विमल निभाश्रीमान चप्रसाद र फिप्टिन परसेन्ट कमरेड
हाम्रो चालु लोकतन्त्रको आख्यानात्मक उत्पादन दुई स–साना कथा अर्थात् नाताकथाहरू– असलमा एउटै कथा–नमुनाको रूपमा प्रस्तुत ।
साढु भाइ
एकादेशका श्रीमान चप्रसाद पहिले आफ्नो पार्टीको देउवा गुटमा थिए । त्यहाँबाट कुनै फाइदा नभएकोले गिरिजा गुटमा आए । तर गिरिजा गुटबाट पनि कुनै खास प्राप्ति भएन । उनीसँगैका साथीभाइहरू धमाधम ठूलठूला पदमाथि पद पड्काइरहेका थिए भने श्रीमान चप्रसाद उस्ताको उस्तै ! उनले पार्टीका माथिल्ला नेताहरूकहाँ चाकरी, चाप्लुसी र चुक्ली कम्ती गरेका थिएनन् । एक हिसाबले बेसी नै गरेका थिए । कहाँसम्म भने झन्डै गिरिजा गुटको सबभन्दा महत्त्वपूर्ण सुजाता उपगुटसम्म पुगिसकेका थिए, श्रीमान चप्रसाद । तैपनि हातमा लागि शून्य !
आखिरमा केही नलागेर एकदम भारी मनका साथ श्रीमान चप्रसाद आफ्नो पुरानै गुट देउवा गुटमा र्फके । तर यतिन्जेलसम्म देउवा गुटको हैसियत पार्टीमा झन् खस्किसकेकोले फेरि पनि उनले केही हासिल गर्न पाएनन् । त्यसैले आफ्नो दयनीय अवस्था हेरेर भित्र–भित्र छट्पटाइरहेका थिए, श्रीमान चप्रसाद ।
“थापा पाउनुभयो, चप्रसादजी ?” एकदिन उनको मोबाइल फोनको घन्टी बज्यो ।
“के चालिसेजी ?” श्रीमान चप्रसादले उदासीन स्वरमा सोधे ।
“साँच्चै तपाईलाई केही थाहा छैन ?”
“होइन, के भन्न खोजिरहनुभएको छ तपाई ?”
“श्रीमान मकुमार मन्त्री पदमा बहाली हुनुभएको छ नि !”
“ए हो र चालिसेजी ?” श्रीमान चप्रसादको मनको घन्टी पनि टिनिनिनी गर्न थाल्यो ।
“भर्खरै घोषणा भएको छ ।” उताबाट हाँसोको साथ भनियो, “नेपाल टेलिभिजनको साढे दस बजेको समाचार बुलेटिन हेर्नाेस् त !”
श्रीमान चप्रसादका निम्ति शुभसमाचार थियो यो । किनभने वर्तमान सुशील कोइराला सरकारमा फुलमन्त्री बनेका श्रीमान मकुमार अरु कोही नभएर उनको साढुदाइ हुन् । यसको मतलव उनी मन्त्री श्रीमान मकुमारका साढुभाइ । यो भन्दा अरु खुसीको कुरा के हुनसक्छ ? तर यो खुसीको बेलामा एउटा अप्ठ्यारो के देखियो भने श्रीमान चप्रसादका साढुदाइ श्रीमान मकुमार देउवा गुटको नभएर सुशील गुटका हुन् । गिरिजाप्रसाद कोइरालाको निधनपश्चात गिरिजा गुट स्वतः सुशील गुट भइसकेको थियो । अर्थात् सुशील कोइराला गुट । त्यसैले एकक्षण पनि नबिराएर तत्कालै देउवा गुटबाट सुशील गुटमा सामेल भए श्रीमान चप्रसाद ।
यसको केही समयपछि श्रीमान चप्रसाद याने सुशील कोइराला मन्त्रीमण्डलको मन्त्री मध्येका एक बाहुबली मन्त्री श्रीमान मकुमारका साख्खै साढुभाइ श्रीमान चप्रसाद यो मुलुकको एक मालदार दुधालु गाईको रूपमा प्रसिद्ध सरकारी संस्थाको बोर्ड अध्यक्ष तथा कार्यकारी निर्देशकमा नियुक्त हुँदा भए ।
सालो
अथ कमरेड फिप्टिन परसेन्ट कथारम्भ !
कुनै समय यस कथाका नायक कमरेड पार्टीको अत्यन्त सिधासादा एवं बफादार कार्यकर्ता । नेता कमरेडहरूले अह्रराएका कार्य गर्न हरहमेसा तत्पर । जस्तोसुकै काम पनि । नेताका छोराछोरीलाई विद्यालय पु¥याउनेदेखि लिएर हरेक साँझ हरियो–हरियो तरकारी किनमेल गर्नेसम्म । त्यसैले नेतापत्नीमा अपेक्षाकृत बढी प्रिय । तर यति गर्दागर्दै पनि कमरेडको यावत् अवस्थामा कुनै उल्लेखनीय सुधार नभएको । जब कि यो नेपाल कम्युनिष्ट पार्टीमा जबर्जस्त प्रगतिको अभूतपूर्व समय । यसको ज्वलन्त उदाहरण नेता कमरेडहरू नै । सबै कुनै अदृश्य जादुले एक्कासी उक्लेर उपल्लो वर्गमा पुगिसकेका । तर कथानायक कमरेड भने सधैंभरि तन्नमको तन्नम नै !
