प्रेम ओली ढकलपुरेबेमौसमको झरी
मकै छर्नु थियो
बादल गर्दैन
धान रोप्नु थियो
पानी पर्दैन
तोरी काट्ने बेलामा
गड्याङ गुडुङ गर्छ
धान काटी भित्राउने बेला
मुसलधारे झर्छ
मसुरो पाक्ने बेला
असिना पो पर्छ
यो बेमौसमको झरी
गर्नुसम्म गर्छ ।
बाहिर जाने बेलामा
ह्वार्र आउँछ
साथीको बर्थ डे जान नपाई
छोरो कड्या’छ
तरकारी किन्न गा’की बुढी
बिच बाटोमै अड्क्या छ
आफ्नो पनि जरुर काम थियो
यो झरिले गर्दा
मन भट्क्या छ भट्क्या छ ।
यो बेमौसम झरी कस्तो कस्तो
निरुङ्कुशले कर्फ्यू लगाको जस्तो ।
बर्षातमा परे छाता बोकिन्थ्यो
कि रेनकोट ठोकिन्थ्यो
चिटिक्क परेर गयो
फर्किंदा भिजेको मुसा जस्तो
निथ्रुक्क भिजेर
रौँ पनि ठाडो ठाडो
सिरुको टुसा जस्तो ।
शिरदेखि पाउसम्म
लफक्क भिजाउँछ
भिजे पछी
तपाईंलाई पनि थाहै होला
कसरी कहाँ कहाँ बिजाउँछ ।
यो बेमौसमको के के बिगार्छ बिगार्छ
जाडोमा घाम बिगार्छ
खल्तिको दाम बिगार्छ
मजदुरको काम बिगार्छ
गोजीको खाम बिगार्छ ।
अरुलाई बिगारे पनि
जड्याहलाई सधैं
साइत पर्याछ
खान मन लाग्यो कि भन्छ
बुढी नखाउँ भनेको
आज त मौसमले पनि
साँच्चै च्यालेन्ज गर्या छ ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































