साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘जुङेकाजी’लाई ‘खुल्केकाजीको’ खुल्लापत्र

Nepal Telecom ad

प्रिय सम्पादक बन्धु
नमस्कार

उप्रान्त,
लेख–रचनाको आग्रह गरिएका धेरै पत्रहरू प्राप्त भए तर पट्याइएका पत्रका जति पत्र खोल्दा पनि खोजेको बस्तु भने पाउन सकिएन । उही के, महादेवका पनि त्रिनेत्र बल्ने अर्थदेव ! अब आफैँ भन्नुस् शितल मलमको अभावमा कलम बिचरो चलोस् त कसरी चलोस् ? मुटुको ढुकढुकी बढाउने मात्र होइन त्यसलाई लामो समयसम्म कायमै राख्ने बालो पनि त्यही नै होइन त ?

तपाईं भन्नुहोला “कस्तो लोभीपापी रहेछ बा ! साहित्य सेवा नभनेर मेवा र ढेवाकै मात्र कुरा गर्छ ।” तर तपाईंले रसभरी र कलाकन्द डकारिरहेको बेला म जस्तो आर्थिक बिलखमन्दमा परेको एउटा गरीब लेखक बाध्यतावश साँझ–बिहानको खर्चको रूप प्रायःजसो उसिनेका मीठा भ्याकुर वा आलु र पिँडालु खाँदै आँसु झरिरहेको हुन्छ भन्ने किन बिर्सन खोज्नुहुन्छ ? हुन त म यथार्थमा लेखक हुँ कि होइन मैलाई पनि शङ्का छ किनभने मेरी पत्नीले म “लेखक नै होइन” भन्ने ठहर गरेर ठूलो भ्रम सिर्जना गरिदिएकी छिन् । तर तपाईं जस्ता सम्पादकहरूले ‘लेखक’ को पगरी यसरी गुताइदिनुभयो कि त्यो झिकेर फाल्न खोज्दा पनि आफैँ उफ्रेर आई पुनः टाउकोमाथि थपक्क बसिदिन्छ । बरू टाउकोका सबै रौँ झरिसके तर यो त गह्रौँ भएर बसेको बस्यै छ ।

कुनै जागिर छैन, आउने बाटो सबैतिर बन्द छ, त्यसैले पत्नी र छोराछोरीको हाँसो पनि आजभोलि मन्द छ । पत्नी भन्छिन्– “लेखेर के पायौ ?” म नाजबाफ भएको देखेर उनको रबाफ अरू बढ्छ ! थप्छिन्– “कविको छवि पाएर बेलुनझै डम्म फुलेका महाशय ! अब कचौरा थापेर बस मन्दिरको पेटीमा ! यस्ता हुतिहारा र सरमछाडाले कलम नसमाएर के बन्दुक समाउला त ? केही वर्षभित्रै कसरी बन्यो त्यो आवारा, हरिलम्फू अन्तरेको भव्य घर सहरमाझमा थाहा छ ? समय चिन्न नसके सबैको दशा तिम्रैजस्तो हुन्छ, बुझ्यौ ?” साँच्चिकै कुरा बुझेर मेरो बखत बसेझैँ भयो, पटक्कै वाक्य फुटेन । तर म बोलूँ पनि के ? “पख् यो लेख छापियो भने प्रकाशकले पठाएको पारिश्रमिकले जाडोका लागि कम्बल किनौँला भनूँ कि गहना झम्काउलिस् नि मोरी !”– भनूँ ? कि “घर–घडेरी जोरौँला” नै भनिदिऊँ ? तर कल्पनाका लड्डू घिउसित कति ख्वाउँनु ? फेरि, उनले पत्याउने पनि होइनन् किनभने आजसम्म लेख–रचना छपाएर नाम पाइएको छ तर दाम पाइएको छैन, माम पाइएको छैन । जे पर्लापर्ला भनेर एउटा नाम चलेको पत्रिकाका सम्पादकसँग वाक्युद्ध गरेको त “कर्म गर्नुपर्छ तर फलको आशा गर्नुहुँदैन भन्ने गीताको महान् कथन नबुझेझैँ किन गरेको होला नि यति ठूला बुझक्कड लेखकले ?” भनेर निरुत्तर पारिदियो मलाई । “मोही खेती गर्छ– तल्सिङले भकारी भर्छ” भन्दै –“तिमीले पनि हामीलाई नै दुहुने त हौ !’ भनेर अर्को सम्पादकसित पुनः झोंक देखाएको त ऊ रिसाएर धूमचक्र ! “तिमीलाई सफल लेखक कसले बनायो ? हामीले नै होइन ? तिम्रा बाङ्गाटिङ्गामा अनगढ पत्थरजस्ता रचना सम्पादकको छेनीले नताछिँदै त्यसै सुन्दर बनेका छन् ? भाषा र हिज्जेसमेत नमिलेका अड्बाङ्गे तिम्रा रचनालाई यथार्थमा एउटा सम्पादकले नै उजिल्याउँछ र पठनीय बनाउँछ अन्यथा तिमी फुर्कने तिम्रा रचना त अगठित प्रारूप मात्रै हुन्– एकदम कच्चा पदार्थ ! तिम्रा रचनाको कुरूपतालाई हटाई सु्न्दर र प्रभावकारी बनाउने के हामी नै होइनौँ ?” भनेर बीच सडकमा हुर्मत नै लियो बा ! उसको कथन सुनेर पनि उझ ऊसित व्यर्थै तर्क गरिरह्यो भने उसले ख्वाउने त्यसदिनको चिया–समोसा पनि अलपत्र पर्न सक्ने सम्भावनाले चुप लाग्नु नै श्रेयकर ठहर्छ ।

