साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासुदेव लुइँटेल : जिउँदै स्वर्ग…

Nepal Telecom ad

मान्छे समयसँगै त हिंड्नुपर्छ । जसले समयको गुणधर्मलाई त्याग्छ त्यो मरेर बाँचे पनि जिउँदो रहुन्जेल मरेको मान्छे बन्दछ । आज जो मान्छे जिउँदो भनेर दाबी गर्छ ऊ अहिलेको समयसँग मितेरी लगाएर हिंडेको हुन्छ । अहिलेको समयको गुण धर्म के हो र वासुदेव बाजेले कुन त्यस्तो समयोचित गुण अँगाल्नुभएन भन्ने खुल्दुली तपार्इंलाई पनि लाग्न सक्छ । त्यो स्वाभाविक हो किनभने तपाई सायद जिउँदो मान्छे हुनुहुन्छ होला ।

यतिखेरका जिउँदा मान्छेको गुण भनेको “अरु सबै मर मेरै भुँडी भर” भन्ने मूलमन्त्रका वरिपरि रिंगिरहेका काम कुराहरू हुन् । तपाइँ प्रत्येक मान्छेलाई राम्ररी नियाल्नुस् त ¹ आफू आफ्नो घरपरिवार, रक्त–सम्बन्धीहरू अर्थात आमातिरका र बाबुतिरका नातागोताको पुल्ठो बाटेर–स्वार्थ सिद्धिमा लीन हुन्छ । आफ्ना निम्ति मनग्गे धन दौलत्त बटुल्छ मात्र हैन सकेसम्म छोरा–नातिलाई समेत बन्दोबस्त गरिदिन ज्यान फालेर लागेको हुन्छ । नैतिक–अनैतिक भन्ने भेदभावै नराखेर सदाकाल नै धनलिप्सा र मानलिप्सामा डुब्ने गुणको पारखी बन्दछ । चन्द्र शमशेरलाई जसरी भवितव्य परेन भने सिंहदरवार सोमर्न उसका नाति–पनातिले भेट्टाइहाल्छन् । छोरा छोरीको त जिउडालै अर्को हुने भइहाल्यो । कुन विषय–सुखमा कसरी पारङ्गत हुने भन्ने कुरा उनीहरूका लागि चिन्तनको मियो बन्दछ । सुरा– सुन्दरी भन्ने कुरा मामुली भइहाल्यो । त्यसैले यस्ता ज्युँदा मान्छेमा पाइने गुणधर्म खली–काँचुली तन्नमटाट भएका वासुदेवलाई कसरी ज्यूँदो मान्छे भनेर शेषराजले शेखी झार्न पुगे– बडो ताज्जुप लाग्छ । बरु उनलाई ज्युँदै मरेको मान्छे भन्दा पो ठीक पर्ला ।

फेरि वासुदेव लुइँटेल जो नाम छ नि, त्यो नामको मान्छे मैले कुनै समारोहहरूमा देख्ने भेट्ने पनि गरेको छैन । यसैसाल राष्ट्रिय सभागृहमा सम्पन्न एउटा कार्यक्रममा उनको फोटोले सभापतित्व ग्रहण ग¥यो । तपाइँलाई थाहै छ, मान्छे जिउँदो रहुन्जेल फोटोले सभापतित्व ग्रहण गर्दैन । त्यसो हुँदा पनि ज्ञानगुन साहित्यले उहाँका बारेमा जो लेख–संग्रह छपाई बाँड्यो त्यो भ्रममा परेर खत्तम खलाँस भएजस्तो छ ।

मैले स्ुने बुझेसम्म नेपाली भाषा प्रकाशिनी समिति र गोर्खापत्रमा पण्डित भई पुरेत्याइँ गरेका माड्साप एक समयमा जगदम्बा प्रेस र मदन पुरस्कारका मजदूर थिए । बीसवाँ सदी सिद्धिने बेलामा, महङ्गीको सगरमाथाले सय रुपियाँ किलो चामल पुग्न आँटेको बेलामा उनले दैनिक चालीस रुपियाँ ज्याला लिएर मजदूरी गर्दथे । जब कि त्यस समयमा सडकका भरियाले समेत दैनिक डेढ दुई सय ज्याला लिन थालिसकेका थिए । त्यस्ता बेलामा उनको त्यो चाला निकै वैरागी तालको मानिन्थ्यो । शोक न सुर्ता भोक न भकारी भने झैं उसले डकारी–डकारी हसुर्थे माड्साप पान पानी चपाउँदै हाँस्दै गर्थे ।

