साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतीक राजनीति

Nepal Telecom ad

दैव संयोगले सिन्धुपाल्चोक जिल्लाको भीषण पहिरो र भारतका बलबाहु प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको लगभग एकसाथ आगमन भएको थियो । दुईदिने तुफानी नेपाल भ्रमण सक्याएर उनी भारत फर्किसकेका छन् । पहाडी पहिरोको भीषणता भने यथावतै रहेको छ । यो हाम्रो आफ्नै समस्या हो । हामीसँग केही राष्ट्रिय समस्या रहेका छन् । जस्तो पहिरो, बाढी, सुख्खा, भ्रष्टाचार, कालाबजारी, लोडसेडिङ, नबनाइएको संविधान इत्यादि । यसको समुचित समाधान हामीले नै खोज्नुपर्छ । सदैव विदेशीहरूका मुख ताक्नु उचित होइन ।

भारतीय प्रधानमन्त्री मोदीको औपचारिक नेपाल भ्रमण समाप्त भए पनि उनको प्रतीकको राजनीति भने यहाँ अद्यापि चालु नै रहेको छ । उनी यस्तो राजनीति गर्न खग्गु मानिन्छन् । भारतको आमचुनावताका “चायवाला छोकरा मोदी” को प्रतीकात्मक प्रचार हिट सावित भएको थियो । यस्ता थुप्रै प्रतीकका सहारा लिएर उनले चुनावमा विजय हासिल गरेका थिए । नेपाल भ्रमणमा रचिएको “नेपाली ठिटो जितबहादुरको धर्मपिता” को रूपक गजबको थियो । यो ताजा प्रतीक राजनीतिको नेपाल र भारत, दुवै साइडमा बेस्सरी वाहवाही भइरहेको छ । मलाई पनि यो जितबहादुरको धर्मपिता भएर गरिएको चतुर प्रतीकात्मक कामकारबाही नरमाइलो लागेको छैन । तर सवाल एक गरिब नेपाली धर्मपुत्र जितबहादुर सारु मगरको नभएर नेपाली राजनीतिमा विद्यमान अनेकन राजनीतिक रूपले नै अति गरिब जितबहादुरहरूका होइन र ?

नेपालको राजनीतिमा मात्र होइन, साहित्य, व्यापार, कला, प्रशासन, धर्म, पत्रकारिता, न्याय, उद्योग, संस्कृति, सिनेमा, खेलकुद, शिक्षा आदि क्षेत्रमा पनि धर्मपिता अर्थात् धर्मको रेडिमेड बाउ राख्ने चलन प्रशस्त चलेको छ । अझ सक्नेले त एकभन्दा बढ्ता धर्मबाउ सहज प्रकारले राख्ने गरेका छन् । यस्ता धर्मपुत्रहरू धर्मबाउका अधर्मपुत्र जस्ता पनि लाग्न सक्छन् । तर कुरो पटक्कै यस्तो होइन । यिनीहरू खाँटी टाइपका धर्मपुत्र नै हुन् । अँ, कुनै–कुनै धर्मपुत्रका धर्मबाउ चाहिँ अधर्मबाउ पनि हुने गर्छन् । हामीकहाँ अधर्मबाउहरूका कुनै अभाव छैन । अझ तुलनात्मक हिसाबले अधर्मपुत्रहरू भन्दा अधर्मबाउहरू नै बेसी हुनसक्छन् । तर छाड्नोस्, यो धर्म र अधर्मको अनावश्यक गनथन ! अब म साहित्यतिरको व्यक्ति भएकोले एक प्रतिनिधि साहित्यिक धर्मपुत्रको उदाहरण प्रस्तुत गर्छु । सबै धर्मपुत्र र धर्मबाउहरूको उल्लेख सम्भव पनि छैन ।

