विश्व विनोदघरज्वाइँ
जिन्दगी हो चलाए पनि चल्छ, नचलाए पनि चल्छ । यो स्वचालित छ । कलियुगमा दश टाउके रावण नभए पनि दश गोजे मान्छे देख्नु भएकै छ । भुँडी सुलुत्तको भएपनि सुटुक्क मागेर कुपुक्क खान खोज्नेको जमात धेरै नै पाइन्छ । यो दुलो परेको थैलो भर्नलाई मैलो लुगा फेरेर पनि बैलो गाई हेरेर पनि जागिरको भैलो खेलेर पनि खाएकै छौ हामीले । तर कल्ले खान देला भन्ने वाक्य जस्को पनि मुखमा भएर उच्चारण नहुने शब्द हो ।
कसलाई के को चिन्ता घरज्वाइँलाई खानकै चिन्ता भन्ने उखानले बिचरा निर्दोष घरज्वाइँलाई गिज्याएको पाइन्छ । के त्यसो भए बाटोमा तपाईको लाइसेन्स नभएको बेला बिल बुकमा गुट्मुट्याएर सय पचासको बोनस माग्ने ट्राफिकहरू तपाईका घर ज्वाइँ हुन् त ? एक दिन ट्राफिकको चेकमा परियो । लाइसेन्स मागे देखाएँ । बिलबुक मागे देखाएँ । साइड लाइट चेक गरे ठीक थियो । हेड लाइट सबै ठीक थियो । म भन्दा अघिको साथीको पनि सबै ठीक थियो । उसलाई घरको लालपुर्जा मागेर हैरान पा¥यो ट्राफिकले । तर मेरोमा पनि सबै दुरुस्त देखेर ट्राफिक कराउन थाल्यो– सबै ठीक रहेछ तपाईको घरको लालपुर्जा खै ? धन्न त्यति बेला म माल कार्यालयमा तिरो तिरेर आएको हुँदा मैले पनि लालपुर्जा समेत देखाउँदा उसले खानकै लागि भन्यो– ए हजुर तपाईले यो बिल बुकमा रु. पचास हाल्नुस् त । मैले भनेँ– किन ? उसले भन्यो– तपाईको हेल्मेट अलिक बाङ्गो रहेछ त्यसको सजाय स्वरुप रु. पचास जरिवाना । हे घर ज्वाँइ हो लौ गरिखाओ । किनकी उनीहरूलाई खानकै चिन्ता छ ।
भर्खर शिक्षक सेवा आयोगले शिक्षक नियुक्त गरेको थियो । एक जना शिक्षकसँग भलाकुसारी गर्दै ताहाचलबाट सुन्धारा हिँडेर आउनु पर्ने भो । शिक्षक सेवा आयोगमा नाम निकालेर निकै खुसी भएका उनले जब पर बाटोमा एक जनालाई देखे । उनले आँखा माथिका भृकुटी खुम्च्याए र मलाई खुसुक्क भने– ए हजुर लौन यस्सो लुकौं न । म अचम्ममा परेँ । अनि सोधेँ– किन यस्तो भन्नु भा’को मास्टर साहेब ? उनले सुस्केरामा दुखेसो बिसाए– बाटोमा विद्यालय निरिक्षक आउँदै रहेछन् । के गर्नु शिक्षक सेवा आयोगमा नाम निकालेपछि यो शिक्षा कार्यालयका कर्मचारी घरज्वाइँ बनेका छन् मेरा । जता भेटे पनि, जुन कर्मचारी भेटे पनि लौन यसो खाजा खुवाउनुुस् भनेर हैरान पार्न थाले । हो न भनेर अस्ति एक जना श्रोतव्यक्ति र एक जना बिनिलाई खाजा खुवाउन रेष्टुरेण्ट छिराउँदा एक महिनाको तलब त सिनित्तै पारिदिए । अझ अरु बिद्यालय निरिक्षकले झन् कराएको करायै छन् । के यी श्रोतव्यक्ति र विद्यालय निरिक्षक हाम्रा घरज्वाइँ हुन् र ?
