धनराज गिरीघडेरी प्लटिङ मुर्दावाद !
अहो हेर्दा हेर्दै लह लह हुने खेत सकियो
बन्यो मान्छे लोभी नरकपथ रोजी बहकियो
घडेरी रे सारा चर चर भए गाँस हरियो
बढ्यो गर्मी औधी गरिब जनको सास हरियो ।
बने टुक्रा टुक्रा महल ठडियो क्या ! शहर भो
अभागी मान्छेको धन धन सधैं छ्या ! रहर भो
भयो बन्दी हावा जल पनि सुके हा ! नगरमा
पुगे मान्छे सारा नगर भनिने त्यो बगरमा ।
सिमेन्टी भो साथी खर– घर सबै नासिन गए
फलामे डन्डीले तल तल कठै भासिन गए
बने अग्ला अग्ला महल तर मान्छे लसुन भो
धनी भो रे मान्छे तर मन कठै चाहुरिन गो ।
कमायो मौलायो नगद धनले पुस्ट हुन गो
हिजोभन्दा ज्यादै मनुज जगमा दुष्ट हुन गो
न गोजी कात्रोमा पशु धन यतै छोड्नु छ भने
सबै जान्दा जान्दै कृपण किन लौ मानिस बने ।
ठगी आफ्नालाई रगत पसिना हर्ने गरियो
चढें भन्दा भन्दै तल तल अझै लौन झरियो
विवेकी हौं हामी मनुज धरतीकै रवि न हो !
यही भन्ने गर्ने कलम जगमा यै कवि न हो !!!
चितवन
Subscribe
Login
0 Comments
Oldest








































