मुकुन्द आचार्यफोहोर गाली
एक जना यात्रु मोटरसाइकलमा अनेकथरि बोकेर वायुवेगमा हुइँकिदै थिए । झण्डै मलाई उनले आफ्नो वाहनले ठोकेर स्वर्गीय बनाएको ! भूलचुकले गरेको धर्मले ज्यान जोगाएछ भन्ठानें ।
मैले ती यात्रुलाई रोकेर सोधें, तपाईँ विदेशी जस्तो देखिनु हुन्छ । कुन देशबाट नेपाल भ्रमणमा पाल्नु भएको ? नेपालमा यहाँको स्वागत छ ।
ती यात्रुले गगल्स फुकालेर मुखमण्डलको पसिना पुछ्दै भने म देवराज ईन्द्र हुँ । नेपाल भ्रमणमा आएको । नेपालीहरूको कुनै समस्या छ कि ? केन्द्रको नेताले जिल्ले नेतालाई सोधे जस्तै उनले मलाई सोधी टोपले ।
मैले भनें, तपाईँलाई थाहै छ, हाम्रो देश पहिले ऋषि प्रधान थियो, अचेल कृषि प्रधान भएको छ र निकट भविष्यमा सिसी प्रधान हुँदैछ । यहाँ समय समयमा पानी परेन भने अर्थमन्त्रीले जतिसुकै फुर्ति लाए पनि अर्थतन्त्रको ढाड भाँचिन्छ । तपाईँ त पानी पार्ने देउता हुनुहुन्छ भन्ने सुनेको थिएँ । पानीमा पनि के कञ्जुस्याई गरेको ! देउता भएर पनि कति सानो चित्त त !
ईन्द्रले सोधे– ‘तपाईँ नेता त होइन ?’
मैले भनें, किन यस्तो फोहोर गाली गरेको ? म त अदना साहित्यकार हुँ ।
ईन्द्रले सतर्कतापूर्वक यताउति हेरेर भने– ‘त्यसो भए तपाईँलाई किन ढाँट्नु मैले नेपालमा पानी पार्न कञ्जुस्याइँ गर्या होइन । धेरै पानी पर्दा नेपालको कर विभागले कहाँबाट यति पानी ल्याइस् भनेर राजस्व अनुसन्धानलाई उचालेर मेरो हुर्मत् लिने त होइन ? त्यसैले नेपाललाई मैले कोटामा पानी दिने गरेको छु ।
मैले सही थापेँ, हो त नि ! साहित्यकारको साहित्यिक रचना छापिए बापत पाइने पारिश्रमिकबाट पनि जुन सरकारले कर लिने गर्छ त्यसको के ठेगान ! तपाईँले ठिकै साच्नु भएछ ।
म लाटालाई टाटा गर्दै उनी बाटो लागे ।
थानकोट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