गाडीका चालकदेखि कण्डक्टर बालकसम्म मलाई घरज्वाइँ लाग्छ । राजमार्गको यात्रामा यात्रुलाई कोचेर जात्रा लगाएर कुनै होटेलमा लगेर ट्वाक्क रोक्छन् यिनीहरू । ती होटलको ठेकेदार बनेका उनीहरू महिनावारी भत्ता र दशैंखर्च पनि त्यही होटेलले ड्राइभर र कण्डक्टरलाई दिने रहेछ । साहुमारा कण्डक्टर र ज्यानमारा ड्राइभर कसैले भन्छ भने नभने हुन्छ किनकि उनीहरूलाई घरज्वाइँकै संज्ञा दिए हुन्छ । किनकि यताउति गरेर उनीहरूलाई खानकै धन्दा हुन्छ ।
बाउ मरेका बेला घिउभात खानेहरू घरज्वाइँ हुन् किनकि अरु बेला नखाएको घिउ त्यतिबेला खान्छन् यिनीहरू । अरु बेला नदेखाएको बाउभक्ति शक्ति खिचेर देखाउँछन् समाजको अगाडि । बरु बाउले जीवनभर कुटो कोदालो गरेर दश नङ्ग्रा खियाउँदा पनि घिउभात खाने औकातमा पुगेनन् बरु सन्तानको मायामा पेटमा पेटारो बाँधेर पटुका बाँधेर भोकै बसिरहे तर तेह्र दिनको बेला केक्के न भा’को झैं घिउ भात खानेहरू घरज्वाइँ नभएर के हुन् त ?
आजकल एक जना मास्टर पनि घरज्वाइँ जस्तै लाग्छ । किनकि उनी कहिल्यै स्कुल जाँदैनन् । महिना दिनमा एक पल्ट स्कुल गएर महिनाको पुरै हाजिर गरेर सदरमुकाममा पसल गरेर जीवन निर्वाह गरेका उनी तलब बुझ्न भने एक दिन पछि पर्दैनन् । नपढाईकन खान जानेका उनी घरज्वाइँ भन्दा कम्ताको दर्जामा पर्दैनन् । अझ पत्रकारिता र सहकारीको जिम्मेबारी पनि सम्हालेका रहेछन् उनले । यसरी दशतिरबाट कमाउ र रमाउको धन्दाको फन्दामा परेका उनी खानको लागि चिन्ता गर्ने गर्छन् । खानको लागि चिन्ता गर्ने यी माड्साप पनि उखानले भने अनुसार घरज्वाइँ न परे ।
एक दिन एक जनासँग भेट भो । मैले नचिनेको तर उनीले मलाई चाहिँ चिन्दा रहेछन् । मैले तपाईले चिन्नुहुन्छ भन्दा त उनले सातपुस्ते भने मेरो । उनले मलाई खाजा खानको लागि नजिकैको पसलमा पु¥याए । त्यहाँ उनले चिनेका आसेपासे निकै रहेछन् झण्डै पन्ध्र बीस जनाको जमात रहेछ । मैले त्यहाँ पुगेपछि थाहा पाएँ उनी त नेता पो रहेछन् । जब खाजा खाएर नेताले तिरिहाल्लान् कि भनेर हिँड्न लागेको त उनले भने– ए हजुर आजको स्पोन्सर त तपाईं ल । लौ बर्बाद पन्ध्र बीसजनाले खाएको मैले तिर्नुपर्ने भयो । पैसा तिर्दै गर्दा त्यै हुलको एक जनाले भन्यो– मैले पनि दुई महिना अघि यी नेताले गर्दा पाँच हजार रुपैया यसरी नै तपाईले तिरेझैं तिरेको थिएँ । तपाई त धन्न दुई हजारमा उम्कनु भयो । यी नेता त कसरी खान पाइन्छ भनेर मात्र खिप्ति गरेर बस्छन् । मैले सोचें नेताहरू पनि घरज्वाइँ हुन् ।
