सुलसुलेथानापति साहित्यिक महोत्सव सम्पन्न
थानापति(नुवाकोट) २४ माघ । ‘संसाक’ साहित्यिक पाक्षिक तथा दीपज्योति आमावि गोगँबु, काठमाडौँको आयोजनामा नुवाकोटको थानापतिमा ‘चौथो थानापति साहित्यिक महोत्सव–२०७१’ सम्पन्न भयो ।
थानापति–९ शीतलपाटी, काफलडाँडामा भएको महोत्सवमा राजधानीका २० तथा स्थानीय साहित्यकार तथा नुवाकोटका राजनीतिज्ञको सहभागिता थियो । ‘गाउँघर साहित्यिक यात्रा,महोत्सवबाट थप ऊर्जा’नाराका साथ भएको सो महोत्सवमा मुलुकको राष्ट्रियता संरक्षण तथा ग्रामीण जनचेतना विकासमा साहित्यकारहरुले आफ्नो प्रतिभा उपयोग गर्नुपर्नेमा जोड दिइयो ।
कविहरुले मुलुकको एकीकृत स्वरुप र नेपाली पहिचाानको संरक्षण तथा शान्ति र समृद्धिमा जोड दिँदै महिला हिंसा र आत्महत्याको विरुद्ध, जाडाले पीडित तथा अन्यायले उत्पीडित जनताका पक्षमा अभिव्यक्ति दिनुभयो । सो अवसरमा राजधानीबाट जानुभएका मोदनाथ प्रश्रित, डा गार्गी शर्मा, डा रमेशचन्द्र अधिकारी, डा शैलेन्दुप्रकाश शर्मा, ज्योतिषी ओजराज लोहनी, प्रभा भट्टराई, भुवनहरि सिग्देल, दामोदर किशोर, श्याम रिमाल, श्यामबहादुर भावुक, विजयध्वज थापा, भैरवी ढुङ्गाना, भगवती भूमिका, शशी पण्डित, हरिमाया भेटवाल, द्रोण पराजुली, राजेन्द्र ढुङ्गाना, विश्व देवकोटा, श्रीहरि फुयाँल, राधेश्याम लेकाली तथा स्थानीय शर्मिला थपलिया, कृष्ण मोक्तान, यमनराज पाण्डे, उत्तमराज भेटवाल, हरिप्रसाद पाठक, विपुल पाण्डेलगायतले आआफ्ना कविता र गीत पाठ गर्नुभएको थियो ।
सो अवसरमा साहित्यकार मोदनाथ प्रश्रितले राष्ट्रिय एकीकरणको प्रारम्भविन्दु नुवाकोटबाटै पृथ्वीनारायण शाहको प्रयत्नलाई अनुसरण गरी राष्ट्रिय अखण्डता बचाउन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र उन्नतिशील राष्ट्र बनाउन सबैले सङ्कल्प गर्नुपर्ने र स्रष्टाहरु विखण्डनकारी प्रवृत्तिलाई हतोत्साह गर्न जुर्मुराउनुपर्नेमा जोड दिनुभयो ।
सभासद् डा प्रकाशशरण महतले नुवाकोटमा साहित्यिक एवं सांस्कृतिक जागरण फैलाउन आह्वान गर्नुभयो । त्यस्तै नेपाली काँग्रेसका स्थानीय नेता बाबुकाजी पाठक, गोविन्द थपलिया, नेकपा(एमाले)का स्थानीय नेता पदम थपलिया, ललितपुरका सहायक प्रजिअ होमनाथ थपलिया, स्थानीय जनज्ञान निकेतन क्याम्पसका प्रमुख ताराप्रसाद पाठक, योगप्रशिक्षक केदारनाथ पाठकले साहित्य, संस्कृतिका क्रियाकलाप गाउँघरमा गरी जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
महोत्सव संयोजक उमेश पाण्डेले भाषा, साहित्य र कलाको श्रीवृद्धिका साथै आन्तरिक एवं बाह्य पयर्टन प्रवद्र्धन गर्ने उद्देश्य रहेको महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । यसअघि विसं २०६०, ०६४ र ०६५मा महोत्सव गरिएको थियो । रासस
Subscribe
Login
0 Comments
Oldest












































