उत्तमकृष्ण मजगैयाँ‘जुङेकाजी’लाई ‘खुल्केकाजीको’ खुल्लापत्र
प्रिय सम्पादक बन्धु
नमस्कार
उप्रान्त,
लेख–रचनाको आग्रह गरिएका धेरै पत्रहरू प्राप्त भए तर पट्याइएका पत्रका जति पत्र खोल्दा पनि खोजेको बस्तु भने पाउन सकिएन । उही के, महादेवका पनि त्रिनेत्र बल्ने अर्थदेव ! अब आफैँ भन्नुस् शितल मलमको अभावमा कलम बिचरो चलोस् त कसरी चलोस् ? मुटुको ढुकढुकी बढाउने मात्र होइन त्यसलाई लामो समयसम्म कायमै राख्ने बालो पनि त्यही नै होइन त ?
तपाईं भन्नुहोला “कस्तो लोभीपापी रहेछ बा ! साहित्य सेवा नभनेर मेवा र ढेवाकै मात्र कुरा गर्छ ।” तर तपाईंले रसभरी र कलाकन्द डकारिरहेको बेला म जस्तो आर्थिक बिलखमन्दमा परेको एउटा गरीब लेखक बाध्यतावश साँझ–बिहानको खर्चको रूप प्रायःजसो उसिनेका मीठा भ्याकुर वा आलु र पिँडालु खाँदै आँसु झरिरहेको हुन्छ भन्ने किन बिर्सन खोज्नुहुन्छ ? हुन त म यथार्थमा लेखक हुँ कि होइन मैलाई पनि शङ्का छ किनभने मेरी पत्नीले म “लेखक नै होइन” भन्ने ठहर गरेर ठूलो भ्रम सिर्जना गरिदिएकी छिन् । तर तपाईं जस्ता सम्पादकहरूले ‘लेखक’ को पगरी यसरी गुताइदिनुभयो कि त्यो झिकेर फाल्न खोज्दा पनि आफैँ उफ्रेर आई पुनः टाउकोमाथि थपक्क बसिदिन्छ । बरू टाउकोका सबै रौँ झरिसके तर यो त गह्रौँ भएर बसेको बस्यै छ ।
कुनै जागिर छैन, आउने बाटो सबैतिर बन्द छ, त्यसैले पत्नी र छोराछोरीको हाँसो पनि आजभोलि मन्द छ । पत्नी भन्छिन्– “लेखेर के पायौ ?” म नाजबाफ भएको देखेर उनको रबाफ अरू बढ्छ ! थप्छिन्– “कविको छवि पाएर बेलुनझै डम्म फुलेका महाशय ! अब कचौरा थापेर बस मन्दिरको पेटीमा ! यस्ता हुतिहारा र सरमछाडाले कलम नसमाएर के बन्दुक समाउला त ? केही वर्षभित्रै कसरी बन्यो त्यो आवारा, हरिलम्फू अन्तरेको भव्य घर सहरमाझमा थाहा छ ? समय चिन्न नसके सबैको दशा तिम्रैजस्तो हुन्छ, बुझ्यौ ?” साँच्चिकै कुरा बुझेर मेरो बखत बसेझैँ भयो, पटक्कै वाक्य फुटेन । तर म बोलूँ पनि के ? “पख् यो लेख छापियो भने प्रकाशकले पठाएको पारिश्रमिकले जाडोका लागि कम्बल किनौँला भनूँ कि गहना झम्काउलिस् नि मोरी !”– भनूँ ? कि “घर–घडेरी जोरौँला” नै भनिदिऊँ ? तर कल्पनाका लड्डू घिउसित कति ख्वाउँनु ? फेरि, उनले पत्याउने पनि होइनन् किनभने आजसम्म लेख–रचना छपाएर नाम पाइएको छ तर दाम पाइएको छैन, माम पाइएको छैन । जे पर्लापर्ला भनेर एउटा नाम चलेको पत्रिकाका सम्पादकसँग वाक्युद्ध गरेको त “कर्म गर्नुपर्छ तर फलको आशा गर्नुहुँदैन भन्ने गीताको महान् कथन नबुझेझैँ किन गरेको होला नि यति ठूला बुझक्कड लेखकले ?” भनेर निरुत्तर पारिदियो मलाई । “मोही खेती गर्छ– तल्सिङले भकारी भर्छ” भन्दै –“तिमीले पनि हामीलाई नै दुहुने त हौ !’ भनेर अर्को सम्पादकसित पुनः झोंक देखाएको त ऊ रिसाएर धूमचक्र ! “तिमीलाई सफल लेखक कसले बनायो ? हामीले नै होइन ? तिम्रा बाङ्गाटिङ्गामा अनगढ पत्थरजस्ता रचना सम्पादकको छेनीले नताछिँदै त्यसै सुन्दर बनेका छन् ? भाषा र हिज्जेसमेत नमिलेका अड्बाङ्गे तिम्रा रचनालाई यथार्थमा एउटा सम्पादकले नै उजिल्याउँछ र पठनीय बनाउँछ अन्यथा तिमी फुर्कने तिम्रा रचना त अगठित प्रारूप मात्रै हुन्– एकदम कच्चा पदार्थ ! तिम्रा रचनाको कुरूपतालाई हटाई सु्न्दर र प्रभावकारी बनाउने के हामी नै होइनौँ ?” भनेर बीच सडकमा हुर्मत नै लियो बा ! उसको कथन सुनेर पनि उझ ऊसित व्यर्थै तर्क गरिरह्यो भने उसले ख्वाउने त्यसदिनको चिया–समोसा पनि अलपत्र पर्न सक्ने सम्भावनाले चुप लाग्नु नै श्रेयकर ठहर्छ ।
मित्र ! यो तथ्य सयमा सय सत्य हो कि चारो विना कुखुरीको फूल पार्दैन, घाँस–कुँडोबिना भैँसीले दूध झार्दैन भने भोको पेटको लेखन्तेबाट मात्रै लेख–रचना कसरी झर्ला त ? हाम्रो देशमा नोटबिना भोट पाइँदैन भोजन विना भजन गाइँदैन भने भोकले सुन्न भएर अत्तालिएको गिदीबाट सुन्दर र सार्थक रचना स्वाट्ट निस्कलान् भनेर सोच्नु भूल होइन र ? दक्षिणाविना नै बाबुको श्राद्धसमेत सित्तैँमा गराउन पल्किएकाहरूले खाइमर्म विष पनि सित्तैमा देल् भनेर मागे जस्तै भएन र यो ? तर एकजना अर्का सम्पादकले छेपन हानिहाले– “जहाँ रवि पुग्न सक्तैन त्यहाँसमेत पुग्नसक्ने सरस्वतीले आशीर्वाद पाएका महान् कवि हो तपाईंहरूले जस्तै के रविले आफ्नो ताप र उज्यालोको मूल्य माग्छ ? के चन्द्रमाको शीतल चाँदनीको कर तिर्नुपर्छ ? सिरसिरे वायु र वसन्तको परिश्रमिक ठहर भएको छ र कतै ? तपाईंहरू जस्ता महान् व्यक्तित्वहरूको मुखबाट यस्ता हलुका प्रश्न निस्केपछि के व्यास र वाल्मीकिले समेत आँसु नझार्लान् त ? उनीहरूले आफ्ना रचनाको पारिश्रमिक माग गरेको त कुनै धर्मशास्त्रमा कतै उल्लेख भएकोजस्तो लाग्दैन मलाई !” खै के भनौं सम्पादक बन्धु ? यस्तै वाक्चातुर्यले गर्दा न तपाईंहरूका दसओटै औँला घिउमा छन् र टाउको समेत कराहीमा छ भने हाम्रै मुलुकमा एकजना महाकवि पनि थिए जसले एक सुकाको कागत किन्न नसकेर चुरोटको बट्टामा पनि कविता लेख्थे रे ! कसैकसैलाई छोडेर अधिकांशको आज पनि यस्तै अवस्था छ भन्न आनेकाने गरिरहनु परोइन ।
कुरा अन्य सम्पादकको मात्रै किन ? नाम गोत्र यौटै हो, तपाईंको विश्वास पनि कति गरूँ ? बरु तपाईंका लागि भने रेट अलि सस्तो गरूँला हुँदैन र ? चार आनाको मुक्तक, आठआनाको कविता, रुप्पेको लेख–कथा ! भन्नुस् तपाईंलाई के चाहियो ? टापटिपे चालु रचनाको मूल्य यस्तै हुन्छ हजुर ! गह्रुङ्गो रचना चाहिएको भए उचित मोल थप्नुस्– लिएर जानुस् ! माथि भनिए जस्तै एकमुठी चनाकै मूल्यको रचना हो भने फोनबाटै पनि भनिदिन सक्छु अन्यथा पहिले दाम पठाउनुस् र त्यसको वजन अनुसारकै काम पठाउनुस् । विशिष्ट रचना, त्यसमा पनि हास्यव्यङ्ग्य नै चाहिएको हो भने त पारिश्रमिक पनि दोब्बर गर्नु नै पर्छ किनभने हास्यव्यङ्ग्य रचना त्यसै सजिलैसित तयार हुन्छ भन्ने ठान्नु भा’छ ? मन जलाउनुपर्छ मन, बुझ्नु भो ? परिस्थितिको प्रभावले पहिले मनमा आँधीबेरी चल्नुपर्छ, हृदय जल्नुपर्छ अनि मात्र सुराक लगाएर खुराक पु¥याउनु सकिन्छ सच्चा हास्यव्यङ्ग्यको ! आफू रोएर पनि अरूलाई हँसाउन सुरिनु कम कष्टदायक हो र ? साँच्चिकै भनूँ भने गएको दसैँमा समेत जिउको भोटी–लङ्गौटी केही फेर्न पाइएको होइन । दुर्भाग्यले यसपालि ससुरालीमा जूठो परेर टीकाटाला पनि केही गरेनन् । सम्पादक प्रकाशकहरूले पारिश्रमिक नै पठाएनन् । त्यसैले मेरो आँसु झरेको झ¥यै भयो । तर यी आँसुलाई पनि तपाईंहरूले “हास्यव्यङ्ग्यको सुन्दर नमूना” भनेर मेरा सबै समस्यालाई ‘माछो–माछो–भ्याउतो’ बनाई उडाइदिन खोज्नुभएपछि अब कसलाई भनूँ त, के भनूँ ? “आगोमा बेस्सरी खारिएर मात्र सुन कञ्चन बनेझैँ दुःखमा नखारिएर त्यसै राम्रो लेखक भइन्छ ? देवकोटा, भूपि त्यसै महान् बनेका हुन् र ? अभावरूपी अग्नि–ज्वालामा पिल्सिएर मात्रै उज्याला नक्षत्र बनेका छन् यिनीहरू, बाबू ! लेखक–कविहरूको जीवनमा अनगिन्ती दुःखै दुःख ओइरिनुपर्छ यति भएर मात्रै उनको लेखनीबाट अनमोल रत्न निस्कको त्यस्ता रचना मात्रै बढी यथार्थवादी र विशिष्ट बन्न सक्छन् । समुन्द्रको सीपीमा बालुवाको कण नबल्झिँदै अनमोल मोती बन्छ र ?”– भनेर एकजना लालबुझक्कडले गरेको विचित्र व्याख्या पनि मेरा यिनै कानले सुन्नुप¥यो । सम्झेँ– भानुभक्तलाई कालकोठरीमा बन्दी बनाइएको, देवकोटा र भक्तराजलाई क्यान्सरले मारेको पारिजात जीवनभरि कुँजी भएर बाँच्नुपरेको, भैरवले ज्यान हत्ते हाल्नुपरेको !’ तर आजको लेखक त्यसरी मर्न चाहन्न बन्धु !
समाजमा विद्यमान अडबाङ्गे प्रवृत्ति र यस्ता विकृत सोचका विरुद्ध नलेख्दै लेखकहरूलाई मर्न पनि नपरोस् ! बरु टन्न खान नपाएर नअघाउलान् तर उनीहरू आफ्नो लेखनीद्वारा अघाउञ्जेल यस्ता विसङ्गति र विपर्यासको विरोध भने गर्छन् गर्छन् । दुनियाँ बरु लूट मच्चाउँदै सूट–सूट लाएर चिल्लो गाडीमै सलल्ल बगून् तर लेखक भोको पेटमै लेखेर झुत्रो लाएरै अग्लिन्छ । भ्रममा नरहनुहोला– हाम्रा आदरणीय महाकविहरू पनि तपाईंहरू जस्तालाई चुनौती दिँदै बरु भोकै लेखेर सगरमाथा बनेका हुन्, तपाईंहरूले गालेर अर्काथरी सुन बनाइएका होइनन् भन्ने हेक्का राख्नुहोला !
बन्धु ! पत्याउनुहुन्छ भने यत्रतत्र सर्वत्र यस्तै विसङ्गति र बेथिति देखेर म धेरै वर्षदेखि रोएको रोयै छु । वास्तवमा यस अवधिमा मेरो आँसु यति धेरै बग्यो जसको भेलमा हाम्रा इन्जिनियरहरूले बनाएका बतासे पुल–बाँध, सीमा–साँध सबै डुबे, बगे । अब आफै भन्नोस्, म हाम्रा चञ्चल–चलायमान जङ्गेखम्बा देखेर हाँसूँ कि सीमामै हाम्रा छिमेकी मित्रहरूले बनाएका नेपालका गाउँ डुबाउने बाँध देखेर खिलखिलाऊँ ? हाँस्नका लागि तपाईंका मठारिएका जुँगा नदेखेको पनि एक युग बितिसक्यो, बटारिएका तन्नेरी पाँसुला पनि विदेश ओह्रालो लागिसके, रोदीघरका तरुना–तरुनीहरू विभिन्न बहानामा दिल्ली–बम्बै भागिसके । अब तरुनी बिना मारुनी कसरी नाच्ने ? टप्पा ठप्प भइसक्यो, झाम्रे चाम्रिसक्यो, भाँच्चिएको मन लिएर मैले कसरी कम्मर भाँच्ने मेलामा ? ओहो मित्र ! मेरा आँखा फेरि रसाएर आए है तर तपार्इं भने मबाट हास्यव्यङ्ग्य नै खोज्नुहुन्छ !
