शेषराज भट्टराईसुत्ने सुविधा
सरकारले चाहेमा सारा प्यारा जनतालाई सुती सुती खाने सुविधा दिन सक्छ । सुत्ने सुविधा पाएपछि कुन मुर्ख सुत्दैन ? सबै सुत्छन् । त्यो सुविधा अन्य राष्ट्रमा के छ तर हामी नेपालीहरूले पाएका छौं । नेपाल देशमा जुनसुकै जस्तोसुकै शक्तिशाली पार्टी सत्तामा गए पनि सुत्ने सुविधा दिन्छ दिन्छ । बरू खानपिन खुराक नदेला तर सुत्ने सुविधा चाहिँ अनिवार्य नै छ ।
सुत्ने सुविधा प्रशस्त पाएपछि मान्छेले सुताइको फाइदा उठाउँदै सर्वप्रथम सन्तानोत्पत्ति गर्दाे रहेछ । मान्छेको देशमा मान्छेकै अभाव नखड्कियोस् भन्नाको खातिर मान्छेले मान्छेलाई सुत्ने सुविधा दिन्छ । फिलिपिन्स भन्ने देशमा सरकारले सारा कर्मचारीलाई सकेको सन्तानोत्पत्ति गर भनेर दिनको एक बजेदेखि नै कर्मचारीलाई छुट्टी दिएर श्रीमतीपट्टि पर्किएर सुत्न सुझाव दिँदै हप्तामा थप दुई दिन छुट्टी दिन्छ भन्ने पढेको थिएँ । सन्तानको सङ्कट टार्न, सन्तानले डाँडाकाँडा हराभरा पार्न यस्तो उपाय अवलम्बन गर्ने गरिन्छ तर हाम्रो देश नेपालमा प्रत्यक्ष त्यस्तो सुविधा दिन सरकार लजाए पनि अप्रत्यक्ष रूपमा दैनिक उन्नाइस घण्टा लोसेडिङ गर्नुको मुख्य कारण त्यही हो ।
चौबिस घण्टामा उन्नाइस घण्टा अन्धकारमा बाँच्ने र नाच्ने अभ्यास गर्दै सन्तान दरसन्तानको दायरा बढाएको धेरै भयो । यस्तो सुविधा जनताले मागेर पाएका होइनन्, भाग्यमानी नेपाली जनताका थाप्लामा आफै बज्रपात भएको सुविधा हो यो ।
सुत्ने सुविधा दिएपछि उद्योगधन्दा, बन्द हुन्छ । कृषकहरू कोही हलगोरुले खेती गर्छन् अन्य सरकारी सुविधा केही लिँदैन भने त्यस्ता बनका काँडालाई भन्नु केही छैन । तर सरकारको काखमा बसेर यावत सुविधाको भर परिन्छ भने त्यो सुविधा लिने अनि ‘सुत्ने’ भनेर सरकारले उन्नाइस घण्टा लोडसेडिङ गरेको हो । कलकारखाना चौबिस घण्टा चल्दा त उठी उठी खान पुग्दैन भने जम्मा पाँच छ घण्टा चल्दा बत्ती बल्दा कसरी खान पुगोस् । खान पुग्दैन त्यसैले बाठो चतुरो सरकारले आम नागरिकलाई कठै भन्दै अन्धकारमा सुत्ने सुविधा दिएको छ ।
मान्छे सुँगुरभन्दा पनि ज्यादा सुतुवा प्राणी रहेछ भन्ने चाल पाएर बाठो सरकारले सारा जनतालाई सुताएर आफू एक तमासले देश चलाई राखेको छ । जसरी पनि देश चलाए त भैगयो नि । राम्रो नराम्रो इतिहासमा लेखिने र पछि देखिने कुरा हो । त्यसैले तत्काललाई सुत्ने सुविधाको प्रत्याभूति सुरक्षित गरेको छ र त्यसलाई हामी विद्यार्थी, प्राध्यापक, इन्जिनियर, शिक्षक, कर्मचारी व्यापारी हरपक्षबाट सदुपयोग चौबिसै घण्टा भई राखेको छ ।
उन्नाइस घण्टा लोडसेडिङमा सुत्दै ठिक्क हुन्छ । त्यसपछि उठेर सिदो पिठो सिठो खाँदा, न्वाई ध्वाई गर्दा अरू एक दुई घण्टा सिद्धिहाल्छ । बाँकी रहेको दुई तीन घण्टामा के कति काम गरिन्छ र देश उँभो लाग्छ । त्यसैले रेडियोले फलाक्ने गरेको विरह र वीररसका गीत गाउन मन लाग्छ ।
झन सम्झ्यो रून्छ मन
तल हेर्यो लीलावन
माथि हेर्यो तारे भीर
यो ज्यानलाई पर्नु पर्यो पीर
सुत्ने सुविधा पाउँदा पाउँदै पनि मान्छेमा अमनचयन छैन । सुतेर मात्र आराम नमिल्दो रहेछ । भोकले आन्द्रा बटारिएपछि मान्छेहरू सारङ्गी र सङ्गीतमा मन दिँदो रहेछ । त्यसैले आफू पनि अन्धकारमै भए पनि माथिका हरफहरू गुनगुनाउने गर्छु । सारा प्यारा सन्तानलाई यस गीतले मोहनी लगाएको छ तर देश चलाउने सरकारको मोहनी कहिल्यै लागेन । यस्तै लुते लिखुरे कछुवा गतिको सरकारको मति नफिरेपछि कसरी मोहनी लाग्छ । सरकारको नफ्रत गर्दागर्दा कति मरेर गइसके । नफ्रत गरेर बाँच्न विवश धेरै छन् । नफ्रतै नगरी धिपधिपे सरकारमा बर्तन थप्दै जगाइ राख्ने पनि थुप्रै छन् । यस्तै ताल बेतालमा दाल पकाएर खान हामी बाध्य होइन विवश छौं ।
सरकारले दिएको सुत्ने सुविधाको भरमार उपयोग गर्नु पर्छ । कोही निन्द्रा पु¥याउन सुत्छन् । कोही बिरामी परेर सुत्छन् । कोही सन्तान दर सन्तानको उत्तरोत्तर प्रगति खातिर सुत्छन् । कोही समय सिध्याउन सुत्छन् । कोही पैसा धन सम्पत्ति सिध्याउन सुत्छन् । कोही रमाइलोका लागि सुत्छन् । कोही टाउको हलुङ्गो गर्न सुत्छन् । कोही टाउको गरूङ्गो भएर सुत्छन् । कोही आरामका लागि सुत्छन् । यसरी सारा मस्ताराम निदाएको स्वर्णिम अवस्थामा देश चलाउन, सरकार चलाउन सजिलो हुने भएर नै सरकारले उन्नाइस घण्टा दैनिक विद्युत् कटौती गरेर अप्रत्यक्ष तथा अघोषित रूपमा देशको मेरुदण्ड अर्थतन्त्र नै भित्रैदेखि कटौती गरिरहेको सुत्ने सुविधामा मस्ताराम जनतालाई के थाहा ? तर साहित्यकार विचराहरूलाई पनि सुत्न विवश पारिँदा भने आफूलाई हिन्दी फिल्मको यो गीतको झल्को आइरहन्छ ।
करबटे बदल्ते रहे सारी रात हम
आऽपकी कसम आऽऽऽपकी कसम ।
फुलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































