साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरु कि गुरु ?

Nepal Telecom ad

ओकार र उकारमा यी दुई शब्दको अर्थ फरक छ, अनि तपाइलाई गुरु श्रेष्ठतम् लाग्न सक्दछ तर आजकालको जमानामा गोरु गुरु भन्दा बहुमूल्य हुन लागेका छन् । इमान्दारिताको कसिमा दाउ लाउने र भाउ लाउने हो भने गोरु र गुरु कुन इमान्दार तपाई आफै मूल्याङ्कन गर्न सक्नुहुनेछ । शुरुमा गुरु प्रिय बन्न सक्ला तर गुरु या गोरु तपाईंको मथिङ्गलको कुरा हो र यही कुरा सुन्दा र गुन्दा मथिङ्गलमा कचिङ्गल आउन सक्छ ।

गोरु र गुरुको यहाँ समानता र फरकको कुरा गर्न खोजिएको छ । उपलब्धताको हिसावमा यी दुबै अति नै दुर्लभ प्राणिको रुपमा लिन सकिन्छ । अचेल गाई पाल्ने जमाना बिस्तारै हराउँदै गएको बेला गोरु हराउनु स्वभाविक हो र गुरुहरू पनि गाउँका विद्यालयमा असाध्यै दुर्लभ प्राणि जस्तो हुनु भएको पाउन सकिन्छ । उपादेयिताको हिसावले दुबै असाध्यै आवश्यकताका प्राणि हुन् । तपाईंले नै लख काटेर भन्दिनुस्न गोरु या गुरु कुन तपाईंको लागि उपयुक्त हो ?
गत हप्ता एकजना विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग भेट भो । केही समयको भलाकुसारीपछि मैले आफ्नो कुरा घुसारी हालें अनि सोध्न थालेँ— ‘के छ बाबा स्कुलको खबर ?’ घाइते बाघ झैं झम्टेर बुढा त रन्केर, फन्केर, तन्केर भने— ‘स्कुल त अचेल निकै मुस्किल भा’को छ ।’ मैले सोधेँ— ‘किन बाबा ?’ ती बुढाले व्यवस्था बिरोधी कुटिल हाँसो हाँस्दै भने— ‘के गर्नु बाबु जे हुनु व्यवस्थाले बेवास्ता गरेपछि, विद्यालयको भुतो न भविष्य भन्या झैं हुने रहेछ । हामी व्यवस्थापन समिति त अचेल बेवास्तापन समिति भएका छौँ, म अध्यक्ष हैन अदक्ष भएको झैं लागेको छ । दुुुधको साक्षी बिरालो बनेर कति बस्नु हँ ?’

ती बुढाको बेली बिस्तार सुनेर मलाई किन होला ती बुढा रिसाएका होलान् भन्ने खुल्दुली लागि रह्यो । मैले भनेँ— ‘अध्यक्षज्यू किन यति धेरै दुखेसो पोख्नु भा’को हो, कुरा प्रष्ट भन्नु न ।’ ती अध्यक्ष बुढाले बिस्तारै कुरोको चुरो फुकाउँदै र शिर झुकाउँदै भने— ‘हेर्नुस् गुरु र गोरुमा असाध्यै फरक रहेछ । गुरु भन्दा गोेरु निकै उत्कृष्ट रहेछ । गोरुले खेत जोत्दा छेउ लगाएर जोत्यो भने छेउमै जान्छ, कुनो लगाएर जोत्यो भने कुनामै जान्छ, जति दियो त्यति खान्छ, आज्ञाकारी पनि त्यत्तिकै हुन्छन् गोरुहरू ।’ म अझै अनभिज्ञ थिएँ ती विज्ञ बुढाको अघि तै पनि कुरा बुझ्ने चाहनाले सोधिहालेँ— कुरा अझै प्रष्टै भन्नुस् न । ती बुढाले बिस्तारै भने— ‘त्यै त गोरु र गुरुको भिन्नता मैले हेरिरहेको छु, गोरुले जोत्ने भएन, जोतेन, बुढो भयो भने साट्न मज्जाले पाइन्छ तर हाम्रो स्कुलमा बुढ्यौली उमेरमा पनि गुरुहरू पढाइरहनु भएको छ, न त यिनलाई साट्न मिल्ने न त बेच्न नै मिल्ने । बल्ड्याङ्ग्रा जत्रो चस्मा लगाएर पनि किताबका अक्षर पढ्न नसक्ने गुरुहरू मेरो स्कुलमा आएर आपत् बिपत् परेको छ । साँच्चै सुन्नु न बाबु गोरुले राम्ररी जोतेन भने त्यसको साटफेर गर्ने अधिकार मालिकको हुन्छ तर भन्नु त स्कुलको मालिक को हो ? विद्यालय व्यवस्थापन समिति भनुँ भने ऊ त सालिक झै भा’को छ । अभिभावक भनुँ भने अभिभावकले साट्ने हैसियत छैन, अड्डा भनुँ भने अड्डाले स्कुल भद्दा बनाइदिएको छ । गाँठी कुरा के भने बाबु मेरो विद्यालयमा हेडसर नै रक्सि खाएर आउनु हुन्छ । यी हेडसर साट्न खोजेको कुनै विद्यालयले लैजानै मानेन । पैसा दिएर नै साट्ने भए पनि हामी साट्थ्यौं तर त्यो अवस्था पनि आएन ।