परन्तु जब उनले साहित्ययात्रा सुरु गरेका थिए तब त्यहींदेखि नै उनमा समयचेत गुम भइहाल्यो । बडेबडे कविजीहरूले कहीँ शिवको कहीँ गणेशको कहीं ब्रम्हा वा सरस्वतीको स्तुति गरेर साहित्य आरम्भ गर्दथे, तर ती बूढा पण्डित ‘आमा’ सम्झेर बिलौना गर्दै साहित्यमा ओर्लिए । त्यति मात्र कहाँ हो र, उनी लगभग बैरागी बन्न पुगे । ‘बेैराग्यसतक’लाई नेपाली बोलीमा ढाल्ने मान्छे ‘भूत छैन’ भन्दै भूतलाई झटारो हान्ने काम गर्न पुगे । तर पछि फेरि आफ्नै सालाहरूलाई भूत देख्न पुगेको हुँदा आफ्नो नाम नै ‘भूतको भिनाजु’ बताउन थाले । अब जहाँसम्म उनको बारेमा लेख संग्रह निकाल्ने काम भएको, कसैले समय चिनेर ‘भीमसेनपाती’ चढाएको पो हो भन्ने आशंका पनि यतिबेला समालोचकहरूले गर्न थालेका छन् । किनभने उनले जो हास्यव्यङ्ग्य साहित्यका क्षेत्रमा ठूलो पुरस्कार गुठी राखे त्यसतर्फ पो यो लक्षित छ कि ? नत्र भने आफ्ना सन्तानको भविष्य बिगार्ने, समय नचिन्ने, आफ्ना युगको मन्त्र नजप्ने मान्छेलाई ज्यूँदा मान्छे भनी– भनी बखान हाल्ने काम बिनामेसै कसरी भयो ?

मदनमणि दीक्षितदेखि मनुजबाबु मिश्रसम्मका मपाइँवादीहरू र भँगेरे कांग्रेसदेखि शान्ता थाङ्ग्रेसम्मका झूर–झम्पाटहरूका गन्थन बटुलेर पोको पारेको यो सङ्ग्रहमा– भैंसीको पुच्छरदेखि दाइभाइका कुरा र क्यामराम्यानका दुखेसा जस्ता कुराहरूसँगै यस युगको आठौं आश्चर्य गुटमुटिएको छ । यस संग्रहमा कुरा पनि कति भाँति–भाँतिका छन् भने धिताल बाजेले पित्तलका थाल ठोक्दै दरबार स्कूलमा बुर्कुसी मारेका गफ गर्छन् र अभिमन्यु र स्वप्नवासबदत्ताको मेल गराइदिन्छन् । कहाँको अभिमन्यु काहाँकी स्वप्नवासबदत्ता । त्यतिले नपुगेर होला उनले काकतालीले कमलमणिलाई हाकिम मान्न पुगेका वासुदेव बाजे दान र मानको आसमा लहसिएको कुरा समेत कोर्न पुगेका छन् । कुरा कुन साँचो हो त्यो धेरैलाई धेरै थाहा छैन तर यथार्थमा जुन दान जगदम्वा रानीबाट भूतका भिनाजुलाई प्रदान गरिएको थियो, त्यो उनले अहिले आएर सिरिखुरी व्यङ्ग्यधर्मी लेखकहरूलाइ फर्काइदिएका छन् ।

पुष्कर शमशेर मरे पनि पुष्कर लोहनी जिउँदै छ भन्ने देखाउनका लागि उनले आफ्नो पत्रिकाको ग्राहक बन्न वासुदेव र कमलमणि आएको कुरा बताउँदै भूतका भिनाजुको कविता ‘बन्छ भने ….भन्छ’– शीर्षकको काइँकुई नगरीकन छापें भन्दछन् । जो यस प्रकारको थियो–
खारिएको फलाम
तरवार बन्छ भने
निखारिएको गरीबको रगतले
दरबार बन्छ ।
सिंगारिएको महलले
आज यही कथा भन्छ ।
(वासुदेव लुइँटेल, भिमसेनपाती, रूपायन प्रकाशन, २०२७ पृ. १८ ।)

