको हत्तु तर लट्री त फुस्सा । कार्यक्रम सकेपछि बाहिर खाजा राखिएको छ खाएर जानु होला जस्ले नखाई जान्छ उसलाई सिस्नोपानीको आगामी दिनको कार्यक्रममा प्रवेश रोक लगाइने छ भनियो । भनाइमा नै शङ्का त थियो तर पनि बाहिर जाँदा थाहा होला भनेर निस्कियो । बाहिर सबैजनाले सेतो कागजको खाजा पाकेट तँछाड मछाड गर्दै लिँदै थिए । वा, खाजा त प्याकेटकै रहेछ भनेर मख्ख पर्दै हुल छिचोलेर काउण्टरमा पुगेर एक पाकेट मैले पनि लिएँ । पाकेट उचाल्दा शङ्काको लेबल झनै बढ्यो । तै पनि ढाँटको निम्ता खाई पत्याउनु पर्छ भनेर पाकेट खोल्या त प्लास्टिकको एक सानो झुप्पा अङ्गुर पो हाल्या रहेछ । खसोखास लट्री त त्यो पो रहेछ हा हा हा… । अप्रिल फुल त मजाले मनाइयो सिस्नोपानीसँग ।
गल्को पाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































