हरिकला उप्रेतीत्रिप्राणी घृणा
रिसमा कसले गीता पढ्छ ? भन्ने उखान आज आएर नकाम भयो । हुन त रिसमा न खुसमा, जाबो गीता पढेर न अमेरिका जान पाइने, न त अच्छा डिनरै खान पाइने । गीतामा न त ब्युटी पेजेन्टको क्याटवाकको मजा नै हुन्छ, न त फेसन सोको बाजा नै ।
‘पुरेत बाले त गीता पुज्नुपर्छ’ भन्दै अस्ति बर्खदिनसम्म रामनामीले टनटनी बानेको गीता नौरथामा खोले । माउले धुलो पारेको गीताको पाता नपल्टाई, ध्वाँसोको धुलो नटक्टक्याई उही रामनामीले उसै गरी कस्न थाले । मेरो साथी रुद्रेको छुद्र मुख, “पढ्दै नपढी किन बन्द ग¥या गुरु ?” भनेर प्वाक्कै सोध्यो । पुरेतबा त पूरै झ्वाँकिए– “गीताका सग्ला अक्षर फुटाउन त निधाराँ पसिना छुटाउनुपर्छ । यो त माउका पुस्ताँै पुस्ताको गढ कसरी भत्काउनु मैले ?” पुरेतबाको पत्यार लाग्दो उक्ति सुनेपछि रुद्रेलाई जोगाउने जुक्ति निकालेँ । “मोरा रुद्रे, पुरेतबाले गीतालाई यसरी रामनामीले टनटनी नटन्काएको भए हाम्रो धर्मकर्म कहाँ जोगिन्थ्यो ? धन्य हुन् हाम्रा पुरेतबा ।”
“कामकुरो एकातिर कुम्लो बोकी माइततिर” भन्याजस्तो कुरो रिसको गर्न खोज्या तर हल्लुँडो बटारिएझँै बटारिएर अन्तै पुग्यो । जे होस् मलाई रिस उहिल्यैदेखि तीन प्राणीदेखि उठ्छ । बाँकी संसारका सयकडौँ प्राणीसँग म मित लाउन सक्छु, उनीहरूका गुणगानको गीत गाउन सक्छु । तर यी तीन प्राणीले सय गुन लाए पनि, हजार गुन गाए पनि र लाख इनाम दिए पनि मेरो रिस बिसको उन्नाइस हुँदैन । यिनीहरूलाई देख्नासाथ ममा अजङ्गको भूत सवार हुन्छ । हानाँैहानाँै, ठोकौँठोकौँ र टोकौँँटोकौँ लाग्छ । यी तीन प्राणी हुन कुकुर, गोरु र मान्छे । हुन त तपाईंलाई पनि यी तीन प्राणीसँग रिस उठ्दो हो । तर रिसको कारण र स्तर भने पक्कै पनि घटबढ हुँदो हो ।
मभित्र त्रिप्राणी घृणा बच्चैदेखि फस्टायो । म सानै छँदा सिरानघरका जिबा खसे । मान्छे भेला भए, बाँसको भ¥याङ्ग बनाए । कोही शङ्ख बजाउन थाले त, कोही रामनाम सत्य हो भन्ने गीत गाउन थाले । हामी केटाकेटीलाई त गजबकै जात्रा भो । जिबालाई घन्चमन्चका साथ सेता सुकिला लुगाले बेरेर ठूलाबडाले पालोपालो बोके । त्यो देख्दा आफूलाई पनि औधि रहर लाग्यो. । आफू पनि खस्न पाए त यसै गरी नयाँ लुगा लाएर कोक्रामा हल्लाए जस्तो चचहुइ गर्दे बोक्दा हुन्, क्या मज्जा हुँदो हो । “नमरी स्वर्ग देखिन्न” भनेझैँ, धिक्कार होस् ।
भोलिपल्टदेखि दिनैपिछे पँधेरामा पाँचै भाइ जम्मा भएर छेउमा गोबरले पोते । धोतीधारीहरूले चिन्डोझैँ टाउकामा टालाले छोपेर केके गर्न थाले । गाउँलेहरू जम्मा भए । खिर पकाए । वनभात खाएझैँ, पेटभरि खिर खान पाइने भयो भनेर म भोकै बसेँ । तर ती चिन्डे बुढाहरू त खिरका डल्ला बनाउँदै केराका पातमा पोख्न थाले । अबचाहिँ दिन आँटे भन्या त, सरासर लगेर पर खोलाका डिलमा पो राखे । जे होस् यी सबै गएपछि, खिर खाइदिन्छु भन्दै थिएँ । गल्ले बुढाका गोरुले हेर्दा हेर्दै डल्ला कप्ल्याककुप्लुक्क पा¥यो । दोस्रो दिन पनि गोरु आउँदै थियो । गोरुलाई डिलमाथिबाट ढुङ्गाले धपाउँन थालेँ, उता कान्लेका काले कुकुरले दाउ पारेर खिरको पातैसम्म चाटीचुटी पारेछ । अर्को दिनचाहिँ चिन्डेबुढाहरू हिँड्दा हिँड्दै भ्याइदिन खोज्या त, त्यै मोरो रुद्रे कान्लाबाट खुत्रुक्क ओर्लेर पातैसम्म पोको पारेर भाग्यो बा ।
भोलिपल्टको दाउ छोप्न, खोलाको डिलको खस्रेटाको बुटामा लुकेर बसेँँ । साँझ पर्दासम्म कोही आएनन् । म हैरान भएर घर फर्कें । त्यस्तो खिर खाने रहर मेरो कहिल्यै पूरा भएन । त्यसैले यी दुष्ट त्रिप्राणीसँगको मेरो मित्रता अहिलेसम्म कहिल्यै हुन पाएन ।
तेह्रथुम, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest











































