भोलानाथ सुबेदीचियापान
हात जोड्दै, हात हल्लाउँदै, मुस्काउँदै, झुक्याउँदै तलदेखि माथिसम्म चिया र चिया खर्च उठाउन होडबाजी चलिरहेको छ अचेल । यौटा अपत्यारिलो तर आमप्रवृत्ति बनेर ।

झसङ्ग बनायो फोनको घन्टीले । हतपत कानमा पुर्याएँ । सात बजे है सात बजे । भुल्नु होला नि । खबर कर्ताले कानमा वेदवाणी भरिदिए झैँ लाग्यो । भोलि बिहानको चियाको झन्झट उतै टर्ने भो । खुसीले काउकुती लगायो कता कता ।
सामान्य वर्ग । पछाडि पारिएको वर्ग भनौँ नेताहरूले भाषण गर्दा सर्वस्व दिएको वर्ग बजार मूल्यमा बीसदेखि चलेको छ भाउ । चिया बाल्यकालदेखिको लत । बिहान कुखुराको भालेले टोल थर्काएपछि जिभ्रोमा तलतलको रन्को र्याल बनेर तुर्किन थाल्छ । अनि गर्नै पर्छ चियाको आरधना । भातले पेट भकुरेपछि होस् वा चम्चाले खाजा उदिनेपछि एक सुर्को चिया सुरुप्प पार्दा आनन्दको घन्टी बज्छ मनमा ।
न रक्सीको लतले तलबलाएर ढलपलिँदै हिँड्नु पर्ने न अनुहार लुकाएर होटलको अँध्यारो कुना रोज्नु पर्ने । सबैलाई ठाँटका साथ निमन्त्रणा गरेर मनाइने उत्सव रहेछ चियापान उत्सव । अरुभन्दा के कम । सात बज्दै गरोस् । लागियो चिया सुर्काउन खबर स्थलतर्फ । प्रत्येक वर्ष चलिरहेछ चियापान समारोह । गन्यमान्य अग्रज, सामाजिक अभियन्ता राजनैतिक दल आदिले आफ्ना झन्झटिला कुरा सुनाइ एक कप चियामा बफ्याउँन लगाउँछन् किनभने उसले आफ्नो हुर्मत नखोलि गुणगान मात्रै गाओस् भनेर ।
चियापान पुस्तान्तरण हुँदै आएको छ । यो विगतका कमजोरी सुधार गर्दै प्रेम भाइचारा प्रगति सम्बन्ध सुधार चियापानको उद्देश्य नभै आफ्नो कमजोरी ढाकछोप गरि पानीमाथि ओभानो बन्ने कडी मात्र हो । आफ्नो त आदत नै चियाको । जन्तीमा होस् वा मलामीमा, शुभमा होस् वा अशुभमा, भेटमा होस् वा छुट्टीमा, कुर्सीमा होस् वा खाटमा । जहाँ भए पनि चियाको उपस्थिति बाक्लै हुन्छ ।
बच्चालाई दुधपान, रोगीलाई दबाईपान, तन्नेरीलाई धुमपान भए झैँ पदासिन, सत्तासिन, अगौटे, पछौटे, भरौटे, कुरौटे, कारिन्दा, हुक्के, बैठके मध्येको एक सदस्यका रुपमा हाजिर हुन कसिएकै छु स्याँस्याँ गरि । तनाव विसर्जनका लागि, दोष निवारणका लागि चियापान अचूक ओखती हो । शत्रुलाई खुसी पार्न होस् वा मित्रलाई तल झार्न, तस्बिरमा जीउ तन्काउन र अन्जानसँग मुस्काउन पनि लागियो चियापानतिर । सबै पान मध्येको इज्जतिलो र रवाफिलो पान कसले छोड्ने ? छोडिएन केही गरि ।
