भवानी बरालसभासद्का प्रकार
उहिल्यै नेपाली साहित्यबारेको लेखापढीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसङ्ग आउँदा ‘महाकवि देवकोटालाई नचिन्ने विरलै नेपाली होलान्’ भनी पढ्नु पर्दथ्यो । संविधानसभा सदस्य चुनिने, छानिने प्रकारका बारेमा राजनीतिमा लागेका जो कोही पनि यसरी नै जानकार छन् । अर्थात् संविधानसभा सदस्य तीन प्रकारले छानिन्छन् । पहिलो, प्रत्यक्ष निर्वाचनबाट छानिने । दोस्रो, पार्टीलाई मत आएको आधारमा छानिने समानुपातिक र तेस्रो मन्त्रिपरिषद्बाट छानिने । भर्खरै सम्पन्न संविधानसभाको निर्वाचनबाट पहिलो दुई थरिका सभासद् छानिइसकेका छन् । तेस्रो छानिन बाँकी नै छ । पहिलो प्रत्यक्षमा पूरै भाले जुधाइ हुन्छ, जसले जे गरेर पछार्छ उही ‘शेर’ हुन्छ । ‘जो जिता वही सिकन्दर’ भने जस्तै हो । यसपटक जङ्गली भालेलाई लोकल भालेहरूले प्रत्यक्षमा धुलो चटाइदिए । अघिल्लोपटक यसरी नै जङ्गलबाट आएका लुइँचेले लोकल भालेलाई धोती न टोपी बनाएका थिए । अघिल्लो पटकका हरुवा लोकल भालेले धाँधली गरेर जङ्गलीले जितेको आरोप लगाए । यसपटक जङ्गलीले त्यसरी नै कोकोहोलो मच्चाए । खुट्टा टेक्नै दिएनन्, नत्र त पोहोर परारकै जसरी पछार्ने थियौंसम्म भने ।
यी त भए सभासद् छानिने प्रकारका कुरा । तर यसपटक दोस्रो समानुपातिक छानिने पद्धतिका बारेमा खुबै रामरमिता भएको छ । यहाँ समानुपातिक पद्धतिकै बारेमा रौंचिरा विश्लेषण गरिनेछ । समानुपातिक पद्धति प्रत्यक्षबाट चुनिएर आउन नसक्ने गरीब, गुरुवा, हरुवाचरुवा, उत्पीडित, सीमान्तकृत, अल्पसङ्ख्यकको लागि भनेर छुट्याइएको हो तर तिनकै नाममा नेताजीहरूले समानुपातिकलाई भोरजुवा नै बनाए । यो भोरजुवाको आधारमा समानुपातिकलाई मोटामोटी तपसिल बमोजिमका प्रकारमा विभाजन गर्न सकिन्छ :
१. रकमानुपातिक : समानुपातिकमा यो काइदाबाट सभासद् हुने तरिका हो । मोटो रकम दियो, सभासद् पड्कायो । चलनचल्तीको भाकामा यसलाई दामानुपातिक पनि भन्ने गरिएको छ । विजय गच्छदारको फोरम लोकतान्त्रिक यस मानेमा अगाडि देखियो । उसले नेपालमा बोर्डिङ स्कुल खोलेर अकुत सम्पत्ति कमाएका बाबुराम पोखरेल, गीता राणा र सेक्सका हावा कुरा पस्केर अकुत रकम कमाएका सुबोध पोखरेल, अरबपति व्यापारी पवनकुमार सारडालाई सभासद् बनाएर भित्र्याएको छ । कता मधेशीको हित गर्ने पार्टी, कताको सभासद् ? काङ्ग्रेस, एमाले, एमाओवादी कोही पनि सम्पानुपातिक सभासद् लिलाम गर्न कोहीभन्दा कम रहेनन् । एमालेले त ‘लक्ष्मी माता’ लाई नै सभासद् बनायो । यिनी हुन्, राज्यलक्ष्मी गोल्छा । यिनलाई सभासद् बनाएपछि एमालेका महिलाले जगटा नै फिँजाए तर कसैको दाल गलेन । एमालेकी रामकुमारी झाँक्रीले एमालेमा बगाएको रगत खेर गएकोसम्म भनिन् । कतिले झाँक्री बाहिर बोक्सीभित्र भनेर उल्याए तर नेता ओलीले एमालेमा धामी–झाँक्रीको काम छैन भनेर मुखमा बुजो लगाइदिए । यसका अतिरिक्त एमालेले महेन्द्र शेरचन, इच्छाराज तामाङ, केदार सञ्जेललाई पनि दामानुपातिक अन्तर्गत सभासद् बनाएको भन्नेहरू दुई मत छैनन् । एमाओवादीमा पनि रवीन्द्रप्रताप शाहले कति खोका ‘करोड बढी’ बुझाएर सभासद् उछिट्याएकोमा रडाको छ । एमाओवादीका अर्का दामानुपातिक उषाकिरण अन्सारी हुन् । राप्रपा नेपालले त दामानुपातिकमा रेकर्ड नै तोडेकोले पार्टी फुटाउनेसम्मको नौबत आयो ।
