साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेल्मेट महात्म्य

Nepal Telecom ad

हेल्मेट माथ जोगाउने जात हो । बाइकचालक वा खेलाडीहरूले शिर जोगाउने तीरका रूपमा वरण गर्दै यसको शरण पर्छन् । सशस्त्र प्रहरी, सैनिकहरूले दैनिक रणभूमिमा गएर तटस्थ भएर जीवन लिनु या दिनु वा माथलाई जतनसाथ राख्नु पर्यो भने शिरपोश हेल्मेट अपरिहार्य र अनिवार्य नै मान्छन् । भीरको गुल्ट्याइँ, हतियार, ढुङ्गा, मुढा वा तीरको लडाइँमा परिएछ वा घटना दुर्घटनामा जम्काभेट भएछ वा प्राण पखेरू नै गएछ भने पनि यसले शिरलाई सुरक्षित राख्छ ।

प्रश्न उठ्न सक्छ, यो केबाट बन्न सक्छ ? यसलाई तयार गर्ने कच्चा पदार्थ (रउमेटेरियल) केही हुन्छ कि सिङ्गो प्राकृतिक ठोस तत्व हो ? सिङ्गो प्राकृतिक ठोस तत्व यो होइन । सिङ्गो प्राकृतिक ठोस तत्व त टाउको हो । समुद्रको भित्री तह वा डाँडाकाँडा, भीरपाखामा हेल्मेटको खानी पनि हुँदैन । यसलाई माथको अन्तर शक्ति वा सिङ्गो विवेक प्रयोग गरेर विकसित देशमा सिर्जना वा जन्म हुन्छ । कुभिन्डो, फर्सी, लौका, निगालो, बाँसको चोया, मकैको खोयाबाट यो बनेको हुँदैन । घरमा आमा, दिदी, बहिनीले टन्न दाउन हालेर सेल रोटी पकाएजस्तो खेल गरेर पनि बनाउन सकिँदैन । सिङ्गो नेपाल राष्ट्रले पनि अहिलेसम्म यसको निर्माण गर्न सकेको छैन भने व्यक्ति विशेषको बुताभन्दा बाहिर पनि छ । नेपाल राष्ट्रले धेरै काम कुरा गर्न सक्दैन । मात्र विदेशीकै नागरिकता बनाउनु प¥यो भने चाहिं भरे भोलि भन्दैन, आजको आजै सिध्याइदिन्छ ।

नेपालमा प्रशस्त प्लास्टिक खेर जान्छ, तर नेपाल सरकारले त्यसलाई प्रशोधन गरेर हेल्मेटजस्तो सामान्य र सजिलो भाँडोसमेत बनाउने गरेको छैन । यस किसिमको दुर्बलता देखेर विदेशीहरूले नेपाल र नेपालीलाई कठै ! बिचरा भन्ने गरेको धेरै भयो । यो कुरो बुझेर पनि नेपालीहरू बुझ पचाउँछन्, तर यस प्रकारको सुरक्षा कवच स्वदेशमा निर्माण हुँदैन । अहिले हेल्मेट विदेशबाट आयात गरिँदै खाँचो टार्दै गरेका कारण यो के कस्तो प्रविधिबाट तयार गरिन्छ सोच्नु, सोचाउनु, घोकाउनु र बनाउनु समय र सिपको बर्बादी ठानिँदै या मानिँदै आएको छ । नेपाली जनता त्यसै सुखी, त्यसमाथि जनतालाई सुख दिन हेल्मेटलगायत यावत् आधारभूत आवश्यकताका सामानहरू विदेशबाट आयात गरिदिने भएकाले यस देशभित्र बसोबास गर्ने सम्पूर्ण ज्ञात÷अज्ञात, सक्षम, अक्षम नर नारीहरू आफूलाई हेल्मेटभित्रै छु जस्तो सुरक्षित र भाग्यमानी ठान्छन् । आनन्दले खान्छन्, आन्दोलन भयो भने ढुङ्गाले हान्छन्, तर हेल्मेटले रोक्ने छेक्ने गरेर निश्फल बनाइदिन्छ । फलतः ढुङ्गा बर्साउने, हान्ने, तर्साउनेको तागत तीर सबै खेर जान्छन् । हेल्मेट त जस्ताको तस्तै । त्यसैले सरकारले जन सुरक्षाको लागि ठुलो धन र मन खर्च गरेर हेल्मेट भिœयाउने गरेको इतिहास धेरै पुरानो हो ।