मित्र ! यो तथ्य सयमा सय सत्य हो कि चारो विना कुखुरीको फूल पार्दैन, घाँस–कुँडोबिना भैँसीले दूध झार्दैन भने भोको पेटको लेखन्तेबाट मात्रै लेख–रचना कसरी झर्ला त ? हाम्रो देशमा नोटबिना भोट पाइँदैन भोजन विना भजन गाइँदैन भने भोकले सुन्न भएर अत्तालिएको गिदीबाट सुन्दर र सार्थक रचना स्वाट्ट निस्कलान् भनेर सोच्नु भूल होइन र ? दक्षिणाविना नै बाबुको श्राद्धसमेत सित्तैँमा गराउन पल्किएकाहरूले खाइमर्म विष पनि सित्तैमा देल् भनेर मागे जस्तै भएन र यो ? तर एकजना अर्का सम्पादकले छेपन हानिहाले– “जहाँ रवि पुग्न सक्तैन त्यहाँसमेत पुग्नसक्ने सरस्वतीले आशीर्वाद पाएका महान् कवि हो तपाईंहरूले जस्तै के रविले आफ्नो ताप र उज्यालोको मूल्य माग्छ ? के चन्द्रमाको शीतल चाँदनीको कर तिर्नुपर्छ ? सिरसिरे वायु र वसन्तको परिश्रमिक ठहर भएको छ र कतै ? तपाईंहरू जस्ता महान् व्यक्तित्वहरूको मुखबाट यस्ता हलुका प्रश्न निस्केपछि के व्यास र वाल्मीकिले समेत आँसु नझार्लान् त ? उनीहरूले आफ्ना रचनाको पारिश्रमिक माग गरेको त कुनै धर्मशास्त्रमा कतै उल्लेख भएकोजस्तो लाग्दैन मलाई !” खै के भनौं सम्पादक बन्धु ? यस्तै वाक्चातुर्यले गर्दा न तपाईंहरूका दसओटै औँला घिउमा छन् र टाउको समेत कराहीमा छ भने हाम्रै मुलुकमा एकजना महाकवि पनि थिए जसले एक सुकाको कागत किन्न नसकेर चुरोटको बट्टामा पनि कविता लेख्थे रे ! कसैकसैलाई छोडेर अधिकांशको आज पनि यस्तै अवस्था छ भन्न आनेकाने गरिरहनु परोइन ।

