नन्दलाल आचार्यआँसुकविको कहिरन !
हैन हौ ! मैले त सुनेको
मनमा पनि गुनेको
तँ त आँसुकवि भइस् रे,
थरीथरीका पाठकलार्ई
पुर्पुरैमा हात राख्ने बनाइस् रे ।
तेरा बाउ त हलो–कोदालो गर्थे
आमा बाख्रापाठा स्याहार्थिन्,
दिदी–दाजु अर्काको बनिबुतोमा जान्थे,
तिनीहरूको शरीरमा पसिना मात्र हुन्थ्यो
अमिल्चो गन्ध पसिनाकै आउँथ्यो ।
तँ मात्र कसरी आँसुकवि बनिस् ?
कि आँखामा छारो हाल्ने सूत्र नै घोकिस् ?
आँखामा आँसु हुने मान्छे कवि भयो भने
त्यही नै आँसुकवि कहलाउँछ,
पसिनाको खानी भएका बाउआमाले
कसरी आँसु जमाउन सक्छन् ?
कि हातमा कलम हुनेले
आफूलाई जे पनि बनाउन सक्छन् ?
नत्र, बात मारे पनि कविता
गाली गरे पनि कविता
उठे पनि कविता
सुते पनि कविता
हैन हौ ! कवितालाई कत्ति सस्तो बनाउँछस् ?
जय होस् तेरो,
चित्त दुखे पनि कविता फुर्छ,
चित्त भरिए पनि कविता आउँछ,
खोयाबिक्रेको रनाहा हुँदा
अझ कविता नै ओछ्यानमा पुग्छ ।
अझ, नयाँ–नयाँ कविको
नयाँ–नयाँ पुस्तक हात परिञ्जेल
तँ त आँसु नै आँसुको कवि बन्छस्,
एकै रातमा आठ–दशटा उतार्न भ्याउँछस् ।
महावीर मावि, बिषहरिया–४, सप्तरी
Subscribe
Login
0 Comments
Oldest









