कसले सिकायो यस्तो बानी बाल्यकालमा ? अरुले सुरुप्प पारेर हा गर्दै बटुको देखाउँदै त्यो ले त्यो ले बाट अपभ्रंस हुँदा चिया भन्न सिकेको हुँला मैले । कसैले बटुकोबाट चखाइदियो र त अहिले मेरो जिभ्रोमा लतको र्याल चुहिरहन्छ । मलाई अलिअलि थाहा हुँदा रुपैयाँका दुई ओटा ढ्याक खल्तीमा बोकेपछि एक गिलास चियाले डकार आउँथ्यो । अहिले चिया वर्ग वर्गान्तर छ । मान्छेले आफ्नो दर्जा अनुसारको गिलास समाउँछ । काने गिलास, माने गिलास, कागजका गिलास, बिर्के गिलास, नली गिलासमा थरीथरीका स्वाद आस्वादन गरिरहेछ मान्छे ।
ए ! आइपुगेछ चियापान स्थल । व्यस्त छन् मान्छेहरू आयोजकलाई नमस्कार नटक्रयाई कसरी पिउनु चिया ? अर्को वर्ष सम्झेनन् भने । मनमा तबला बज्यो । बाल्यकाल देखिको दोस्ती चियासँग । आमाको दूधपछि थुतुनो जोडेको पनि यसैसँग हो । भातले आन्द्रा पुरे पनि चियाले आन्द्रा नघोलेसम्म निद्राले आँखा लत्याउँदैन अचेल । त्यसैले त कार्यालयमा कर्मचारीलाई चिया खर्च गोजीमा पुर्याउने चलन चलेको रहेछ । चिया खर्च गोजीमा पुगेको कर्मचारीको कार्यवेग चीनको रेलभन्दा कम नहुँदो रहेछ ।
भष्ट्राचार सिकाउने माध्यम रहेछ चिया । गुलियोमा बाहुन भुलियो भन्ने उखान परिवर्तन गर्ने बेला आएको छ अब । राजधानीमा चियापान छ भनेर फोन घुमाउनुस् मजस्ता पारखीहरू अगौटे पछौटे सहित उपस्थित हुन्छन् । कोही ट्याक्सीमा हुँइकिदै आउँछन् कोही बसमा झुन्डिदै । घरमा बूढीले पकाएको भात छाडेर स्याँस्याँ गर्दै समय अगावै आइपुग्छन् । चिया छोडेको वर्षौ भएकाहरूले उद्घाटन गर्छन् त्यहाँ आएर । कोही कोही त कार्यक्रमको उत्तरार्धमा आएर चिसिनै लागेको चिया भाँडो कोल्ट्याउँदै आधा गिलास भएनि घुट्क्याएर हिँड्छन् । यो सबै चिया प्रतिको सम्मान हो, प्रेम हो, कमाल हो । मलाई झलझली सम्झना आउँछ, मेरा एक जना मित्रले मध्यरातमा मलाई चिया उमाल्न लगाई चिया पिएर सुते । त्यस्ता मित्रको घनिष्ठ पो परियो के छोड्नु निम्ताको चिया अलिकति बिस्कुट एउटा अण्डा र दुई चम्चा चना । यसैका लागि दौडधुप गर्दैछु बिहानैदेखि ।
खाली पेटमा चिया नपिउन सल्लाह दिने डाक्टर उनको सल्लाह आफैँसँग राखुन् भनेर चिया र चुरोटको कुइरीमण्डलमा भविष्यको योजना कुहिरोको काग झैँ खोज्दै छन् कलेजका तरुणहरू ।
हात जोड्दै, हात हल्लाउँदै, मुस्काउँदै, झुक्याउँदै तलदेखि माथिसम्म चिया र चिया खर्च उठाउन होडबाजी चलिरहेको छ अचेल । यौटा अपत्यारिलो तर आमप्रवृत्ति बनेर । कपमा तुरूक्क पारेको सुरुप्प पार्दा जिब्रोले मिठो थाहा पाउने चियाजस्तो नभएर अलि तातो र टर्रो चिया गफलाई यहीँ बिट मार्छु । तपाइँलाई चाहिँ यसको स्वाद कस्तो लाग्यो कुन्नि !!
०००
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest







































