सुलसुले‘अविरल जनसाहित्य यात्रामा’ नरनाथ लुइँटेल
मङ्सिर १९, ०७१ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र जन साहित्यिक मञ्च, नेपालको आयोजनामा राजधानीमा नियमित सञ्चालन भइरहेको ‘अविरल जन साहित्य यात्रा–९’ सम्पन्न भयो ।
यात्राको ९ औँ शृङ्खलामा प्रगतिवादी कवि तथा प्राज्ञ नरनाथ लुइँटेलका एक दर्जन कविता प्रस्तुत गरिएको थियो । महासङ्घका महासचिव राजेश थापाद्वारा सञ्चालन गरिएको कार्यक्रममा सभासद् तथा साहित्यकारहरू शान्ता मानवी र मधु गुरुङ, प्रा.डा. महादेव अवस्थी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य नर्मदेश्वरी सत्याल, प्राज्ञहरू पवित्रा घर्ती मगर र सानु पहाडी, वरिष्ठ नाट्यकर्मी विष्णुभक्त फुयाल, कवि भुवनहरि सिग्देल, कवि श्यामबहादुर भावुक, महासङ्घका सचिव प्रेमनाथ अधिकारी, खड्ग बुढा मगर, डम्बर पहाडी, जय छाङ्छा राई, हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागे, भागवत आचार्य, महासङ्घका सहकोषाध्यक्ष जङ्ग पहाडी, वरिष्ठ कवि कणाद महर्षि आदि अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
समारोहको आरम्भमा महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य तथा संस्कृति विभाग प्रमुख खगेन्द्र राईले स्वागत गर्दै कवि नरनाथ लुइँटेललाई डम्बरकुमारी खादा ओडाएर सम्मान गर्नु भयो । त्यसै गरी लुइँटेललाई रचना प्रस्तुतिमा साथ दिने कविहरूलाई पनि टीका लगाएर सम्मान गर्नु भएको थियो ।
कवि लुइँटेलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले सामाजिक रूपान्तरणको अभियानमा होमिएका नरनाथ लुइँटेलले २०३४/३५ सालदेखि साहित्य सिर्जना गर्न थालेको बताउनु भयो । कविता र निबन्धमा विशेष प्रभावकारी भूमिका निर्वाह गर्न सकेका हुँदा उहाँले कवि लुइँटेल भौतिकवादी चिन्तनलाई व्यवहारिकता प्रदान गर्ने, निमुखाको आबाज बोल्ने, समतामूलक समुन्नत समाज निर्माणको परिकल्पना आफ्ना सिर्जनामा गर्ने स्रष्टा हुनुहहुन्छ भन्नु भयो ।
रिता निरौला ‘जिज्ञासु’ले संस्कृत श्लोकबाट शुभ कामना दिएपछि आरम्भ भएको कविता वाचन कार्यक्रममा सर्वप्रथम श्यामबहादुर भावुकले कवि नरनाथ लुइँटेलको व्यक्तित्वमाथि प्रकाश पार्ने गीति सिर्जना वाचन गर्नु भएको थियो ।
कवि लुइँटेलले आफ्नो साहित्यिक यात्राबारे सङ्क्षिप्त मन्तव्य दिँदै साहित्य सोद्देश्यमूलक हुनु पर्दछ र जनताको लागि लेखिनु पर्छ भन्ने प्रेरणा श्यामप्रसाद शर्माबाट प्राप्त भएको बताउनु भयो ।
कार्यक्रममा प्रस्तुत एक दर्जन कविता मध्ये ‘यात्रा अधुरो छ’ (२०४८), ‘मुला’ (२०५६), ‘घिच्नु होस् हजुर घिच्नु होस्’ (२०५८), ‘पिण्ड पायौ त ?’ (२०६६) र ‘लुटतन्त्र अमर रहोस्’ (२०७०) शीर्षकका सशक्त कविताहरू उत्कृष्ट स्वरमा लुइँटेलले वाचन गर्नु भएको थियो । उहाँलाई साथ दिने क्रममा गरिमा लुइँटेलले गोकुल जोशीमा समर्पित ‘भोकै मर्ने कवि’ (२०३९), भुवनहरि सिग्देलले ऋषिराज देवकोटा ‘आजाद’मा समर्पित ‘प्रेरणाको धुन’ (२०४१) र ‘उज्यालोको विरुद्धमा’ शीर्षकका दुइटा कविता प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी विमला लुइँटेलले ‘पानी’ (२०५३), जय गौडेलले ‘देश दुख्यो’ (२०५८) र रमेश शुभेच्छुले ‘काठमाडौँको नयाँ नेपाल’ (२०६४) प्रस्तुतिमा साथ दिनुभएको थियो । विमला तथा गरिमाको संयुक्त स्वरमा ‘आमा’ शीर्षकको कविता वाचन गरिएको थियो ।
वाचित कवितामाथि प्रा.डा.महादेव अवस्थीले टिप्पणी गर्नु भयो । “कविताको शक्ति भनेको पढ्नुभन्दा सुन्नुको आनन्द हो अर्थात् ज्ञानभन्दा आस्वादनको पक्ष बढी प्रभावकारी हुन्छ कवितामा । स्रष्टाले भन्न बाँकी राखेका कुरा खोज्न मात्र समीक्षक आवश्यक हुन्छ तर नरनाथका कवितामा त्यो आवश्यक छैन । युग सन्दर्भका सरल, सशक्त र वर्णनात्मक अभिव्यक्ति हुन् नरनाथका कविता । उनले वाचन गरेका कविता समस्याका कविता हुन् ती सशक्त छन्, वर्णनात्मक छन् । वाचित आमा शीर्षकको कविताको आमा विम्ब देश–आमामा विस्तार भएको छ, त्यो कविताको सामथ्र्य हो । यस अर्थमा कार्यक्रम प्रभावकारी भएको छ ।” डा. अवस्थीको कथन थियो ।
उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित जन साहित्यिक मञ्च, नेपालका का.वा.अध्यक्ष रमेश पोखरेलले सबै खाले निरङ्कुशताको विरुद्धमा आफ्ना सरल सिर्जनाका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्न सक्ने कविव्यक्तित्व लुइँटेललाई अविरल जनसाहित्य यात्रा –९ मा उपस्थित गराउन सकिएकामा खुसी व्यक्त गर्नु भयो ।
अविरल जनसाहित्य यात्राको आगामी १० औँ शृङ्खलामा वरिष्ठ साहित्यकार वासुदेव अधिकारीलाई प्रस्तुत गरिने जानकारी दिदैँ समारोह समापन गरिएको थियो ।
–रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































