विमल निभामहँगी (एक अन्तर्कथा)
सबै के भनिरहेका छन् भने महँगी असाध्यै बढेको छ । यो कुन नयाँ कुरो हो ? यसको एकमात्र काम नै बढ्नु हो । बढ्नु, केवल बढ्नु र निरन्तर बढिनै रहनु । यस्तो होइन भने अरु के हो त ? तपाईं महँगीको निकट अथवा सुदूर अतीतमा जानोस् । यो कहिले पो बढेको छैन र ? त्यसकारण महँगीलाई महँगी भनिएको हो । केही गरी यो नबढेर घटुवा भएको भए यसलाई अर्थाेक नै केही भनी उच्चारण गर्नुपथ्र्याे । यसरी महँगी भनेर होइन । अब केचाहिँ भन्नुपथ्र्याे, यो मेरो नभएर शब्दशास्त्रीहरूका कार्यक्षेत्रमा परेकोले म चुपचाप अघि बढ्छु ।
“बढ्दो महँगी– कम गर ।”
’गरिबमारा महँगी– फिर्ता गर ।”
“महँगी बढाउनेहरू– मुर्दावाद ।”
राजधानीका सम्पूर्ण क्याम्पसका विद्यार्थीहरू महँगीको विरोधमा सडकमा ओर्लिएका छन् । दिनका दिन जुलुस, धर्ना र नारा भइरहेको छ । यसको परिणामस्वरुप सरकार सक्रिय भएको छ । होइन, महँगी कम गर्नलाई भनेर होइन । यसको विपरीत महँगी रोक्न उठेको कदमलाई नै बीच बाटोमा रोक्न । यही सरकारको सजगता, सतर्कता, सचेतता आदि हो । संक्षेपमा सक्रियता । कुनै पनि सरकार सक्रिय भएको अथवा नभएको थाहा पाउनु गाह्रो छैन । यो सक्रिय हुनासाथ पुलिस खटाउन थाल्छ । पुलिसको लाठी, गोलीगठ्ठा, अश्रुग्यास, बन्दुकहरू नै एकमुष्ट रूपमा सरकारको सक्रियताको निसानी हो ।
हतियारधारी पुलिस फिल्डमा आइसकेपछि पहिलेदेखि सडकमा रहेका निहत्था विद्यार्थीसँग भिडन्त हुनु अनिवार्य थियो । अतयव भयो । यो कार्यक्रम कसरी सम्पन्न भयो भने… पुलिससँग जुन डन्डा हुन्छ, त्यसको टुप्पोमा जडिएको फलाम गएर बेस्सरी बज्रियो, विद्यार्थीहरूका टाउकामा । फलस्वरुप रगतको सानोतिनो खोलो बग्न थाल्यो । यसरी बल्ल वार्ताको वातावरण बन्यो । विद्यार्थी, किसान, मजदुर, शिक्षक आदिका टाउको पट्पटी फुटेर रातो–रातो रगत नबगेसम्म सरकार वार्ताका लागि तत्पर हुँदैन । यही सरकारी परम्परा हो । यही काइदाअनुरुप सरकार र विद्यार्थीबीच एक चरणको वार्ता भयो । जो पूर्णतः असफल भएको छ । शीघ्र नै अर्काे चरणको वार्ता हुनेछ । र त्यो पनि असफल हुने पक्कापक्की छ । कुनै पनि सफल सरकारको सफलता नै असफल वार्ता गर्नमा सफल हुनु हो । वर्तमान सरकार पनि एक सफल सरकार भएकोले यसलाई असफल वार्ता गर्नबाट कसले रोक्न सक्छ ? स्पष्ट छ, यो सरकारलाई सफल वार्तामा पटक्कै विश्वास छैन । चाहे त्यो महँगी कम गर्ने वार्ता होस् अथवा अन्य कुनै कुरामा । जस्तै– शान्ति सुरक्षाको बहाली, मानवअधिकार हनन, संविधान निर्माणमा भएको ढिला–सुस्ती, इत्यादि । जब सरकार ठूला–ठूला कुरामा असफल किसिमको वार्ता गरिरहेको छ भने महँगी घटाउने जस्तो सानो कुरामा सफल वार्ता कसरी गरोस् ? यो चुरो कुरो विद्यार्थीहरूका ज्ञान क्षेत्रमा नआइसकेकोले सरकारसँगको विद्यार्थीहरूका वार्ता असफल भएको हो । यसमा सरकारको कुनै दोष छैन ।