२. श्रीमतानुपातिक : श्रीमती अर्थात् घरकै ‘गृहमन्त्री’ लाई सभासद् बनाउने उद्यमको आविष्कारक झापाली नेता सीपी मैनाली हुन् । अर्का अनुयायी हुन्, शेरबहादुर देउवा । पहिलो संविधानसभामा मैनालीले सपत्नी सीता खड्कालाई सभासद् बनाएपछि देउवाले पनि आरजुलाई घान हाले । पहिलो संविधानसभामा एमाओवादी सपत्निक सभासद् त कति हो कति ? श्रीमान् प्रत्यक्षबाट, श्रीमती समानुपातिकबाट । यसको सिको यसपटक झनै मजाले दोहोरियो । भेट्रान साम्यवादी नेता मोहनविक्रम सिंहले सपत्नी दुर्गा पौडेललाई सभासद् बनाए । सद्भावनाका राजेन्द्र महतो, सङ्घीय सद्भावनाका अनिल झा, फोरुम गनतान्त्रिकका राजकिशोर यादवले सपत्नी सभासद् बनाए । सपत्नीलाई सभासद् बनाउन त प्रचन्नले पनि खोजेकै थिए तर बक्स अफिसमै विरोध भएपछि उनले सीताको नाम बेलैमा झिके ।
३. ओछ्यानुपातिक : यो कुरा भन्न त मिल्यो तर लेख्न मिल्ने हो– होइन, छलफलको विषय छ । बोलचालको लवजमा ओछ्यान तताएबापत सभासद् हातलागी गर्नेहरूलाई यो कोटीमा राखिएको छ । शरतसिंह भण्डारीलाई यसको जन्मदाता भनिन्छ । उनको समाजवादी पार्टीले यसपटक यस्तै निर्णय लिएर नयाँ खाता खोलेको छ । उसो त काङ्ग्रेसमा यो पद्धतिबाट थुप्रै सभासद् चुनिँदै आएको कुरा काङ्ग्रेसीहरू नै खासखुस गर्छन् । यो प्रणालीलाई प्रेमानुपातिक पनि भन्ने गरिएको छ ।
४. सर्वेसर्वानुपातिक : एउटामात्र समानुपातिक सिट ल्याउने दलका नेताले आफ्नो नाम आफैं सिफारिस गर्नु सर्वेसर्वानुपातिक पद्धति हो । गएको संविधानसभामा परिवार दल, चुरे भावर, दलित जनजाति, समाजवादी आदि पार्टीले यसो गरेका थिए । यसपटक यस्तो पद्धति अपनाउने खम्बुवान राष्ट्रिय मोर्चा, नेपाली जनता दल, समाजवादी जनता पार्टी आदि हुन् ।
५. छोरी–बुहारीनुपातिक : यो पद्धति पनि पहिलो संविधानसभाबाटै शुरु भएको हो । पहिलो संविधानसभामा जनता दल, राप्रपा नेपालले यसको शुरुआत गरेका हुन् । जनता दलकी छोरीनुपातिक सभासद् गायत्री शाह त रातो पासपोर्ट काण्डमा परिन्, त्यस बखत । यसपटक पनि राप्रपा नेपालले बुहारीनुपातिकलाई निरन्तरता दिएको छ । राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीकी बुहारी यसपटक पनि सभासदमा दोहोरिएकी छन् ।
यसैबमोजिम साला–सालीनुपातिक, ज्वाइँनुपातिक, छोरा–भतिजानुपातिक, हुक्केनुपातिक, चिलिमेनुपातिक, बैठकेनुपातिक अन्तर्गत पनि सभासद् चुनिएका छन् । यी प्रणालीबाट चुनिएका सभासद्का बारेमा पनि अनुसन्धान भइरहेको छ । यसका बारेमा अनुसन्धानपछि सत्यतथ्य बाहिर ल्याइने छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