तर यो कविताको निहुँमा लोहनीले सबलाई नाम राख्ने न्वारानबाजेलाई नै ‘कान्छाकाजी’को पगरी गुताइदिन्छन्, डरपोक खकुरेल आफूभित्र शुभलाभको साहित्यसाधना भएको स्वीकार्दै वासुदेवमा त्यो नभएको चर्चा गर्दछन् । जनक हुमागाइँ घुमिफिरी श्यामप्रसाद बखान्न पुग्छन् । डा. भीष्मलाई जगदम्बा प्रेसको पाइखानाप्रति टीठ लाग्छ । आनन्ददेव भट्ट आफ्नो विशेषता अनुरूप लगभग लगभग कुरा गर्छन् र भन्दछन् – ‘उहाँलाई टुक्रे शैलीले बर्बाद बनायो । इतिहासका थुप्रै तथ्यका ज्ञाता भएर पनि लुइँटेलज्यू राममणिको सेवक बन्नुभयो । लिन जान्नेले दिन पनि जान्नुपर्छ भन्ने उदाहरण दिनुभयो ।’ तर शिव रेग्मी भने लुइँटेल बाजेलाई जोकर ठान्छन् । केटाकेटीमा आफूलाई कविता सुनाउन आउँदा बेञ्चमाथि उभ्याएर भट्याउन लगाएको रीस पोख्दै भन्छन्– ‘अहिले खुब दौरा–सुरुवाल कोटमा हिंड्छन्, त्यतिखेर सुट टाई टल्काएको पनि मैले देख्या छु, बिस्र्या छैन ।’

भँगेरे कांग्रेसको आफ्नै विशेषता छ । भैरव अर्याल नसम्झी उनको भात घाँटीबाट छिर्दैन । त्यसैले कुरा वासुदेवको गर्न खोज्छन् तर वर्णन भैरव अर्यालको गर्छन् । रमेश विकलको कुरा के गर्नु विकलाङ्गप्रति दयाभाव राख्नु सबैको कर्तव्य हो । त्यसैले नामै दीर्घ–बाहु काम कस्तो होला नभनुँ । लामो हात हुनेले के गर्छ भन्ने कुरा जगजाहेरै छ । खनाल बबुरा छोटा हाते मात्र होइनन् मनको खोटासमेत भएकाले पुरस्कारकै गुणगान गर्न तल्लीन देखिन्छन् । नगेन्द्रले वासुदेवलाई सिंगो रूपमा हेर्नै सक्दैनन् त्यसैले ‘एक टुक्रा वासुदेव’ सम्झेर चित बुझाउँछन् । दाइभाइका कुरा मैले गर्नु उचित नहोला किनभने अंशको कुरा बंशलाई थाहा हुन्छ । रोचक घिमिरे नाम अनुसार काम खोज्दा बासुदेवलाई लीलामय लुइँटेल देख्दछन् र कमलमणिसँगै वासुदेव पनि प्रलेसको सदस्य बनेको कुरा खुसुक्क लेख्छन् । पूर्णप्रकाश यात्रीले भने आफ्ना दाजुको रूपमा सेवा ढोग चढाउँछन् र आशीर्वाद थापेर पोखरा क्याम्पसमा माष्टर हुन पुग्छन् । दुई पाँडेका कुराहरू तपाईंहरू आफै पुस्तक खोजेर पढ्नु होला ! बिनाबित्थै मैले मात्र कति सबैका कुरा सुनाइरहने । फेरि पाँडे र माडेको भरोसा नगर्नु भन्ने गोखार्ली राजाको भनाइ छ भन्छन् । कुरा के हो मलाई थाहा छैन ।

यसरी प्रस्तुत पुस्तकले वासुदेव शर्मा लुइँटेलका बारेमा मनग्गे गन्थनमन्थन बटुलेको छ । पढ्ने जाँगर भएका मान्छेलाई त पठनीय नै छ भन्नुपर्छ । अल्छी दिगम्बरका लागि भने प्रस्तुत लेख संग्रह उलेख्य कसिङ्गर बन्न सक्छ ।

\’मधुपर्क\’ २०५४ बैशाखबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x