प्रकाश चापागाइँबाँकी सबै बिर्सिएँ
बिर्सें गुन्द्रुक झोल भात सजिलै बिर्सें मस्यौरा पनि
गावाको प्रिय स्वाद बिर्सन पुगेँ बिर्सें फुरौला पनि
सिन्कीको रस बिर्सिएँ घरको लट्टे र खट्टे सबै
जन्ती भोज भतेर बिर्सन पुगेँ सम्झिन्न केही कतै ।
ताता सेल तिहारका पनि भुलेँ खित्रो भुलेँ माघको
ज्वानोको पनि झोल बिर्सन पुगेँ चाका भुलेँ घारको
गाई गोठ र दूध सुद्घ घिउको बास्ना हरायो गयो
लिङ्गे पीङ भुलेँ भुलेँ सब कुरा भुल्नै नसक्ने थियो ।
तातो घाम पहारिलो शिशिरको गुन्द्री भुलेँ बिर्सिएँ
आगो ताप्न अगेनुमा पनि बसेँ पिर्का भुलेँ बिर्सिएँ
बिर्सें स्वाद कसार या अनरसा बिर्सें झिलैयाँ पनि
बिर्सें बिर्सि नसक्नुका सब कुरा बिर्सें कुरौनी पनि ।
मेलापात र अर्मपर्म दुखमा पैँचो दिने ल्याउने
बिर्सें रीत समाज गाउँघरमा जन्ती मलामी हुने
भाषा मौलिक बिर्सिएँ र गतिला संस्कार नै बिर्सिएँ
बिर्सें चाड विशेष संस्कृति सबै अध्याय नै बिर्सिएँ ।
बिर्सें सुक्ति र छन्द काव्य रसिला सौन्दर्यका साधक
बिर्सें वीर वीभूति नै मुलुकका आदर्शका नायक
द्यौडा घाटु र मारूनी छमछमी नाच्ने कलाका धनी
बिर्सें मादल खैँजडी र मुजुरा झ्याम्टा र ट्याम्को पनि ।
बिर्सें टोल छिमेक दावल सबै आफन्त नै बिर्सिएँ
बिर्सें मावल इष्टमित्र दुनियाँ नाता सबै बिर्सिएँ
नेपाली पन बिर्सिएँ र घरको माया भुलेँ बिर्सिएँ
बा आमा पनि बिर्सिएँ मुलुक नै कस्तो छ खै बिर्सिएँ
बिर्सें शिष्ट र नम्ररता सरलता शालीनता बिर्सिएँ
बिर्सें मानवता र लोक हितका दायित्व नै बिर्सिएँ
धर्ती पुत्र र देशको रगतको नाता भुलेँ बिर्सिएँ
पैसा मात्र छ जिन्दगी जगतमा बाँकी सबै बिर्सिएँ
३० र्सेप्टेम्बर २०१४
ज्याक्सनहाइट, न्यूयोर्क
Subscribe
Login
0 Comments
Oldest






































