धनराज गिरीत्रिभुज
चिया दोकान र समय बिहानी । मानिसहरूको भीड । गफ सुरु । फुटबलबाट सुरु भएको गफ श्रीमान् कटवालमा आएर बिश्राम लिएको छ । अनायकहरूको स्वास्थ्यमा राष्ट्रको ढुकुटी स्वाहा भएको कुरा पनि उब्जिन्छ ।
“डाकाहरूले लुटे ढुकुटी” अन्तरे झोकिन्छ ।
“सबै रोगी, देसै रोगी, हुने भइयो जोगी” कवि साहिला ।
“साथी हो, मलाई अलि बेग्लै कुराले लखेटिरहेछ केहि दिनदेखि ।” कान्छो मिजार ।
“त्यो कुरा जान्न सकिन्छ ?” मास्टर जेठो । सबैजना मिजार कान्छोको मुख ताक्छन् । यो गाउँबाट छुवाछुत भागेको धेरै भो । रिजालको छोरी सुनारले र परियारको छोरी अधिकारीले आफ्नो जीवन साथी बनाउदा गाउँमा दीपावली गरिएको थियो । नमूना गाउँ भनेर छापामा आइसकेको हो । धार्मिक सहिष्णुता पनि उस्तै ।
“यो हाम्रो नुवाकोटे बूढाको तीन भाइ छोराले अचम्मको प्रगति गरे । यसको रहस्य के हो ? यिनलाई विदेश पनि जान परेन । गाउँमै त्यत्रो महल, शहरमा पनि पाँच तले तीन तीन महल, कारै कार !” आश्चर्य प्रकट गरे कान्छो मिजारले ।
“त्रिभुज, त्रिभुज ।” बोले प्राध्यापक माहिला ।
“सर, हजुर जहिले पनि बिम्बमा कुरा गर्नुहुन्छ, इश्वर बल्लभझैं । हामी सोझो मान्छे, सोझै अभिधामै जावोस् ।” नेपाली साहित्यमा स्नातकोत्तर गरेका विश्वकर्मा जन्तरे ।
“तीन भाइ हुन् नि नुवाकोटे बूढाका ? हो, यी तीन जनामा जेठोले पढ्न सकेन, बजारमा होटेल खोल्यो, मासु रक्सी खानेहरूको भीड । जे पनि खान पाइने होटेल । पैसा जाबो कति कति ! होटेलमा जथाभावी खानेहरू पेटको रोगी । माहिलो भाइ नामुद डक्टर, पेटको । आफ्नै क्लिनिक । पैसै पैसा । कान्छो भाइको औषधि पसल ! लु, होटेल– अस्पताल र औषधि पसललाई ज्यामितीय चित्रद्वारा देखाएमा के बन्छ ? त्रिभुज, होइन ? यो त्रिभुजको कमाल होइन त ?”
“सरसित सकिन्न, गणितको गुरु !” अन्तरे ।
“त्रिभुज –जिन्दावाद !” सामुहिक स्वर । चिया पसले जिल्ल ।
चितवन
Subscribe
Login
0 Comments
Oldest







































