ललिता ‘दोषी’ए बूढी !
ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका
अचार हिजोकोजस्तो खल्लो होइन है चटक्क मीठो बना
ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका ।
मान्खा डुबोस् कि सान्खा भन् पाखे तेरो बाबुको के पो जान्छ ?
बल्ल जालमा दुईचार माछा परेको छ त्यसले केही त धान्छ
ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका ।
गाउँबाट राहत सङ्कलन गर्न दुईचार भाइभतिजा भगा
अरूसँग बाडफाडमा खिचलो हुन्छ माग्ने तेरो माइतीको भान्सा सजा
ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका ।
राहत सङ्कलन गरेको पैसा मास्दिनँ भन्दै मेरो गिदी नखा
तँलाई के थाहा पाखे भुटन रक्सीको मज्जा
ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका ।
थोत्रा लत्ताकपडा जति छन् तेरै माइतीतिर पठा
बदलामा यस्सो गुन्द्रुक, घिउ, कुराउनी मगा
जय सुनकोसी फेरि पहिरो जावस् सेती भन्दै धूपबत्ती चढा
ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका ।
न आमा पट्टिका न न बाबू पट्टिका
भन् पाखे तेरा मन रुन्छ किन यत्तिका ?
अरूलेझैं खाएका हौँ र लाखौँ करोडौँका बिटा ?
अरूलाई ग्वाम्मै पहिलो पर्दा मलाई परेको हो मात्र दुईचार छिटा
ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका ।
पहिरोमा परेर मरुन् कि भोकभोकै लडुन् जेजे गर्छ गरुन्
तैले त्यो हाँडीघोप्टे रूप मलाई नदेखा
अरूलेझैं ठडाउने हो र काठमाडौँमा दुईचार तला
नाथे, लोकल ठर्राले भिजाएको छु सुकेका गला
ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका ।
न धोती न टोपीको तेरो बाबु सधैँ ङिच्च दाँत देखाउन आउँछ
मेलम्ची तेत्रो बगेको छ सधैँ डुङ्ङडुङ्ङती गनाउँछ
न अरूको अगाडि ससुरा भन्न सुहाउँछ
त्यस्ताकी छोरीले मलाई आदर्श नसिका
ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका ।
तेरो माग्ने बाबुले न दियो दाइजोमा दुईचार सुका
तेरो डाम्री परेको पेट मैले न हो फुका
धन्न नोट गन्ने भाग्यरहेछ पाखे !
किन सुँक्कसुँक्क गर्छेस् दिऊ कि दुईचार मुक्का
ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका ।
ए बूढी ! ए …… ।
बुद्धनगर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