म के गरूँ ? विसङ्गति खोज्दै जाँदा आफ्नै फाटेको लँगौटीमा दृष्टि अड्छ । अब आफैँ भन्नुहोस् म कसरी मीठो व्यङ्ग्य लेखूँ र आँसुमा पनि हास्य देखूँ ? यथार्थमा द्रव्य–उर्जा नभएर नै मनका पूर्जाले काम गर्न सकेका छैनन् भन्दा रिस पो उठ्ने हो कि जुङेकाजीको ? तर पेटभित्र खाना….दाना नपर्दै गाना– तराना नछुट्ने भो के गर्ने ? हुन त यो नेपाल हो र यहाँका धेरैजसो लेखक–कलाकारहरू म जस्तै हावा मात्र खाएर पनि बाँच्न सकेको मैले देखेको छु, जसरी यहाँका किसान–मजदूरहरू रगत बिना पनि बाँच्न सकेका छन् तर ठूलाबडा भनाउँदाहरू भने नगद बिना जगत् छाड्छन् । सित्तैँमा खान पल्केका समयअनुसार कहिले यता ढल्केका, कहिले उता ढल्केका कहिलेकाहीँ त सरकारी ढुकुटीतिर पनि सल्केका हाम्रै वरिपरि रहेका केही साहित्यकार, पत्रकार र सम्पादक प्रकाशकहरूलाई पनि मैले राम्ररी चिनेको छु । पारिश्रमिक बिना नै श्रमिकको पसिनामा असिना बर्साउने, “ठूला लेखक” भनेर फुक्र्याउने तैपनि काम बनेन भने “मसित अदृश्य शक्ति छ” भनेर तर्साउने जे पनि गर्न सक्छन् यिनीहरू ! यिनले जसरी भए पनि लिन जानेका छन् तर दिन भने पटक्कै जानेका छैनन् । तपाईंले पनि भोको भाषा खै के कति बुझ्नु भएको छ कुन्नि ? हेर्न समय पर्खेको छु ।
बन्धु ! मलाई थाहा छ रचना कलामा नाच्छ तर यो निमुखो ज्यान त पहिले एक मुठी कलोमै बाँच्छ नि ! पत्नीले आँखा तरेर दिएको आटो आलुलाई मैले “कलो” नै भन्न उचित ठानेको छु । मैले छप्पनभोगको आशा गरेको पनि कहाँ हो र सम्पादकज्यू ? तर नित्य साँझबिहान चुलोमाथि ताउली नताते त्यही आटो–जाउली पनि पाक्दैन के गरूँ ? त्यसैले दाम बिनाको चिठ्ठीको खामको के काम बन्धु ? माल दिनुस् अनि कमालको रचना लिनुस् ! (प्रिय पाठक बन्धु ! तपाईंहरूले पनि “कस्तो लोभी लेखन्ते रहेछ !” भन्न खोज्नुभएको छ भने कृपया मैले जस्तै पहिले दुईचार छाकको भोकको अनुभव गर्न चाहिँ नभुल्नुहोला है !)
केही बढी नै भनियो जस्तो ठानेर प्रिय सम्पादक बन्धुलाई मेरा कुरा तितो लागे जस्तै छ तर पनि अन्तिममा यो सोधी नै हालूँ– के तपाईंहरू कागतको पैसा तिर्नुहुन्न ? वितरकको कमिसन दिनुहुन्न ? जब सबैको निश्चित रेट छ भने किन रेट्न खोज्नुहुन्छ त हामी लेखन्तेहरूकै घाँटी ? ज्यादै रिसाएर तपाईंले “जा मूला ! अब तेरो लेखसेख केही चाहिँदैन, तँ मात्रै लेखक होइनस् ! यहाँ लेख्नेहरूको कुनै कमी छैन बुझिस् ?” भन्न पनि सक्नुहुन्छ । तर यस मुलुकमा भूँडी नै नभएका लेखक–कलाकारहरू को को रहेछन् बरु आगामी अङ्कमा त्यस्ता नामहरूको सूची छाप्न चाहिँ नबिर्सनु होला है ! त्यस्ता बूढाको विचित्र रचनाको चमत्कार हेर्न म पनि उत्सुक छु । लौ त ! अहिलेलाई यत्ति नै ! तपाईंको पत्रको प्रतीक्षामा ! …
तपाईंकै खुल्केकाजी
‘मधुपर्क’ हास्यव्यङ्ग्य अङ्क २०६० भदौ
Subscribe
Login
0 Comments
Oldest







