एक अतिशय चल्तापुर्जा कविज्यू (नाम लिनमा जोखिम तत्त्व भएकोले म चुप) ले साहित्यमा एक घाघडान व्यक्तित्व मानिने असाहित्यिक एकेडेमीसियनलाई सगर्व आफ्नो धर्मबाउ घोषणा गरेका छन् । तर ध्यान दिनुपर्ने कुरो के छ भने मिडिया (इलेक्ट्रोनिक सहित) को फाँटमा पनि उनको अलरेडी एक धर्मबाउ रहेको छ । यस्तै सत्ताधारी पार्टीको मुख्यालयको मुख्य पदमा रहेका एक ठूलै नेतालाई पनि कविज्यूले विधिपूर्वक आफ्नो धर्मबाउ बनाएका छन् । सायद यतिले पनि अपुग भएकोले एक व्यापारी अर्गनाइजेसनको प्रधान प्रोपाइटरलाई पनि हालै धुमधामले धर्मबाउ रोजेका छन् । यसरी कुल मिलाएर कविज्यूको चारचार धर्मबाउ हुनगएको छ । अतएव धर्मपुत्र एक धर्मबाउहरू अनेकको रमाइलो दृश्य उपस्थित हुनगएको छ । याने चार थान धर्मबाउहरू । यी त खुला धर्मबाउहरू हुन् । कविज्यूका त गोप्य धर्मबाउहरू पनि रहेका छन् भन्ने सुनिन्छ । उनले सबैजसो ठूला पुरस्कार गुठीमा एक एकवटा धर्मबाउ बनाएका छन् रे ! यसकारण कविज्यूका तमाम धर्मबाउहरूका गणना गर्नु सहज छैन । (ओरिजनल बाउलाई चाहिँ नमिलाइएको) यतिका धर्मबाउ भएकाले कविज्यू कविता कम र धर्मपुत्रत्वको निर्वाह गर्नमा बढी व्यस्त रहने गर्छन् । यसको स्वाभाविक परिणामस्वरुप उनलाई फाइदै भएको छ । तर यसको तुलनामा नेपाली साहित्यलाई नै बेसी लाभ भएको छ भन्नेहरू कम्ता छैनन् ।

जहाँसम्म प्रतिनिधिमूलक धर्मबाउको कुरो छ, यिनीहरू भाँतभाँतका हुने गर्छन् । उदाहरणका लागि तस्करहरूका धर्मबाउ पुलिस डिपार्टमेन्टका हाकिम हुन्छन् । यसरी दुई नम्बरी कारोबार गर्ने साहुका उच्च सरकारी कुर्सीलाई नै आफ्नो साक्षात धर्मबाउ स्वीकार गर्छन् । तुमी हो माता तुमी पिता… । र ठग, डाँका, पकेटमार, हत्यारा, बलात्कारीहरूका खास धर्मबाउ अरुतिर नभएर न्याय विभागमा हुने गर्छ । अन्ततः यिनीहरूलाई पनि न्यायको अवसर चाहिएन ? संक्षेपमा भन्ने हो भने कुनै पनि कमजोर व्यक्तिले पहलमान टाइपलाई धर्मबाउ बनाउने प्रयास गर्छ । यस्तै कमजोर नेताहरूका पेटेन्ट धर्मबाउ बडेनेता हुन्छन् । जस्तो भर्खरै नेपाल भ्रमणमा आएर फिरिसकेका ठूलो देश भारतका बलशाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी । उनले आफ्नो प्रतीक राजनीतिको अत्यन्त नाटकीय प्रदर्शन गरी एक नेपाली केटो जितबहादुरलाई धर्मपुत्र बनाएका छन् । यसलाई अर्को शब्दमा भन्ने हो भने उनी सफलतापूर्वक धर्मबाउ भएका छन् । तर मैले अघि नै उल्लेख गरिसकेँ यहाँ एक जितबहादुरको नभएर अनेकन जितबहादुरहरूको कुरो भइरहेको छ । यी जितबहादुरहरू निविर्वाद धर्मपुत्र हुन् । राजनीतिक धर्मपुत्रहरू । अब धर्मपिता एवं धर्मपुत्रको यो अशंकास्पद रूपले मौजुद मामलामा यी नेपालका राजनीतिक जितबहादुरहरू साँच्चिकै जितबहादुर नै हुनेछन् या हारबहादुर, यो हेर्न बाँकी नै छ ।

इ–कान्तिपुर डटकम

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x