ललिता ‘दोषी’दधीचि काठमाडौँ
जुन थालमा खायो हजुर त्यही थालमा थुक्यो
जसको काखमा बसेको छ त्यसैलाई घुक्यो
मलाई नै दुर्मति, बेइमान भन्दै फुक्यो
गाउँफर्क इमान देखाई भन्दा यहीँ लुक्यो ।
सर्वाङ्ग नाङ्गो बनी सबै दिए हजुर !
सुख शान्ति सर्वस्व दिनु भयो कि है कसूर ?
मुखमा भने रामराम बगलीमा छुरा
जसको सिता खाएका छौ त्यसकै काट्छौ कुरा ।
सुन्दर थिएँ, शान्त थिएँ, बग्थेँ कलकल
च्याउजस्तै उर्मिएका थिएनन् है घर
लहलह धान झुल्थे तोरी फुल्थे त्यस्तै
सबैसबै भन्ने गर्थे स्वर्ग होला यस्तै ।
नाङ्गो खुट्टा, नाङ्गो आङ लिई आयौ तिमी
मेरै दयामायाले बन्यौ रिमीझिमी
सर्प रहेछौ मलाई डस्ने दूध दिए हाय !
गाउँ फर्क मेरोभन्दा गाउँको माया भए ।
मेरै छाती कुल्चेका छौ मलाई रोप्छौ छुरा
कठै ! तिमीले छोडी आयौ गाउँमा बूढा लुला
सक्ने भए फर्क गाउँ त्यहीँ बाल बत्ती
बसेकै डुङ्गा प्वाल पार्ने कस्तो हौ असत्ती ?
इमान लेख, इमान बोल, इमानले न्वाऊ
साँच्चै गाउँको माया भए त्यतैतिर जाऊ
मेरै लाम्टा लुछाचुँडी उल्टै धस्छौ घुँडा ?
भन मेरो सुन्दरता कसले हो चुँ’डा ?
औकातमा रही मात्र छ्याप्नू तिमीले हिलो
मैले त समान रूपले बाँडेको हुँ कुलो
निकम्मा र बेइमान भन्दै नछ्याप्नु है धूलो
दधीचि हुँ काठ्माडौँ म किमार्थ होइन अपूरो ।
बुद्धनगर काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest







