बाइक दौडाउने मानव, खेलाडी, प्रहरी, प्रशासन, सैनिकले शिरमा हेल्मेट हालेपछि पूर्णकदै हदै सुरक्षित भएको मानिने हुनाले ट्राफिक प्रहरीले जनहितका लागि अनिवार्य शिरोपर गर्न वा स्ववरण गरेर स्वमरणबाट अलग रहन बारम्बार घच्घच्याउने गर्छ । मापसे जाँच्नु र लाइसेन्स खोस्नुको जड कारणै त्यही हो । त्यसैले दुर्घटना टर्छ, अन्यथा मानव मर्छ । नत्र दिनहुँको आन्दोलनका झडप, चड्कन, दनक सशस्त्रका जवान तथा सैनिकहरूले कसरी पार लगाउने, सहने । हेल्मेटै हुन्थेन भने न रहन्थे जनता न हुन्थे सशस्त्र सैनिक दुनिया खुनियाको मरण हुन्थ्यो दैनिक र त हेल्मेट छ र हामी, दामी, नामी र कामी छौं ।

भविष्यमा हर नेपालीहरू हेल्मेट खरिद गर्ने हैसियतमा पुगिएछ भने इज्जत प्रतिष्ठा, झैझगडा, खेल, जाल, झेल हरक्षेत्रमा उत्तिकै उपयोगी हेल्मेटको योगदान र उपयोग गरेर भरमार फाइदा उठाउन सक्नु उत्तरआधुनिक सोचाइ, चलाख्याइँ र चतुर्याइँ साबित हुनेछ ।

भावी पुस्तालाई टुकुटुकु हिंड्न थालेपछि रणकौशलका मामलामा हेल्मेटधारी जिम्मेवारीको बोध गराउँदै हाम्रो हिन्दु सोह्र संस्कारमा ‘हेल्मेट हस्तान्तरण’ संस्कार थपी सत्र संस्कारको व्यवस्था गर्नुपर्ने समयको माग छ । नेपालको संविधान निर्माणको यस चार वर्षभित्रमा धेरै किसिमका आन्दोलनहरू भए । अगणित सुरक्षा फौज, खेलाडी सैनिक र सर्वसाधारणको सरकारले साथ दिए पनि हेल्मेटले साथ नदिँदा माथले दुःख पायो, दनक खायो । आदिवासी, आधुनिकवासी र प्राग् ऐतिहासिकवासी वा अनादिवासी अन्य विभिन्न भनाभन हानथापको कारण सरकार अलमल्लमा प¥यो । जात जातिका नाममा प्रान्तहरूको जालो बुन्दाखेरि सरकार त्यसै जालोमा फस्न पुगेको हुनाले चार वर्षभन्दा धेरै समयसम्म सरकार अलमलमा बस्न पुगेको तथ्य छर्लङ्गै छ । सत्ता टिकाउने, भत्ता बुक्याउने आफ्नालाई बिकाउने खेल धेरै खेलेको मानेर नै सर्वाेच्चले उनान्सत्तरी जेठ चौधलाई संविधान निर्माणको अन्तिम अवसर घोषणा गरेपछि हेल्मेटविनाको सर्वाेच्चको माथ टुक्र्याइदिन धेरै प्रयास भयो तर सर्वाेच्चको माथ छुनै सकेनन् र नसकिने भो बा भनेर हेल्मेट लगाएर भकाभक जनताको संविधान बनाउने काममा सुरक्षा संयन्त्र र सभासद्हरू जुटेका छन् ।

लगातार बीस दिन पश्चिम नेपाल बन्द भयो । हेल्मेट विनाका कति जनताले टाउको फुटाए । प्रतिकार गर्न सर्वाेच्च पार्टीका अध्यक्षले अह्राएपछि कुटाकुट त मच्चिने नै भयो । तराईतर्फ र पहाडी भूभागमा पनि आफ्नै प्रकारका बन्द, हड्तालहरू जारी छन् भने हेल्मेटको जोहो नगरे त मरिन के बेर ? सुरक्षा संयन्त्रका दाहिने हातहरू हेल्मेट लगाएर प्रतिरक्षाका लागि हेल्मेट विनाका सोझा सिधा जनताको टाउकामा दिनप्रति दिन कठबाँसका लाठीहरू थोœयाइरहेका छन् । यस पावन पुण्य अवसरमा प्रतिनागरिकले एक थान हेल्मेट लगाएरमात्र आन्दोलनका लागि सहर पस्ने रहर गर्नु पूर्ण कदको लागि लाभदायक हुनेछ अन्यथा हेल्मेटको अभावमा पूर्ण ज्यान नै सखाप, सोत्तर र नेपाली नागरिकको अभाव हुन पनि सक्छ । किनकि यहाँ दिनप्रति दिन मर्ने र मार्नेको होडबाजी चलेको चल्यै छ ।