कुरा अन्य सम्पादकको मात्रै किन ? नाम गोत्र यौटै हो, तपाईंको विश्वास पनि कति गरूँ ? बरु तपाईंका लागि भने रेट अलि सस्तो गरूँला हुँदैन र ? चार आनाको मुक्तक, आठआनाको कविता, रुप्पेको लेख–कथा ! भन्नुस् तपाईंलाई के चाहियो ? टापटिपे चालु रचनाको मूल्य यस्तै हुन्छ हजुर ! गह्रुङ्गो रचना चाहिएको भए उचित मोल थप्नुस्– लिएर जानुस् ! माथि भनिए जस्तै एकमुठी चनाकै मूल्यको रचना हो भने फोनबाटै पनि भनिदिन सक्छु अन्यथा पहिले दाम पठाउनुस् र त्यसको वजन अनुसारकै काम पठाउनुस् । विशिष्ट रचना, त्यसमा पनि हास्यव्यङ्ग्य नै चाहिएको हो भने त पारिश्रमिक पनि दोब्बर गर्नु नै पर्छ किनभने हास्यव्यङ्ग्य रचना त्यसै सजिलैसित तयार हुन्छ भन्ने ठान्नु भा’छ ? मन जलाउनुपर्छ मन, बुझ्नु भो ? परिस्थितिको प्रभावले पहिले मनमा आँधीबेरी चल्नुपर्छ, हृदय जल्नुपर्छ अनि मात्र सुराक लगाएर खुराक पु¥याउनु सकिन्छ सच्चा हास्यव्यङ्ग्यको ! आफू रोएर पनि अरूलाई हँसाउन सुरिनु कम कष्टदायक हो र ? साँच्चिकै भनूँ भने गएको दसैँमा समेत जिउको भोटी–लङ्गौटी केही फेर्न पाइएको होइन । दुर्भाग्यले यसपालि ससुरालीमा जूठो परेर टीकाटाला पनि केही गरेनन् । सम्पादक प्रकाशकहरूले पारिश्रमिक नै पठाएनन् । त्यसैले मेरो आँसु झरेको झ¥यै भयो । तर यी आँसुलाई पनि तपाईंहरूले “हास्यव्यङ्ग्यको सुन्दर नमूना” भनेर मेरा सबै समस्यालाई ‘माछो–माछो–भ्याउतो’ बनाई उडाइदिन खोज्नुभएपछि अब कसलाई भनूँ त, के भनूँ ? “आगोमा बेस्सरी खारिएर मात्र सुन कञ्चन बनेझैँ दुःखमा नखारिएर त्यसै राम्रो लेखक भइन्छ ? देवकोटा, भूपि त्यसै महान् बनेका हुन् र ? अभावरूपी अग्नि–ज्वालामा पिल्सिएर मात्रै उज्याला नक्षत्र बनेका छन् यिनीहरू, बाबू ! लेखक–कविहरूको जीवनमा अनगिन्ती दुःखै दुःख ओइरिनुपर्छ यति भएर मात्रै उनको लेखनीबाट अनमोल रत्न निस्कको त्यस्ता रचना मात्रै बढी यथार्थवादी र विशिष्ट बन्न सक्छन् । समुन्द्रको सीपीमा बालुवाको कण नबल्झिँदै अनमोल मोती बन्छ र ?”– भनेर एकजना लालबुझक्कडले गरेको विचित्र व्याख्या पनि मेरा यिनै कानले सुन्नुप¥यो । सम्झेँ– भानुभक्तलाई कालकोठरीमा बन्दी बनाइएको, देवकोटा र भक्तराजलाई क्यान्सरले मारेको पारिजात जीवनभरि कुँजी भएर बाँच्नुपरेको, भैरवले ज्यान हत्ते हाल्नुपरेको !’ तर आजको लेखक त्यसरी मर्न चाहन्न बन्धु !
समाजमा विद्यमान अडबाङ्गे प्रवृत्ति र यस्ता विकृत सोचका विरुद्ध नलेख्दै लेखकहरूलाई मर्न पनि नपरोस् ! बरु टन्न खान नपाएर नअघाउलान् तर उनीहरू आफ्नो लेखनीद्वारा अघाउञ्जेल यस्ता विसङ्गति र विपर्यासको विरोध भने गर्छन् गर्छन् । दुनियाँ बरु लूट मच्चाउँदै सूट–सूट लाएर चिल्लो गाडीमै सलल्ल बगून् तर लेखक भोको पेटमै लेखेर झुत्रो लाएरै अग्लिन्छ । भ्रममा नरहनुहोला– हाम्रा आदरणीय महाकविहरू पनि तपाईंहरू जस्तालाई चुनौती दिँदै बरु भोकै लेखेर सगरमाथा बनेका हुन्, तपाईंहरूले गालेर अर्काथरी सुन बनाइएका होइनन् भन्ने हेक्का राख्नुहोला !

बन्धु ! पत्याउनुहुन्छ भने यत्रतत्र सर्वत्र यस्तै विसङ्गति र बेथिति देखेर म धेरै वर्षदेखि रोएको रोयै छु । वास्तवमा यस अवधिमा मेरो आँसु यति धेरै बग्यो जसको भेलमा हाम्रा इन्जिनियरहरूले बनाएका बतासे पुल–बाँध, सीमा–साँध सबै डुबे, बगे । अब आफै भन्नोस्, म हाम्रा चञ्चल–चलायमान जङ्गेखम्बा देखेर हाँसूँ कि सीमामै हाम्रा छिमेकी मित्रहरूले बनाएका नेपालका गाउँ डुबाउने बाँध देखेर खिलखिलाऊँ ? हाँस्नका लागि तपाईंका मठारिएका जुँगा नदेखेको पनि एक युग बितिसक्यो, बटारिएका तन्नेरी पाँसुला पनि विदेश ओह्रालो लागिसके, रोदीघरका तरुना–तरुनीहरू विभिन्न बहानामा दिल्ली–बम्बै भागिसके । अब तरुनी बिना मारुनी कसरी नाच्ने ? टप्पा ठप्प भइसक्यो, झाम्रे चाम्रिसक्यो, भाँच्चिएको मन लिएर मैले कसरी कम्मर भाँच्ने मेलामा ? ओहो मित्र ! मेरा आँखा फेरि रसाएर आए है तर तपार्इं भने मबाट हास्यव्यङ्ग्य नै खोज्नुहुन्छ !