मेरो सानो दिमागले जे बुझ्यो त्यै सोच्न थालेँ । साँच्चै ती बुढाको कुरा मान्ने हो भने गोरु त गुरु भन्दा सर्वोत्कृष्ट हुने रहेछन् । न गोरुले आन्दोलन गर्छ न नेपाल बन्द गर्छ । न पोषाक भत्ताको लागि ताकेता गर्छ न यसले राजनीति गर्दै हिँड्छ । औँसी र पूर्णिमामा बिश्राम दिए पनि यस्ले निरन्तर जोतिरहन्छ । दश चारको समयको यिनलाई ख्याल नभए पनि पूरा समय जोतेर साथ दिन्छन् गोरुहरू । यी गोरुहरू अड्डामा काम छ भनेर दिनभर खेतबाट हराउँदैनन् । दिउँसो तीन बजे खेतमा पुगेर त्यो दिनको मेलोको हाजिर लगाउँदैनन् । दाहिने र देब्रे पाटोको गोरु मिलेमा नै मज्जाले जोत्न सकिन्न्छ तर गोरुहरू दाहिने र देब्रे पार्टी भनेर बेमेल गरेर आन्दोलन गर्दैनन् । गोरुहरू रक्सि खाँदैनन् । गोरुलाई मालिकले आफूखुसी जोते नजोतेको हेरेर मूल्य लगाएर साट्न सक्छ । न त यिनलाई ग्रेडको चिन्ता हुन्छ न बढुवाको नै । गोरुहरू दिउँसो मेलामा निदाउँदैनन् । गोरुको स्थायित्व कहाँ हुन्छ र तैपनि यिनीहरू स्थायीको लागि मेलै छोडेर आन्दोलन गर्ने गरेको आजसम्म पाइन्न । यिनीहरूलाई चाडपर्व आउँदा चाडपर्वको भत्ता पनि चाहिँदैन । न यिनले अभिभावकलाई झुक्याउँछन् न कसैलाई । तपाईंले यिनलाई नौ डाँडा पारि बेचि पठाउनु भयो भने पनि नौ डाँडा पारि गएर नै जोत्छन् । घर पायक भनेर यी गोरुहरू डुक्रिएर हिँडेको थाहा पाइएको छैन । गोरुलाई जोत्नको लागि एक पटक तालिम दिएपछि मज्जाले पुग्छ यिनलाई पटक पटकको तालिमको आवश्यकता पर्दैन । न यिनलाई बिदाको थाहा हुन्छ न यिनीहरू बेतलबी बिदा बस्छन् । यिनै कुराले गोरु र गुरुमा को सर्वोत्कृष्ट ? लौ तपाईं नै छुट्याउनुहोस् । जदौ ।

बेसीसहर, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
0
Would love your thoughts, please comment.x
()
x