राजनीति बिग्रिएपछि समाजमा साम्प्रदायिक दङ्गा भड्किएर सामाजिक सद्भाव खलबलिन सक्छ । त्यस घडीमा आलोआलो सुत्केरीले माथ जोगाउन शिशुलाई स्तनपान गराउँदा पनि हेल्मेट लगाएरै गराउनु अन्यथा बेमौसमी बारमासे आकस्मिक आन्दोलनले पूर्ण कद बेहदसँग क्षयीकरण हुन सक्छ, र त अब समय सुहाउँदो उपहारको रूपमा मोटरसाइकल होइन, शान, मान र सुरक्षाका लागि पनि हेल्मेट उपहार दिनु ज्ञानी, बुद्धिमानी हुने कुरामा दुई मत नहोला ।

समय कलुषित र दूषित पनि छ । हाम्रा उत्तराधुनिक उत्तराधिकारी सन्तान दर सन्तानलाई विद्यालय कलेज जाँदाखेरि हेलमेट लिएर जाने, हेल्मेट लगाएरै पढ्ने, पढाउने गर्नु, अकालमा आन्दोलनमा परेर नमर्नु, टाउकोको सुरक्षा गर्नु, हेल्मेट धारण गर्नु जस्ता कुराहरू अब पाठ्यक्रममै राखेर प्रयोगात्मक परीक्षाहरू लिने नगरे धेरै जनताले माथ र आफन्तको साथ गुमाउनु पर्ने प्रायः निश्चित छ ।

भजन कीर्तन सुन्न मन्दिर जाँदा त्यहाँ पनि कृतघ्नहरूको फेला पर्न सकिन्छ, त्यसैले हेल्मेट लगाउनु सबैको शिरको सुरक्षाका लागि अनिवार्य नै भइसकेको छ । पुराण भन्ने वाचकी÷उपवाचकीहरूले हेल्मेट लगाएरै सुरु गर्ने, हेल्मेट लगाएर नै ढोगभेट, मानपदवी ग्रहण गर्ने नत्र कन्चट उडाइदिन सक्छन् । मोटर साइकलले हामीलाई सुरक्षा दिँदैन । सुरक्षा दिने हेल्मेटले हो । त्यसैले म भन्छु– ‘जहाँसुकै जाऊँ, हेलमेट लाऊँ घर फर्किएर आऊँ ।’

पढ्दा, बस चढ्दा, धारामा पानी भर्दा, मर्दा, मलामी जानु पर्दा, आन्दोलन, र्याली वा खुसियालीमा वा जहाजमा या कसैको बुई चढियो भने पनि खुइया गरेर छोडिदिन सक्छन् । त्यसैले साथी हो । समयको आधुनिक साथी भनेकै हेल्मेट हो । क्रिया गर हेल्मेट, श्राद्ध गर हेल्मेट, श्रीमती सामुन्ने भात खान जाऊ हेल्मेट, हर उत्सव, महोत्सव, विवाह, ब्रतबन्ध, जुलुस, खेलकुद, दङ्गाफसाद, भागबण्डा होस् या अंशबण्डा हर मानवको लागि दैनिक जीवनमा रुचि र इच्छा नभएर आवश्यकता र अपरिहार्य साधनको रूपमा लेखक, साहित्यकार, सम्पादक, पत्रकार महोदयहरूले कार्य क्षेत्र वा सम्पादन कक्षमा पनि आधुनिक सुरक्षा कवचको भरपर्दाे र अभिन्न अङ्ग हेल्मेटले अधर छोपियो भने धरधर रूनु पर्दैन त्यसैले यसको साथ र सङ्गत नछोड्नु होला नि । धन्यवाद ।
पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x