प्रेम ओली ढकलपुरेगुन्द्रुकको झोल टन्न छ
खुन पसिना बगायो
अर्कैको लागि
जवानी सब बगायो
अर्कैको लागि
फेरि बचिएछ भने
त्यो बुढो हाड छाला
के ल्याउनु
मर्ने बेला हरियो काँक्रो
दश नङ्ग्र्रा कसरी ख्याउनु
बरु आफ्नै बारी जोतिन्छ
आफ्नै घर पोतिन्छ
गर्नेलाई उता भन्दा
यतै रनबन्न छ
दालभात नभए पनि
गुन्द्रुकको झोल टन्न छ ।
न संस्कृति छ त्यहाँ न कुनै सस्कार
पैसो बाहेक अरु सबै तिरस्कार
काम काम सधैं काम
मेसिन हुन् कि मानव हुन्
रातमा पनि गरेका छन्
दिनमा पनि गरेका छन्
भूत हुन कि दानव हुन्
बगाउँछ छोरो पसिना यतै
ढिँडो साग खान्छ
पिजा ब्रगर किन चाहियो
मकै भटमासले मान्छ
गर्नेलाई यतै काम रनबन्न छ
मासु भात नभए पनि
गुन्द्रुकको झोल टन्न छ ।
अमेरिका गयो उतै हराउने
जापान गयो उतै हराउने
खाडीतिर गए पनि
बिलखबन्द गराउने
यतै हलो जोत्छ छोरो
यतै खलो पोत्छ
नयाँ नयाँ बाली रोप्न
नयाँ बिउ खोज्छ धान फलाउँछ
तरकारी फलाउँछ नगदे बाली फलाउँछ
आफ्नै पसिना बेचेर
अच्छै गृहस्ती चलाउँछ
गर्ने हो भने
यतै अवसर रनबन्न छ
दाल भात नभए पनि
गुन्द्रुकको झोल त टन्न छ ।
यतै मेहनत गरिन्छ
यै माटोमा मरिन्छ
बिरानो देशमा नगए
के पो फारिन्छ
गर्ने नै हो भने
गर्नेलाई यतै काम रनबन्न छ
मासु भात नखाए पनि
गुन्द्रुकको झोल त टन्न ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































