साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ताबारे एउटा कार्यपत्र

Nepal Telecom ad

जुत्ताबारे नेपाली साहित्यमा कुनै मौलिक समालोचना अथवा निबन्ध मैले अद्यापि पढ्न पाएको छैन । निबन्ध र समालोचना त पढ्न पाइएन पाइएन, यस नितान्त संवेदनशील र सशक्त अस्त्रबारे न त कुनै कविता प्रकाशित भएको देखिन्छ न त कुनै कथाकारले नै आफ्ना कथामार्फत जुत्ताको व्यथा नै उल्लेख गरेको पाइन्छ । जुत्ताबारे नेपाली साहित्यमा देखिएको यस भत्र्सनीय मौनतालाई भङ्ग गर्न म तम्सिएको छु । जुत्ताको भावनात्मक वैशिष्ट्यबारे नेपाली साहित्य मौन रहे तापनि यसको भौतिकी प्रयोगको सन्दर्भमा भने हामीले गर्व गर्ने ठाउँ प्रशस्त छ । हाम्रा केही साहित्यिक उपलब्धि ठानेको छु । यस महान् प्रतिकात्मक अस्त्रको प्रहार खप्ने माम्लामा म चाहिँ आवश्यकताभन्दा केही बढी नै अनुभवसम्पन्न छु । स्थिति कस्तो छ भने जुत्ता खाँदाखाँदा एक त म कुनै अघोरी कमिसनखोर जस्तै अघाईसकेँ र असङ्ख्य जुत्ताहरूको सामूहिक प्रहारबाट मेरो तालु कुनै मूर्धन्य र चिन्तनशील नेताको तालुझैँ खल्वाट नै भइसक्यो । यति भएर पनि न त मैले आफ्नो “व्यक्त सिद्धान्त” त्याग्न सकें न त मेरो मतिमा नै कुनै सुधार भयो ।
विवादले चर्कै रूप लिएपछि प्रायः जुन अस्त्रकोे प्रयोग हुन्छ त्यो पाउपोश अथवा जुत्ता नै हुनुपर्छ भन्ने अनुमान जस्तोसुकै मूढमतिले पनि गर्नसक्छ । अपशब्दको अभिव्यक्त र श्रवणको स्तरले उग्रतम स्थिति लाभ गरेपछि विकल्पका रूपमा बाँकी रहने एकमात्र अनुष्ठान जुत्ताहरू आदानप्रदान वा माल्यार्पण हो भन्ने कुरा व्यवहारले सिद्ध गराइसकेको छ । कुरासँग जुत्ताको त्यतिकै घनिष्ठ सम्बन्ध रहेको पाइन्छ जति खुट्टा स्वयम्को जुत्तासँग हार्दिक अनुराग हुने गर्दछ । खुट्टा तान्ने उत्कृष्ट प्रविधिका सम्बन्धमा कुनै व्याख्या यहाँ अनावश्यक छ किनभने यो सीपले राष्ट्रिय चरित्रकै रूपमा मान्यता पाइसकेको छ । “जुत्ताको घाउ जुत्तैले निको पार्छ” भन्ने उखान प्रचलित नै छ र यो उपाख्यान “घुस लिँंदा पक्राउ गरे घुस नै दिएर उम्कने भन्ने” जस्तै हो । “हीरालाई काट्न हीरा नै चाहिन्छ” अथवा “मूर्खजस्तै आचरण गर्नु” भन्ने उखानहरू यसै कोटिमा पर्दछन् ।
खुट्टाका खुई रूप हुन्छन् एउटालाई चरण भनिन्छ भने अर्कोलाई पाउ भन्ने चलन छ । कोमलाङ्गी कन्याहरूका खुट्टामा दाउराजस्तै साह्रो र गाँठो परेका भए तापनि ती चरणकमल कहलाउँछन र जसका खुट्टा भुइँमा प्राय रहँदैनन् तिनलाई पाउ भन्ने चलन छ । चरण र पाउ जब दुवै गतिमान् हुन्छन्, त्यसबखत तिनलाई लात भन्ने गरिन्छ । “लातको मानिस बातले मान्दैन” भन्ने उखानको उपादेयता अझै कायमै छ र भविष्यमा पनि यो रहिरहने छ । संसद्को सत्र चलेका बखत् जुत्ताले आफूलाई गतिमान राख्ने कार्यलाई बढी प्राथमिकता दिने चलन छ । घरायसी कलहमा भने जुत्ताले हवाइचप्पललार्ई अधिकार प्रत्यायोजन गर्ने हुँदा पति वा पत्नी दुवैले विवादको अन्त्य गर्ने अठोट गरेको अवस्थामा हवाइचप्पल स्वतः सक्रिय हुनपुग्छ भन्ने बेहोरा तथ्याङ्कविद्हरू बताउँछन् । कविसम्मेलन र ग्रन्थ विमोचन जस्ता साधारण खालका साहित्यिक समारोहहरूमा वीररसको अभावको अनुभूति हुनगएमा यदाकदा चप्पलको उपयोग पनि हुनसक्ने प्रावधानलाई देख्यानदेख्यै गर्न सकिँदैन । नेपाली साहित्यले हाल यसैलाई उपलब्धि ठानेर भए पनि चित्त बुझाउनु पर्ने देखिन्छ । यसै पनि साहित्य पढ्ने फुर्सत अचेल कसलाई पो छ र ?
