साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोडा फाट् – स….तर्क !

Nepal Telecom ad

आफ्नो घर नहोस् । अर्कैले बनाएको घरको भर होस् । डेरामा दुई मात्र कमरा हुन् । कमरामा एउटी मायालु भमरा हुन् । भमराका दुइटा भुरा हुन् । स्मरण रहोस्, भुरी होइन, दुइटै भाले जातका भमरा हुन्, त्यस्तै ७–८ वर्षदेख ९–१० वर्षसम्मका । भुरा कि त बाह्रैमास खानै नपाएका जस्ता मरन्च्यॉसे हुन्, कि त बाह्रैघण्टा लडिरहने कुस्तीवाज हुन् ।

कोठामा टेलिभिजन, रेडियो र भुरा बाझिरहून्, किचनमा थाल, बटुका र चुरा बजिरहून् । केटाहरूबीच अविश्राम कुटाकुट होस्, ऐना सिसाको फुटाफुट होस् । भुइँभरि चाउचाउ, चिउरा र चिनी छरून्, ओछ्यान धुलो, हिलो वा बालुवाले भरून् । सानो केटो टाङ्मुनि पसोस्, ठूलो केटो काँधमाथि बसोस् । एउटाले तलबाट उचालोस्, अर्काले माथिबाट थिचोस् । कहिले घोडा हुनुपरोस्, कहिले नर्तक । कहिले गोडा फाट् हुनुपरोस्, कहिले सतर्क ! गोडा फाट् ! सतर्क ! ! गोडा फाट् ! सतर्क ! ! आहाहा….!

डेरामुनिको सटरमा फर्निचर कारखाना होस् । सामुन्ने कोठाको डेरावाल पपसङ्गीतको साधक होस् । कोठामुनिकै चोकमा सार्वजनिक कन्टेनर र कन्टेनरमाथि दुर्घन्धको रास होस् । रासमाथि भुस्याहा कुकुर, लामखुट्टे र मोटामोटा मुसाको बास होस् । मुसाले बेलाबेला छिर्के लगाएर लडाउन खोजून्, चामलका बोरै बोकेर रातभरि खाटमाथि चढाउन खोजून् । मुसा लखेट्यो– सुत्यो । मुसा लखेट्यो– सुत्यो । लखेट्यो, सुत्यो । लखेट्यो, सुत्यो । आहाहा……!

पहाडबाट फुपाजु आएका हुन्, पशुपतिको दर्शन गर्न, मधेशबाट मितभाइ आएको होस्, पॉच वर्षअघि विदेश जान दलाललाई दिएको पैसा फिर्ता उठाउन । फुपाजु र मितभाइ डेरामा पहिल्यैदेखि पाहुना हुन्, ससुराली तर्फका थप दुईचारजना आउना हुन् । चामल होस्, तरकारी नहोस् । बेसार होस्, तेल नहोस् । भात खाने थाल होस्, बटुकामा हाल्ने दाल नहोस् । एउटै मात्र प्रेसर कुकर त्यो पनि भर्खरै पड्केको होस् । खरदारको जागिर त्यो पनि हाजिर नमिलेर तलब अड्केको होस् । मूर्ख घरबेटीस‘ग सम्बन्ध रड्केको होस् । पाहुना, घरबेटी, जुत्ता, चप्पल, फोहोर, कसिङ्गर ट्वाइलेट, पानी…! आहाहा……!

खल्ती सधै‘ खलाँस होस्, ट्रायल अरुलाई नै परोस्, हातमा सधै‘ फलाँस् होस् । टाउकामा रिनैरिन होस्, भ्रष्टाचारप्रति घिन होस् । पैसाले जहिल्यै फिटफिट होस्, पसिना निधारमा चिटचिट होस् । बडो स्वभिमानी र आदर्श एउटा मन होस्, दाउरे भए पनि एउटा स्वस्थ तन होस् । ओठमा प्रायः मुस्कान होस्, ऑखामा अलिकति आँसु होस् । वर्षमा चार–पाँच छाक भातमा मासु होस् ।

दशै‘ आओस्, तिहार आओस्, आँसुले मुछेका अछेता सासूले निधारमा टॉसिदिउन्, पट्पटी फुटेका आमाका नरमनरम हातले कपाल मुसारेर टाउकाभरि आशिष दिउन् । भाइ होस् पुलिसको जागिरमा कतै रुकुम रोल्पातिर, भाञ्जो होस् बेपत्ता भूमिगत कतै दैलेख, डोल्पातिर । वृद्ध बाबुआमा हुन् गाउँमा असुरक्षित, भयभित र अस्वस्थ । न आफू जान सकियोस् बस्ने गरी गाउँमा, न बाबुआमालाई ल्याउन सकियोस् आफू बसेको ठाउँमा । भय, आतङ्क, असुरक्षा, रोग, भोक, शोक, अशान्ति, अनिद्रा र फेरि आशा । आहाहा…..!

हान्ने रॉगाले जस्तो लखेटोस् अभाव र अस्तव्यस्तताले पटक–पटक । भाग्दाभाग्दै लडिएला लडिएलाझै‘ होस्, जमिनमुनि गडिएला गडिएलाझै‘ होस् । सासै अडिएला अडिएलाझै‘ होस् । अचानकै कुनै शुभेच्छुकले च्याप्प हात समाओस्, र सानै भए पनि कुनै खुशीको कुनै बात बताओस् । ज्यानमा सरर्र सास पसोस्, केही गरिन्छ कि भन्ने आस पलाओस् । निराशा– आशा, निराशा– आशा ….! आहाहा…..!

मनमा लेखनको भाव होस्, पाठक प्रशंसकको अभाव नहोस् । लेख् भाइ लेख् भनेर साथीभाइले लखेटिरहुन्, नलेख्न खोज्दा हृदयभित्रको लेखकले राँके जुलुस निकालोस्, माझ छातीमा टायर बालोस्, आफ्नै पुतला बनाएर आफ्नै अगाडि डढाउन लागोस् । त्यसपछि फेरि केही लखियोस्, अगाडि उज्यालै उज्यालो देखियोस् । अँध्यारो–उज्यालो, अ‘ध्यारो–उज्यालो । आहाहा….!

लाग्छ,
वैभवको अभाव नहुनेलाई के थाहा हुँदो हो
यो जीेवनको आनन्द
लेखनको भाव नहुनेलाई के पत्तो हुँदो हो
यो जिन्दगीको मजा ! !

सिनामङ्गल, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x