म के गरूँ ? विसङ्गति खोज्दै जाँदा आफ्नै फाटेको लँगौटीमा दृष्टि अड्छ । अब आफैँ भन्नुहोस् म कसरी मीठो व्यङ्ग्य लेखूँ र आँसुमा पनि हास्य देखूँ ? यथार्थमा द्रव्य–उर्जा नभएर नै मनका पूर्जाले काम गर्न सकेका छैनन् भन्दा रिस पो उठ्ने हो कि जुङेकाजीको ? तर पेटभित्र खाना….दाना नपर्दै गाना– तराना नछुट्ने भो के गर्ने ? हुन त यो नेपाल हो र यहाँका धेरैजसो लेखक–कलाकारहरू म जस्तै हावा मात्र खाएर पनि बाँच्न सकेको मैले देखेको छु, जसरी यहाँका किसान–मजदूरहरू रगत बिना पनि बाँच्न सकेका छन् तर ठूलाबडा भनाउँदाहरू भने नगद बिना जगत् छाड्छन् । सित्तैँमा खान पल्केका समयअनुसार कहिले यता ढल्केका, कहिले उता ढल्केका कहिलेकाहीँ त सरकारी ढुकुटीतिर पनि सल्केका हाम्रै वरिपरि रहेका केही साहित्यकार, पत्रकार र सम्पादक प्रकाशकहरूलाई पनि मैले राम्ररी चिनेको छु । पारिश्रमिक बिना नै श्रमिकको पसिनामा असिना बर्साउने, “ठूला लेखक” भनेर फुक्र्याउने तैपनि काम बनेन भने “मसित अदृश्य शक्ति छ” भनेर तर्साउने जे पनि गर्न सक्छन् यिनीहरू ! यिनले जसरी भए पनि लिन जानेका छन् तर दिन भने पटक्कै जानेका छैनन् । तपाईंले पनि भोको भाषा खै के कति बुझ्नु भएको छ कुन्नि ? हेर्न समय पर्खेको छु ।

बन्धु ! मलाई थाहा छ रचना कलामा नाच्छ तर यो निमुखो ज्यान त पहिले एक मुठी कलोमै बाँच्छ नि ! पत्नीले आँखा तरेर दिएको आटो आलुलाई मैले “कलो” नै भन्न उचित ठानेको छु । मैले छप्पनभोगको आशा गरेको पनि कहाँ हो र सम्पादकज्यू ? तर नित्य साँझबिहान चुलोमाथि ताउली नताते त्यही आटो–जाउली पनि पाक्दैन के गरूँ ? त्यसैले दाम बिनाको चिठ्ठीको खामको के काम बन्धु ? माल दिनुस् अनि कमालको रचना लिनुस् ! (प्रिय पाठक बन्धु ! तपाईंहरूले पनि “कस्तो लोभी लेखन्ते रहेछ !” भन्न खोज्नुभएको छ भने कृपया मैले जस्तै पहिले दुईचार छाकको भोकको अनुभव गर्न चाहिँ नभुल्नुहोला है !)

केही बढी नै भनियो जस्तो ठानेर प्रिय सम्पादक बन्धुलाई मेरा कुरा तितो लागे जस्तै छ तर पनि अन्तिममा यो सोधी नै हालूँ– के तपाईंहरू कागतको पैसा तिर्नुहुन्न ? वितरकको कमिसन दिनुहुन्न ? जब सबैको निश्चित रेट छ भने किन रेट्न खोज्नुहुन्छ त हामी लेखन्तेहरूकै घाँटी ? ज्यादै रिसाएर तपाईंले “जा मूला ! अब तेरो लेखसेख केही चाहिँदैन, तँ मात्रै लेखक होइनस् ! यहाँ लेख्नेहरूको कुनै कमी छैन बुझिस् ?” भन्न पनि सक्नुहुन्छ । तर यस मुलुकमा भूँडी नै नभएका लेखक–कलाकारहरू को को रहेछन् बरु आगामी अङ्कमा त्यस्ता नामहरूको सूची छाप्न चाहिँ नबिर्सनु होला है ! त्यस्ता बूढाको विचित्र रचनाको चमत्कार हेर्न म पनि उत्सुक छु । लौ त ! अहिलेलाई यत्ति नै ! तपाईंको पत्रको प्रतीक्षामा ! …

तपाईंकै खुल्केकाजी

‘मधुपर्क’ हास्यव्यङ्ग्य अङ्क २०६० भदौ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
0
Would love your thoughts, please comment.x
()
x