चट्याङ मास्टरबुढालाई बिर्सने रोग लागेको छ
ऊ खुब सम्झन्थ्यो र सम्झाउँथ्यो पनि
तर आज भोलि ऊ केही नसम्झने र कोही नचिन्ने भएको छ
सायद सम्झन र चिन्न लायक रहेन केही र कोही यहाँ
त्यसैले एउटा बुढालाई बिर्सने रोग लागेको छ ।
ऊ सम्झन सक्ने भएको बेला
आफन्तलाई सम्झिएर आफैंलाई बिर्सी दिन्थ्यो
आफ्नो यो हाल र आफन्तको त्यो चाल देखेर होला
अहिले एउटा बुढालाई बिर्सने रोग लागेको छ ।
कसैलाई किन पो सम्झनु र अब ?
उसले सम्झना गर्नेहरूबाट ऊ बिर्सिइएको छ
कसैलाई सम्झनुको कुनै अर्थ नभेटेर होला
आज भोलि एउटा बुढोलाई चिनेको मान्छे बिर्सने रोग लागेको छ ।
आफ्नै महलभित्र एउटा खाट्को बन्दी बनेको छ ऊ
हल्ला गर्नेहरूबाट एकान्तमा घचेडिएको छ ऊ
किन सम्झनु ती हल्ला गर्नेहरूलाई र त्यो खाटलाई पनि अब ?
त्यसैले एउटा बुढो आफैंलाई पनि नचिन्ने भएको छ ।
बाबु आमा प्रतिको कर्तव्य बिर्सने सन्तानहरू बीच
बुढोलाई आफ्नै सन्तान पनि नचिन्ने रोग लागेको छ
बिर्सने रोग कसलाई बढी लागेको हो कुन्नि ?
तर भनिन्छ, एउटा बुढोलाई बिर्सने रोग लागेको छ ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