विदेशमा गएको भुण्टेले फोनमा मलाई एकदिन गुनासो ग¥यो– हेर न मलाई मालिकले छ महिनाको काम गरेको पैसा दिएको छैन, काम चाहिँ लगाउँछ तर पैसा दिने सुरसार नै गर्दैन । मैले भने– राजदूतावासमा गएर दुखेसो पोख त केही भैहाल्छ कि ? भुण्टेले तत्कालै एक सय असी डिग्रीमा उत्तर दियो– यहाँका राजदूत त घरज्वाइँ जस्तै हुन् खाने मात्र धन्दा गर्छन् । अस्ति गा’को पनि थिएँ, तर काम मिलाई दिए वापत कति तिर्नुहुन्छ भनेर पो सोध्छन् । दुःख पीर पर्दा सघाउने भनेर राज्यले पठाएका राजदूतहरूलाई पैसाको भूत सवार भएको छ । फेरि सोचेँ आखिर घरज्वाइँहरू विदेशमा गएर पनि अड्डा जमाउन थालेछन् ।
शैक्षिक बेरोजगारको बिल्ला झुण्ड्याएर चोकमा अनेक थोक सोच्दा कतै नेताले काम गर्देलान् कि भनेर मथिंगलमा कचिंगल गर्नु पनि पर्ने रहेछ । कहिले काहिँ नेता भेट्न गयो, उनी आफ्ना पिए देखाएर उम्कन खोज्छन् । एक दिन पिए भए पनि भेट्नु प¥यो भनेर नेताकोमा झुलुक्क झुल्किएको मात्र के थिएँ त्यहाँ त रेट नै रहेछ, जागिर लगाएको यति मूल्य, सरुवा गरेको यति मूल्य, बढुवा गराईदिएको यति मूल्य आदि इत्यादि । तैपनि दुखेसो पोखेपछि नेताका पिएले कमिसनको मूल्यसूची दिएपछि मेरो त होस हवासै उड्यो । आखिर लाखौं रुपैंया चुनावमा खर्चेर चुनाव जित्नुको अर्थ खानु रहेछ र नेताको पिए बन्न पनि लागि पर्नु खानु रहेछ । त्यसैले नेता र पिए पनि राज्यका घरज्वाइँ हुन् किन कि यिनीहरू खानको सिवाय अरु केही गर्दैनन् ।
पत्रिकामा आवश्यकता देखेर एक एनजिओमा दरखास्त हालेँ । सर्ट लिस्टमा परेर लिखित चरण पार गरेपछि जागिरको तारा देख्न थालेको बेला एनजिओले फेरि अन्तर्वार्तामा बोलायो । अन्तर्वार्तामा जाँदा उनीहरूले भने जागिर पक्का भयो भने संस्थाको अध्यक्षलाई कति दाम चढाउनुहुन्छ ? अनि महिनावारी रुपमा कति दाम संस्थालाई दिनुहुन्छ हँ ? तपाईको जागिर त पक्का भयो तर मिति नलेखेको राजिनामापत्र चाहिँ अहिले नै लेखेर राख्नुहोला किनकि तपाईंले महिनावारी तिर्नु भएन भने हामीले तपाई यही राजिनामापत्रबाट नै कारबाही गर्छौ । वाह ! जागिर अघि नै राजिनामाको फेहरिस्त चढाउनुपर्ने कस्तो खाने उपाय । जे होस् एनजिओहरू पनि बकाइदाका घरज्वाइँ हुन् जसले सोझा बेरोजगारमाथि रजाइँ गरिरहेका छन् ।
