दुर्गाप्रसाद ग्वालटारेमनाउँ दशैं किस्नेको बा !
उ हेर त माथि !
देख्यौ त तारामण्डल, जुन हिजो अस्ति देख्दथ्यौ ?
अहँ पक्कै देखेनौ, किनकि
टाली सकेँ छानाका छिद्रहरू अर्थुङ्गे ठोसी ठोसी
भलै घोचेथे चस्चस छातिमा प्रत्येक अर्थुङ्गेका टुप्पाले
भलै खिल पल्टियोस् भोलि
र पलाउन् ऐंजेरु अङ्ग अङ्गमा
तर पर्बाह नगरौं
प्रत्येक वर्र्ष झैं यसपालिको महान पर्बमा
सबै कुरा बिर्सेर दशैं मनाऊ ल किस्नेको बा !
ख्याल ग¥यौ घरको भित्तो ?
पक्कै छैन !
तिमी मजदुरी गरि फर्कंदा छिप्पिएको साँझमा हिजो
कटुवा खोलाको कमेरोको लिपिस्टिक दलेर
पट्पट् फुटेका घरका ओठका धाँजाहरूलाई
लुकाइ सकेको थिएँ मैले
भलै कुचाका प्रत्येक छ्याप छ्याप सँगै
कुँडिंदै थिए सपनाका मुनाहरू
अनुभूत भएथ्यो– सायद कमेरो चुक भन्दा अमिलो छ
तैपनि म भन्छु फिक्री नगरौँ
तिम्रो हाम्रो कुरा छोडौँ र लोकाचारको निम्ति
जसरी मान्दै आएका छौँ
त्यसरी नै यसपाली पनि दशैँ मनाउँ ल किस्नेको बा !
एक छिन चुप लाग त !
उ, ! सुन त प्या प्या आवाज
घोर्ले खसिको हो पल्लो घरको
अनि उ हेर त त्यो डोको
भाले छोपेकी छु बजारबाट ल्याएर
दिउँसभरी डोको वरिपरि घुमे हाम्रा नानीहरू
प्वालहरूबाट प्रत्येक प्वाँखहरू नियाल्दै
वर्णन गर्दैथे
सानी छोरी भन्दैथी– परबाट आएका खसिका भन्दा
यो भालेको आवाज फुर्तिलो छ
त्यसको भन्दा यसैको रस तिख्खर हुनेछ
दाजु बैनीका वार्तालाप सुन्दै गर्दा
पोलेको थियो मेरो मुटु भत्भती
सायद कुरा बुझ्नु भनेको पनि खोर्सानी दल्नु हो मनमा
यी नानीहरूका कलिला मुटुहरू भत्भताएका छैनन्
किन कि तिमीले मैले जसरी बुझेका छैनन् संसार
छोडिदिउँ अरुकुरा
यिनीहरूकै रमाइलोको लागि पनि
धुमधामले दशैं मनाउँ ल किस्नेको बा !
२०७१ भाद्र, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































