सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आजको काम पर्सि

Nepal Telecom ad

मेरो आफ्नै दिमागको एउटा कुनामा खोलिएको रिसर्च सेन्टरले के पत्ता लगायो भनेदेखि यो ‘काम’ र ‘माम’ भन्ने कुरो सूर्य र घाम जस्तै रहेछ । बग्रेल्ती जनतामा गरिएको अनुसन्धानको तथ्याङ्क र विश्लेषणले पनि के प्रष्ट पा¥यो भने यदि माम खानै नपर्ने हो भने त काम पनि गर्नु नपर्ने रहेछ । अर्थात् मामकै लागि काम गर्ने हो । काम गरेर दाम हात पारेपछि आरामसँग माम खान पुग्दोरहेछ । त्यसैले सबैले धुमधामसँग काम गरेर मामको जोरजाम गर्दारहेछन् । ठूलो काम अथवा धेरै काम गरेर थुप्रै दाम थुपार्न सकियो भने पछि बुढेसकालमा बसीबसी आरामसँग माम खान पाइँदोरहेछ । त्यसैले त सबैले ठूलो काम, धेरै काम र राम्रो काम गर्न मरिहत्ते गर्दारहेछन् । भगवान रामले पनि राम्रै काम गरेकोले सबैले उनको नाम लिन्छन् । कसैले कामको नाममा छलछाम पनि गर्दिन्छन् । कसैले अर्काको ढाडमै डाम बस्नेगरि काम गर्दिन्छन् । उता ट्राफिक जामले कैयौँको काम बिग्रन पुग्छ । जेहोस् सबैले केही न केही काम गरेकै छन् । ‘रामनाम सत्य’ हुनै लागेकाले बाहेक प्रायः सबैले काम गरेकै छन् ।

कामकै कुरो गर्दा सरकारी कार्यालयको नाम पुच्छारमा आउँछ । भनिन्छ सरकारी कार्यालयमा त कामै हुँदैन । कामको बदनाम गर्ने सरकारी कार्यालयहरुमा काम नभएपनि घाम त हुन्छ है ! त्यसैले त “सरकारी काम कैले जाला घाम” जुर्नपुग्यो । यसो कुरो बुझ्दा कामै नभएर घाम जाने समय कुर्ने पनि होइन रहेछ फेरि । काम भएपनि नगर्दिने, रमाइलो क्या ! नगर्दिने । एकपटक एउटा सरकारी कार्यालयमा आजको काम आजै गर्नुपर्छ भनेर मैले लाजै नमानिकन भन्दाखेरि झण्डै ताजै झापड भेट्टाइन । कर्मचारीको थुतुनो बाट त के–के फुत्कियो मैले यादै गर्न सकिन । तिनका पितालाई सित्तैँमा काम अह्राए जस्तो । मस्तसँग कुर्सीमा थेच्चिएर “तपाइँको काम आज हुँदैन, पर्सितिर आउनुस्” पो भन्छन् बा ! ओ हो ! पुरानो नेपालमा त बरु भोलि आउनुस् भन्थे, झन् नयाँ नेपालमा भोलिको काम पर्सि पो हुनथाल्यो ? हाकिमसा’बको लागि झोलामा लौका र फर्सी हालेको भए त्यस्ता जाबा पर्सि आजै आउँथ्यो, के गर्ने !

सरकारी कर्मचारी भन्ने बित्तिकै काम गर्न भनेपछि मर्न खोज्ने अनौठो प्राणी भनेर बुझ्ने गरिन्छ । किन झ्याला गर्छन् हँ ! सरकारले ज्याला त दिएकै छ । थोरै भएर पो हो कि न ! हुन त हो त्यति जाबो ज्यालाले त सालाकी दिदीलाई गालामा दल्ने चिज पुर्याउन पनि धौ धौ हुन्छ । अनि अर्को कुरो स्थायी कर्मचारीलाई कुनै माइकालालले “ए भाई ! तपाइँलाई भोलिबाट बाईबाई” भन्न सक्ने पनि होइन । हाकिमलाई नै चिलिम फर्काउन सक्ने तागत कुनचाहिँ विनाविभागीय मन्त्रीबाट लिएर आएका हुन्छन् कुन्नि ! भोलिको कामलाई गोली मारेर “कामै गर्दिन” भनेपछि कोही नजिक पर्दैन । क्या मजा ! अफिस भनेको त साढे एघार बजेतिर हल्लिँदै आयो, हाजिर दन्कायो, चिया तन्कायो, सेवाग्राहीसँग सन्कायो (राष्ट्रिय पहिचान बोकेको ल्बडप्रेसरको रोगले पनि धेरैजसो ठाउँमा भूमिका खेल्छ ।), एकछिन दिउँसै रात पा¥यो, फेरि चिया तन्कायो, फाइल थन्कायो, अनि चार पनि नबज्दै टाप । वाह ! नयाँ नेपालका पुराना खम्बाहरु । तँ आँ… गर म खुवाइदिन्छु भन्नुपर्ला जस्तो जाँगर देख्दा नयाँ नेपाल त के पुरानै नेपाल पनि यथास्थितिमा रहन गाह्रो पर्ला जस्तो लाग्छ बाई मलाई त ! हुन त जाँगर चलोस् पनि कसरी ? कुन बेला सरकार गर्लम्म हुने हो पत्तो हुँदैन । कुनदिनदेखि कुनचाहिँ हरुवा प्रधानमन्त्री हुने हो अनि कुनचाहिँ हरुवा आफ्नै विभागको मन्त्री भएर आफैँलाई सरुवामा पार्ने हो थाहा पत्तो हुने भए पो !

कुरै गर्ने हो भने पनि छिट्टै गर्नुपर्ने काम तुरुन्तै कहाँ पो भएको छ र ! सरकार बन्ने काम भयो तुरुन्तै ? संविधान लेख्ने काम हुँदैछ तुरुन्तै ? देश विकास भैरहेको छ तुरुन्तै ? नेताहरुको मति सुध्रेको छ तुरुन्तै ? ल हेर्नुस् त्यत्रा ठूल्ठूला कुराहरु त तुरुन्तै हुन सक्याछैन भने जाबो सानोतिनो सरकारी कार्यालयमा हुनेगर्ने घस्याङ्घुसुङ् कामहरु तुरुन्तै हुनुपर्छ भन्ने छ ? छँदैछैन । अझ सकिन्छ भने त आजको काम भोलि हैन पर्सि गर्नुपर्छ । पर्सि भन्ने दिन आउँदै आएन भने के गर्ने ? पर्सि आएन भने निकोपर्सि, निकोपर्सि पनि आएन भने कानेपर्सि, कानेपर्सि पनि आउँदै आएन भने कि त सेवाग्राही आफैँ तर्सिएर आउनै छाड्छ कि त सुटुक्क भेट्छ कुनातिर एकान्तमा । कुनैदिन राशिफलमा “मनग्ये धन आर्जन हुने” भनेर लेखेको रहेछ भने अवश्य भेट्छ कुनातिर । होइन भने त आजै गर्न सकिने काम पनि आजै गर्ने त कुरै छैन । आजको काम पर्सि ! कुरो त्यै हो ।
फुरौला सङ्ग्रहबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad