लक्ष्मण गाम्नागेविराटनगरवासीलाई धुलाम्मे चिठ्ठी
प्रिय बिराटनगर उपमहानगरबासीहरू,
हामी काठमाडौं महानगरवासीहरूको धुलाम्मे सम्झना !
तिमीहरूलाई सन्चो नभएको खबर हामीले सुन्यौं । दिसा मिसिएको सरकारी खाने पानी सेवन गर्नाले झाडापखाला, जण्डिस, हेपाटाइटिस इत्यादिको महामारीले दर्जनौं नगरवासीहरूको देहान्त भएको र हजारौंलाई हैजाले थला पारेको सुनियो । सरकारलाई गाली गरेको पनि सुनियो । खोकी लाग्दा, पातलो दिसा लाग्दा, बस्ने ठाउँमा पिलो निस्कँदा, जे हुँदा पनि सरकारलाई नै दोष लगाउने हाम्रो बानी । दिसाका किटाणु मिसिएको पानी आफू पिउने अनि सरकारलाई दोष लगाउने, यो कुरा मिल्छ ? खानेपानीमा सरकारले किटाणु हालेको हो र सरकारलाई दोष लगाउनु ! बरु गल्ती त तिमीहरूको पो हो ।
सरकारले जनतालाई माया गरेर उपलव्ध गराउने पानीमा दिसा, दूधमा किरा, पेट्रोलमा पानी, मलमा ढुङ्गा, चामलमा ढुँडी, औषधीमा ढुसी पहिलेदेखि नै पाइने गरेकै हो । तिमीहरूले नै सावधान हुनुपथ्र्यो । सरकारले त्यस्ता वस्तु उपलव्ध गराएर चुप लागेर बसेको पनि छैन, विभिन्न सूचना जारी गरेर जनतालाई सचेत पनि गराउँदै आएको छ ।
दुघ्ध विकास संस्थानले वितरण गरेको दूध १० मिनेट उमालेर पिउनू, खाद्य संस्थानले बेचेको चामल ३० सिटी लगाएर मात्रै खानू भनेर सरकारले सूचना जारी गरेकै हो । अझ खानेपानी संस्थानले बाँडेको खानेपानी २० मिनेटसम्म उमालेर चोक्टाचोक्टा फ्याँँक्नू र झोलझोल खानू भनेर पनि भनेकै हो । सरकारले जारी गरेको सूचनालाई बेवास्ता गर्ने, अनि अहिले रुवाबासी गर्ने ?
तिमी बिराटनगरीयाहरूले उपमहानगरवासी भएर हामी महानगरवासीको सिको गर्न खोज्दा पनि यस्तो भएको हो । हामी पो उहिल्यैदेखि त्यस्ता नाथे कोलिफर्म सोलिफर्म पचाएर पखालाप्रुफ भएका छौं त । खानेपानीका धारामा बाइचान्स केही तरल पदार्थ झर्यो भने हामीलाई थाहा भइहाल्छ, आज धारामा ढलको लेदो झर्यो । कम्तिमा केही त झर्यो भनेर हामी मख्ख पर्छौं र लेदो सेदोलाई साइड लगाएर गाग्रा र बाल्टी भरिहाल्छौं । सङ्लो पानी झर्यो भने हामी थाप्दैनौ, किनभने हामीलाई त्यस्तो पानी फाब्दैन, छेरपाटे लाग्छ । त्यस्तो लेदे पानी सधैं खान्छौं तर पनि तिमीहरू जस्तो हेपाटाइसिस सेपाटाइसिस भएर सरकारी खस्पतालतिर लस्कर लागेर खस्न जाँदैनौं ।
ढल र खानेपानीको लसपसको कुरा मात्र होइन, धुलो र धुवाँको कुरा पनि सुन ! हामी महानगरवासीहरू बिहान उठेदेखि राति सुतुन्जेलमा प्रतिव्यक्ति औषत एक पाउका दरले फोक्सोमा धुलो भर्छौं । प्रतिव्यक्ति आधा केजीका दरले नाक, कान, आँखा र शरिरमा धुलै टाँस्छौं । सासै फेर्न हिरिक्क हुनेगरी धुवाँ निल्छौं, कपडा र शरीरमा पनि धुवैं दल्छौं । खङ्ल्याङ् र खुङ्लुङ् खोक्दै हिँड्छौं तर तिमीहरूको जस्तो मरिहाल्दैनौं, सरकारको बदनाम गरिहाल्दैनौं ।
हामी मजाले पचाउँछौं धुलाम्मे सडक किनारामा बेच्न राखेको बासी मोमो, महिनौंदेखि अल्या गरिएको तेलमा पकाएका चप, डोनट र कुहिएका माछा । सडेका सागसब्जी घुसाएर तारेका समोसा । हुँदाहुँदा जुत्तामोजाबाट बनाएका लोकल मदिरा पनि हामीले त पचाई दियौं पो ।
हे विराटनगरबासी ! आफ्नो नगरलाई महानगर बनाउला कि भनेको जाबो ढल मिसिएको पानी पनि पचाउन सकेनौ । नाथे हैजा लागेरै थला पर्यौ र सरकारको अन्तरराष्ट्रिय बेइज्जत गर्यौ । होश गर, आफ्नो पाचन शक्तिलाई बलियो बनाऊ । सरकारको इज्जत राख । सरकारी पानी पिएर अबदेखि थला नपर । हामी महानगरबासीबाट केही सिक ।
सिनामङ्गल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