“विद्यार्थी–विद्यार्थी एक हौं ।”
“हाम्रा गिरफ्तार साथी
रिहा गर ।”
“विद्यार्थी एकता अमर रहोस् ।”
आजको मितिसम्ममा विद्यार्थी आन्दोलन कायमै छ । तर यो कुन प्रकारको आन्दोलन हो ? आरम्भमा महँगीलाई लिएर उठेको आन्दोलनमा महँगीको कुनै उल्लेख नै भइरहेको छैन । सबै विद्यार्थीहरू आफ्ना गिरफ्तार साथीलाई छुटाउन लागिपरेका छन् । के महँगी विरोधी आन्दोलनको दिशा परिवर्तन भएको हो ? यस्तो लागे तापनि यो पूर्ण सत्य होइन । वस्तुतः यहाँ विद्यार्थी वर्गमात्रै बढ्दो महँगीको विरोधमा रहेको छ । अन्यलाई कुनै मतलव छैन । उदाहरणका लागि कर्मचारी, वकिल, पत्रकार, खेलाडी, साहित्यकार, डाक्टर, इन्जिनियर, कलाकार, व्यापारी आदिलाई लिनोस् । सबै मजैसँग एकतमासको मौनता धारण गरेर बसेका छन् । यसमा व्यापारीहरूका अकर्मण्यता सहजै बुझ्न सकिन्छ । यिनीहरू पनि महँगीदाता मध्येकै एक हुन् । आफ्नै विरोधमा कसरी उभिने ? तर अन्यले महँगीको कुनै विरोध नगरी मुखमा यामानको भोटेताल्चो लगाएर बस्नु रहस्यमय छ । यसको एउटै कारण हुनसक्छ । सायद गैरविद्यार्थी वर्गलाई बढ्दो महँगीले अलिकति पनि स्पर्श गर्दैन ।
विद्यार्थीहरूका महँगी विरोधी आन्दोलन चरममा छ । यो कहिलेसम्म चालु रहनेछ, यसै भन्न सकिँदैन । सके त्यसबेलासम्म चलिरहने छ, जबसम्म यो बन्द हुने छैन । यही चालु र बन्दको स्वाभाविक विधान हो । यो भन्दा बढी के भन्ने ? मेरो भन्नु के हो भने अन्त्यमा विद्यार्थीहरूका महँगी विरोधी आन्दोलन बन्द गर्न सरकारले आफ्नो त्यो अस्त्र निकाल्नेछ, जो पुलिसको डन्डाभन्दा अचुक रहेको छ । यो महँगी कम गर्नका लागि सरकारद्वारा निर्माण गरिएको उच्चस्तरीय समिति हुनेछ । यसलाई विद्यार्थीहरूले पनि सहर्ष स्वीकार गर्नेछन् । किनभने त्यसबखतसम्म विद्यार्थीका गिरफ्तार साथीहरू रिहा भइसक्नेछन् । अनि एउटा लामो समयको अन्तरालपश्चात के हुनेछ भने महँगी कम गर्न उच्चस्तरीय समितिको रिपोर्ट आउनेछ । त्यसबेलासम्ममा महँगी अझ बढिसकेको हुनेछ । अघि नै भनिसकिएको छ, यसको काम नै बढ्नु हो । यो महँगी हो । यस उसले आफ्नो स्वभाव बमोजिम बढ्छ नै । तपाइँं–हामी के गर्न सक्छौं ?
टिप्पणी
अहिले मुलुकमा घटिरहेका महँगी, विद्यार्थी आन्दोलन, सरकारी घोषणा आदिसँग यो रचनाको कुनै सम्बन्ध छैन । यो विशुद्ध कथा हो । संयोगवश केही मिल्न गएमा लेखक जिम्मेवार छैन । धन्यवाद !
‘कान्तिपुर’ २०७० चैत्र ८
Subscribe
Login
0 Comments
Oldest







































