साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सारिराख्न कुनैदिन काम लाग्छ

Nepal Telecom ad

२०४३ सालतिर म चावेलबाट पाटन औद्योगिकमा रहेको अन्नपूर्ण फुटवेयर प्रा.लि.मा काम गर्थें । सो कम्पनीको काम भनेको चप्पल उत्पादन गर्नु हो । मेरो दैनिकी समय भित्र (विहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म) यताबाट उता, उताबाट यता सार्नु र मोटरमा लोट गर्ने जस्ता यावत काम गर्नुपथ्र्यो । त्यहाँ जागिरे रहुन्जेल दिनभरि चप्पलको भारी कति बोकियो भनेर साध्य छैन । कारखानाको तर्फबाट एकजना नाइके हुन्थ्यो । तिनै नाइकेको एकताका खुब चाकडी गरियो । किनभने नक्साल स्थित नन्दी रात्री मा.वि.मा बेलुका पढ्न जानलार्ई एक घण्टाको समय छुट लिनु थियो । सो छुट लिन उहाँ पनि बुझकी भएरै मात्रै पाएको थिएँ ।

नक्सालको नन्दी रात्री मा.वि.मा बेलुकाको ५.३० वजे देखि १० वजेसम्म पढाइ शुरु हुन्थ्यो । नाइकेको सहयोगबाट म बेलैमा पाठशाला पुग्थेँ । पाटन औद्योगिक क्षेत्र लगनखेलको सातदाबाटो छेउमा पर्छ । त्यसबेला अहिलेको जस्तो यातायातको सुविधा केही थिएन, चक्रपथ त खाली । एकाध घण्टामा एकदुई मोटर बाहेक केही देख्नै पाइँदैन थियो । चावेलबाट लगनखेल, लगनखेलबाट नक्साल, नक्सालबाट चावेलसम्म घोडा जात्रामा घोडा दौडाएको जस्तो गरी साइकल कुदाएपछि मात्र त्यो दिनको दैनिकी सकिन्थ्यो । मास्टरसाहेवहरू नआएको बेला बाहेक अरुबेलाको नियमित प्रक्रिया त्यही थियो । नन्दी रात्रीमा आउनेहरू सवैजसोको दिउँसो जागिर भ्याएर बेलुका पढ्न आउने मात्रै हुन्थे ।

नन्दी रात्री पाठशालामा मैले तीन वर्ष पढुन्जेल एकजना शिक्षकले गर्नु भएको र भन्नु भएको कुरा आजका दिन सम्ममा मैले बिर्सेको छैन । पदले उहाँ सहायक प्रधान अद्यापक । अनुहारदेखि खुट्टासम्म हे¥यो भने रावण जस्तै देखिने, स्वर त्यस्तै, विद्यार्थीलाई काँचै खाउँला जस्तो उहाँको बानी व्यहोरा । कोही पनि विद्यार्थी अप्ठ्यारो र चेपुवामा नपरी रात्री पाठशालामा पढ्न आउँदैन, त्यो धु्रव सत्य कुरा हो । उहाँले कालोपाटीमा कुनै एउटा हिसाव गर्नुहुन्थ्यो, त्यो कसरी भयो सर भनेर मैले सोधेको त ‘सारिराख्न कुनै दिन काम लाग्छ’ भनेर ओठे जवाफ फर्काउनुभयो । बुझाउन त परैको कुरा भैगो । सरले भन्नु भा’भनेर मैले पनि बुझ्नु न सुझ्नुसँग सारेर राखेँ ।

उहाँले जाँचमा पहिलो, दोस्रो र तेस्रो भएका साथीहरूलाई विशेष प्राथमिकता दिनु हुन्थ्यो अरु सब डम्पिट साइडमा । सरले उहाँहरूलाई पालैपालो सोध्नु हुन्थ्यो– तिमीहरूले बुझ्यौ ? तीनजनाले बुझ्यौं सर भनेपछि त्यो दिनको पढाइ सकियो । आचीको लिँड फुले जस्तो गचक्क फुलेर उहाँ कक्षाबाट निस्कनु हुन्थ्यो । यही हो उहाँको दैनिकी ।

नन्दी रात्रीमा पढ्न आएकाहरू सवै टाठै हुन्छन् भन्ने छैन । मास्टरले पनि टाठैलाई मात्र पढाउने भए अरुको के काम । घरमा पनि आनन्द लिएर राम्रोसँग पढ्न नपाइने, मास्टर साहेवले जे पढायो त्यही सुन्यो मात्र पाठशालाको भरमा । पाठशालामा पनि मास्टरको पढाउने तरीका देखेर आजित थिएँ म । त्यस्ता मास्टरसाहेवले गर्दा हिसावमा लद्दु हुने नै भएँ । हिसाव सरले कालोपाटीमा आएर हिसाव गरेको सा¥यो राख्यो । सोध्यो कि ‘सारिराख्न कुनै दिन काम आउँछ’ भनेर खोकेको खोकै, सोध्नै नहुने । उहाँले भने जस्तो कुनैदिन काम आउँछ भनेको त टेस्ट र एस.एल.सी.को जाँचमा चोर्न काम लाग्यो, अरुबेला थोपो काम आएन ।

उहाँले अप्रत्यक्ष रूपमा तिमीहरूले पढेर खादैनौं, चोरेर भए पनि पास गरेर खाओ भनेको होला भनेर अहिले पो बुझ्दैछु । जिन्दगीमा कहिले काम नआउने के विषय पढाएको होला भनेर अहिले ठण्डा दिमागले सोच्दैछु । रा.वा. वैंकमा २५ वर्ष जागीरे कर्मचारी भएर बिताएँ । त्यहाँ जोड, घटाउ, गणन, भागा भन्दा बाहेक मेरो जिन्दगीमा अरु कुनै कामै आएन । त्यसमाथि हिसाबमा लद्दु । त्यस्ता लद्दु विद्यार्थी, कर्मचारी भएर वैंकमा छिरेपछि दैनिकी करोड रूपैयाँको हिसाव क्षणभरमा मिलाउनु पर्छ । हिसाव सरले हिसावमा लद्दु जतिलाई अप्रत्यक्ष रूपमा चोर्न सिकाएर राम्रो गर्नुभयो । आखिर पास हुनलाई चोर्नैपर्छ भने नदुखेको टाउको दुखाएर किन सिकाइमाग्न प¥यो होइन त ! भन्ने अन्तिम निक्र्यौल निकालेँ मैले ।

मैले पास गरेर खान मसँग दुईवटा मात्र विकल्प थियो । एउटा राम्ररी पढ्ने, अर्को भुसुक्कै पारेर चोर्ने । पढ्ने बारेको कुरा र पाठशालाको व्यवहार माथि नै भनिसकेँ त्यस्तो परिवन्दले गाँजेको थियो । मैले हिसावको जाँचमा नढाँटीकन भन्ने हो भने ढुट्टो हुने गरि चोरेरै पास गरेको हुँ । तर आत्मसन्तुष्टी चाहि भएन । जे होस् पास हुनु थियो, भइयो टन्टैसाफ !

सरस्वतीनगर, चावेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x