साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कंक्रिटको जंगलमा बेपत्ता कमरेड

Nepal Telecom ad

हामीलाई लाग्थ्यो, कमरेड प्रचण्ड नेपालको इतिहासमै सबैभन्दा चलाख र सन्तुष्ट नेता हुन् । उनी सत्तामा हुँदा पनि र नहुँदा पनि सधैँ राजनीतिको केन्द्रमा छन् । चर्चाको शिखरमा छन् । क्या भाग्यमानी मान्छे भन्ठान्थ्यौँ । तर, त्यस्तो होइन रहेछ । उनी त असाध्यै सोझा र दुःखी मानिस पो रहेछन् । भर्खरै एउटा अनलाइन पत्रिकामा छापिएको उनको अन्तर्वार्ता पढेपछि यो रहस्य थाहा भयो । अन्तर्वार्तामा आफूलाई असाध्यै सोझो गाउँले भन्दै यो जंगलजस्तो काठमाडौँमा पसेपछि ठूलो कष्टमा परेको उनले बताएका छन् ।

साह्रै सोझा रहेछन् उनी । जसले पनि उनलाई हुस्सु बनाउँदा रहेछन् । काठमाडौँमा आएपछि उनलाई सहरिया कांग्रेस-एमालेहरूले साह्रै सताएछन् । बुलिङ गरेछन् । टुप्पी तानिदिने, कन्दनी खुस्काइदिने, छिर्के लगाउने गरेछन् । मान, पद, गाडी, मीठामीठा खानेकुरा र अनेक सुखसुविधा दिएर लट्ठयाएछन् र विभिन्न बुँदे तमसुकहरूमा सही गराएछन् ।

उता गाउँमा निर्विकल्प अध्यक्ष खाएर बसेका उनलाई सहर पसेपछि हजार किसिमका झमेला र दबाबले रुनु न हाँस्नु बनाएछ । उनी सहरमा नराम्ररी हराएछन् । बाहिर निस्कन खोज्दा कहिले डरलाग्दो झाडीमा परिन्छ, कहिले अनकन्टार ओडारमा । बाटोमा दुम्सीहरूले काँढा ओछ्याउँछन् । वनबिरालाहरू बाघको स्वरमा कराउँछन् । स्याल ठानेका प्रतिद्वन्द्वीहरू सिंह भएर निस्कन्छन् । ब्वाँसाजस्ता लाग्ने भ्रष्टाचारी र काला बजारियाहरूसँग तर्केर भाग्न खोज्यो, घेराबन्दीमा पारेर सुमसुम्याउँछन् । यस खतरनाक जंगलमा जहाँ टेक्न खोज्यो त्यही काँटीहरू, सुइराहरू, सिसाहरू रहेछन् । षड्यन्त्रकारीहरू लुक्ने झाडी पनि जताततै ।

बिरानो पनि त्यत्तिकै यो सहर । महल, मोटर, बडी गार्ड, पीए, भान्से, ढोके, छाते, अरौटे, भरौटे सबै छन् । हाच्छिउँ आउँदा जचाउने पाँचतारे अस्पताल छन् । घुम्नलाई ब्रह्माण्ड खुला छ । तर पनि केही नभएजस्तो । बरू उहिले गाउँमा जनताको काखमा बसेर लडाइँ गर्दा रमाइलो थियो रे ! दिनदिनै बमबारी हुन्थ्यो, गोलीहरू छेउछाउबाटै जान्थे । चौकी हान्यो, ब्यारेक हान्यो, शत्रुका बटालियनहरू ढलेका समाचारहरू सुन्यो, आनन्द लाग्थ्यो । यो सहरमा गोलीभन्दा तीव्र गतिमा भ्रष्टाचारका आरोपहरू आउँछन् । मुद्दा हाल्ने धाकहरू आउँछन् । जेलमा कोच्ने धम्कीहरू आउँछन् । मुटु छेड्ने गालीहरू आउँछन् । कस्तो हैरान यो सहरमा । कस्तो दुःख यो सहरमा । कमरेडले अमिलो सुस्केरा छाडेका छन् अन्तर्वार्तामा ।

गाउँको मोटै चामलको भात पनि कति मीठो । जरुवाको चिसोपानी । अग्र्यानिक तरकारीहरू । ताजा सागसब्जी । यो सहरमा भोक लाग्दा न एक मुठी भुटेका मकै पाइन्छ, न प्यास लाग्दा एक डबको मही । सोझो मान्छेलाई ह्वीस्की र बियर पियाउँछन्, ढुस्स गन्धे डकार आउँछ । देशी-विदेशी परिकार भन्दै के के को च्याउँछन्, भुँडी गुडुड्ड गर्छ । प्रेसर चढ्छ । कोलेस्ट्रोल बढ्छ । कस्तो दुःखी जीवन !

कमरेडका यी कुरा सुन्दा साँच्चै भावुक भइन्छ, रुन मन लाग्छ । हामी नाथे जनताले यो भएन र त्यो पुगेन भनेर गुनासो गर्नु बेकारै रहेछ जस्तो लाग्छ । यी नेताभन्दा त हामी नै चैनमा रहेछौँ भनेर ढुक्क लाग्छ । त्यो अन्तर्वार्ता पढेपछि म त अब नेताहरूलाई छेडपेच नगर्ने निर्णयमा पुगेँ । तपाईं पनि विचार गर्नूस् ।
नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x