वि.सं. २०७० साल फागुन महिनाको एकदिन कमरेडको स्थितिमा अपर्झट ढङ्गले व्यापक सुधार । यस कथाभित्र उनको फिप्टिन परसेन्ट कमरेडको रूपमा उदय । यसको अन्तर्कथामा एउटा अर्काे महत्त्वपूर्ण पात्र भिनाजू कमरेडको प्रवेश । कथाको आरोहसँगै प्रकट भएका भिनाजू कमरेड पार्टीको वर्तमान अध्यक्ष कमरेडको कोटाबाट राम्रो पोर्टफोलियो पाएर मन्त्री । मन्त्री भएको लगत्तै निजी पीए पदमा आफ्नो सालोको भर्ना । सालो अर्थात् कथानायक । सालो कमरेड । सालो कमरेडका भिनाजू कमरेड असाध्यै सिद्धान्तनिष्ठ तथा इमानदार भएकाले सरकारी बेइमानीको सम्पूर्ण जिम्मेवारी सालो कमरेडमा । यसको आन्तरिक हिसाब–किताब यस्तो घुस, नजराना, दलाली आदि सफलतापूर्वक सम्पन्न गरेबापत पाइएको रकम–कलममा सालो कमरेडको हिस्सामा जम्मा दस प्रतिशत । अतएव भिनाजू कमरेड स्वाभाविक प्रकारले नब्बे प्रतिशतका मालिक । तर यताउता तानतुन गरेर सालो कमरेड पन्ध्र प्रतिशत तान्नमा सफल । यो गोप्यताको मन्त्री भिनाजु कमरेडलाई जानकारी । आफ्नो सालो कमरेडको अतिरिक्त बेइमानी थाहा पाएर भिनाजू कमरेडको मनमनै हाँसो उत्पन्न ।
“तिम्रो सोझो भाइ अब सोझो रहेन डार्लिङ ।” एकरात भिनाजु कमरेडको मनको हाँसो ओठमा, “निकै चलाक भइसकेको छ साले ।”
“किन हजुर ?” सालो कमरेडको ठूलदिदी, ’के भयो ?”
“तिम्रो भाइ टेन परसेन्टबाट फिप्टिन परसेन्टमा उक्लिसकेको छ, डार्लिङ ।”
“टेन परसेन्टबाट फिप्टिन परसेन्ट ?”
“हो, फिप्टिन परसेन्ट ।”
“होइन, के भनिरहनुभएको हजुरले ?” केही बुझ्न नसकेर सालो कमरेडको ठूलदिदीका ठूलठूला आँखा झन् ठूलो, “मैले केही पनि बुझिन ।”
“आफ्नै भाइबारे तिमीलाई केही जानकारी छैन, डार्लिङ ।” भिनाजु कमरेडको थप हाँसो ।
“होइन, सबथोक खुलाएर भन्नोस् हजुर ।”
भिनाजू कमरेडले सरकारी बेइमानीको सम्पूर्ण हिसाब–किताब अन्तर्गतको दुई नम्बरी ठेकेदार, कालाबजारी र तत्करमैत्रीय वृत्तान्त सहाँसो बताएपछि सालो कमरेडको ठूलदिदीको पनि समानान्तर हाँसो मन्त्री क्वार्टरको पलङमाथि ।
यो बेइमानीको हिसाब–किताब सिंहदरबारको पर्खाल नाघेर पार्टी कार्यालयमा । अनि पार्टी भवन बाहिर पनि छताछुल्ल । टोल, गाएँ र सहर । तराई, उपत्यका र पहाड । सडक, फुटपाथ र गल्ली । घर, पसल र अफिस । सर्वत्र एक कान, दुई कान मैदान भएर भिनाजू कमरेडको सालो कमरेडको एउटा अर्काे चचिर्त नाम– फिप्टिन परसेन्ट कमरेड । उनी फिप्टिन परसेन्ट कमरेड ।
यस प्रकार फिप्टिन परसेन्ट कमरेड, नेपाल कम्युनिष्ट पार्टी, भिनाजु कमरेड, सुशील कोइराला मन्त्रीमण्डल, सिंहदरबारको प्राङ्गण, सालो कमरेडको ठूलदिदी, मन्त्री क्वार्टरको पलङ, बेइमानीको हिसाब–किताब, पार्टी भवन, अतिरिक्त पाँच प्रतिशत, समानान्तर हाँसो, तस्करमैत्रीय वृत्तान्त, नेतापत्नी, अदृश्य जादु, पार्टी अध्यक्षको कोटा, सिद्धान्तनिष्ठा, दुई नम्बरी ठेकेदार, लोकतन्त्र आदि सुख, शान्ति र चैनपूर्वक रहन थालेपछि यस कथाको अन्त्य !
कान्तिपुर २०७० चैत्र २९
Subscribe
Login
0 Comments
Oldest








