जुत्ता जीवन्त र जीवाणुयुक्त अस्त्र हो । तपाईं आफ्नो विपक्षीलाई बायाँ खुट्टाको जुत्ता फुकालेर हान्नोस् वा दायाँ खुट्टाको हनाइमाग्नेको हुलिया र हुर्मतमा यसले कुनै मौलिक अन्तर पार्दैन । “जुत्ताले कहाँ बिझाइरहेको छ भन्ने कुरा जुत्ता लगाउने प्राणीलाई मात्र थाहा हुन्छ” भन्ने उखान चलनचल्तीमा नै छ । वार्तालाप सम्पन्न गर्ने क्रममा पाखुरा सुर्कासुर्की नहुन्जेल जुत्ताको प्रयोग अशोभनीय ठानिन्छ । पाखुरा र सिँगान दुवै सुर्कंदासुर्कदै पनि अपेक्षित उपलब्धि हुन नसकेको प्रतिकूल र नैराश्यपूर्ण अवस्थामा भने जुत्ताको पारस्परिक आदानप्रदानलाई अचेल अचम्म मान्ने चलन गइसक्यो ।
जुत्ता नहुँदो हो त न झगडा हुन्थ्यो न कुनै विवादको नै प्रादुर्भाव हुन्थ्यो । जुत्ताको दुःखद अनुपस्थितिमा कतिपय समस्याहरू मुलतबी र अन्योलको स्थितिमा छन् । “न बाँस होला न बाँसुरी बज्ला” भन्ने उखान नभएको त होइन तर यस उखानलाई निस्तेज पार्न केही हरिप प्रकृतिका प्राणीहरू पित्तलको बाँसुरी बजाए उसलाई होच्याउँछन् । पित्तलको प्रसङ्गले चाँदीको जुत्ताको सर्वकालिक प्रभुत्वतर्फ चिन्तन अग्रसर हुन्छ । कथित भ्रष्टाचार र घोटालाहरू जस्ता आर्थिक अनुष्ठान सम्पन्न गराउनमा चाँदीको जुत्ताको योगदानलाई चटक्क बिर्सन भने गाह्रै पर्ला ।
नैतिकतासँग जुत्ताको सम्बन्ध हाडनाता स्तरको रहेको मानिन्छ र कतिपय नैतिकवानहरू आफ्नो जुत्ताको नयाँसंस्करण प्राप्त गर्न पशुपतिको मन्दिर पर्यन्त धाउँदछन् । यी आफू भने थोत्रा जुत्ता पहिरेर भागवत् भजनम्मा भाग लिन जान्छन् र फर्कदा “प्रभु–इच्छा” एवम् आफूमा निहित विशेष प्रतिभाको सदुपयोग गर्दै आफ्नो पुरानो जुत्ताको नवीकरण सम्पन्न गरेर घर फर्कन्छन् । भगवान् पशुपतिनाथका यी बकुल्लाभक्तहरू जुत्ता कहिल्यै किन्दैनन् तथापि यिनको जुत्ता कहिल्यै थोत्रो भएको देखिँदैन । जुत्ताबारे मनमा उव्जेका जति विचारहरू लिपिबद्ध गर्ने बढी लोभ गरेमा आफ्नै टाउकोमा जुत्ता बज्रने संभावना बढी हुनेहुँदा हाललाई जुत्ताको इतिवृत्तको इतिश्री यहीँ गरौँ कि ?
२०५१–१–२९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x