सबभन्दा बढी घरज्वाइँ भन्नु नै प¥यो भने मैले केही पत्रकारहरू भएको पनि भेट्टाउँछु । राज्यको चौथो अङ्ग बनेका पत्रकारहरू खानेकुरामा राज्यको पहिलो अङ्ग बन्न बेर लाउँदैनन । कतै मन्त्रीज्यू र नेताको गन्ध थाहा पाए भने तत्काल होटलमा पुगेर नेतासँग कुम जोडेर राम्रो लेख्ने बहानामा तिनपानेदेखि विदेशीसम्मका खाने पिउने कुरामा मस्त हुन्छन् । लाग्छ यो दुलो परेको थैलो भर्नु बाहेक यी पत्रकारको अर्को उपादेयता छैन तसर्थ यिनीहरू सोझो या घुमाउरो बाटोबाट पनि खान खोज्नेहरू घरज्वाइँ नै हुन् ।
अर्का घरज्वाइँको उदाहरणमा विभिन्न आयोजनाका ठेकेदारहरूलाई लिन सकिन्छ । उनीहरूको उद्घेश्य पनि कसरी खाने भन्ने धन्दा रहेको पाइन्छ । ठेक्का लिएर ओगटेर बस्यो, सरकारबाट अलिकति रकम हुत्यायो, बस काम चाहिँ कुखुरालाई चारा हालेको पारामा ग¥यो भैहाल्यो । ठेकेदार साहेबलाई त्यतिधेरै काम गर्नै पर्दैन । अलिकति नेतालाई दाम चढायो, अलिकति मूल्याङ्कन गर्ने टोलीलाई खुसुक्क गोजीमा साम दाम दण्ड भेदको नीतिको थिति बसाल्यो भने मज्जाले ठेक्काको काम कागजमा असल तरिकाले हुन्छ । कागजमा गुणस्तरको काम हुन्छ । त्यै भएर आयोजनाका ठेकेदारहरू पनि देशका घरज्वाइँ हुन् किनकी मेसो मिलाएर खाने ध्येय मात्र यिनीहरूको हुन्छ ।
कसलाई केको धन्दा घरज्वाइँलाई खानको चिन्ता भने झैं अगस्त्यहरू अक्षता खान्छन् रे, तर देशका अगस्त्य धेरै धेरै छन् । अर्का थरि घरज्वाइँ विद्युतका आयोजनाका ठेकेदारहरू हुन् । खोलालाई झोलामा हालेर खोला दर्ता गर्ने र हर्ताकर्ता बनेर भुँडी भर्तावालाहरू यिनै हुन् । बिजुली ननिकाली अर्को पक्षलाई बेच्ने अनि कमिसनको खेलको रेल दौडनेहरू पनि घरज्वाइँ हुन् ।
मन्त्रालयका हाकिमलाई त घरज्वाइँ भनेर भन्दा अतिशयोक्ति नहोला तर त्यहाँका पियन र ड्राइभरलाई पनि घरज्वाइँ भनिदिँदा फरक पर्दैन । हाकिमले सेटिङ मिलाएर आर्जेको पैसामा अलिकति कमिसन पियन र ड्राइभरलाई पनि आउँदो रहेछ । बसि बसि खान पाइने भएपछि र खानको नै ध्याउन्न भएपछि यिनीहरू पनि गज्जबका घरज्वाइँ हुन् ।
सबभन्दा खतरनाक घरज्वाइँ सरकारी कलेजका प्रोफेसर हुन् । सरकारी कलेजमा महिनाको एकदिन हाजिर लगाएर महिनाका अरु दिन निजी कलेजमा पढाउने यिनीहरू खानकै लागि जन्मेका जस्तो लाग्छ । अझ पढाइमा भन्दा विदेश भ्रमणमा सयौं दिन खर्चने र टिएडिएमा लाखौं कसरी हसुर्न सकिन्छ भनेर हिँड्ने यी प्रोफेसर साहेबलाई पढाउन भन्दा पैसा बढाउनको चिन्ता भएपछि यिनीहरू घरज्वाइँको दर्जा दिनु नै पर्छ ।
आजकल अनलाईन पत्रिकाहरू छ्याप्छ्याप्ति भेटिन्छन् । बिना परिश्रम अर्काले दुख गरेर लेखेको समाचार क्षणभरमै कपिपेष्ट गर्ने अनि आफ्नो अनलाईन पत्रिकाको घमण्ड गर्नेहरू पनि घरज्वाइँको संज्ञा दिन मनलाग्छ । एक जना पत्रकारले मेरो अफिसको कार्यक्रम भएको समाचार सोधे अनि अन्त्यमा उनले भने– लौन हजुर तपाई आफैंले नै समाचार लेखेर मेरोमा इमेल गर्दिनुस्न म असाध्यै बिजी छु । ती बिजी भएका पत्रकारले कति इजि मानेर मलाई समाचार मागे लौ न । जे होला भनेर पत्रकारिताको प पनि नजानेको मैले कनिकुथी समाचार लेखिपठाएँ, भाग्यबस जस्ताको तस्तै त्यो समाचार प्रशारण पनि भयो । भोलिपल्ट स्थानियदेखि राष्ट्रिय पत्रिकामा त्यही समाचार छापिएछ जस्ताको तस्तै । अनलाईन पत्रिकामा पनि हुबहु समाचार छापिएछ । वाह ! यहाँ क्या घरज्वाइँ पत्रकार र अनलाइन भेटिन्छन् भने हुबहु साभार गरेर स्रोत नखुलाई छापेर मख्ख पर्ने जमानाको आएछ त्यसैले यिनीहरू पनि घरज्वाइँ भन्दा फरक छैनन् ।
बिहार प्रदेश जन्मथलो भए पनि नेपालको नागरिकता भिरेर बिहारबाट बिहार गर्दै आहारा भर्न नेपाल छिरेर नेपाली राष्ट्रवादका बिल्ला भिरेकाहरू पनि घरज्वाइँ भन्दा अत्युक्ति नहोला । देशलाई टुक्रा टुक्रा पारेर वा सङ्घीयताको कित्तामा उभ्याएर एक बित्ता जमिनको मुख्यमन्त्री कतिबेला बन्ने भनेर बिखण्डनको क्रन्दन निकाल्ने अनि बसि बसि पैसा र एैसा होओस् भनेर चाहना राख्नेहरू घरज्वाइँ नभएर के हुन् त ? नागरिकता सित्तैमा पाउनु, जमिन पाउनु मात्र नभै देशको एक नम्बरी स्वनेतामा गनिन पाउनु पनि नागरिकताको टिको टालो पाएर न हो । त्यसैले केही घरज्वाइँको ससुराली नेपालमा चुरी फुरी हेर्न लायकको छ, तपाईले पनि यस्ता घरज्वाइँलाई मज्जाले नियाल्नु भएको हुन सक्छ ।
आजकल काम नगरी, काम गरे पनि सजिलोसँग कसरी खान सकिन्छ, कसरी माथि जान सकिन्छ भन्नेको जमात ठूलै छ यिनीहरू सबै घरज्वाइँ प्रबृत्तिबाट गुज्रिई रहेका हुन्छन् । तपाई हामि पनि यो प्रबृत्तिबाट गुज्रिईरहेका छौं । बसि बसि खान चाहने तपाई पनि घरज्वाइँ हो भनेर मैले भनिदिदा तपाई रिसाउनुहुन्छ किनकि तपाईको मन आत्मरतिमा रमाउने बनेको छ, आलोचना तपाईले सहनुहुन्न । जो आफैंमा रमाएर ज्वाइँको जस्तै सम्मानमा बिना आलोचनामा रमाउन खोज्छन् उनीहरू सबै घरज्वाइँ हुन् । लौत बिचार गर्नुहोस् , तपाईमा घरज्वाइँको अंश कति छ ? जदौ ।
बेसीशहर नगरपालिका– ७, लमजुङ
Subscribe
Login
0 Comments
Oldest









































