साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभासद्का प्रकार

Nepal Telecom ad

उहिल्यै नेपाली साहित्यबारेको लेखापढीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसङ्ग आउँदा ‘महाकवि देवकोटालाई नचिन्ने विरलै नेपाली होलान्’ भनी पढ्नु पर्दथ्यो । संविधानसभा सदस्य चुनिने, छानिने प्रकारका बारेमा राजनीतिमा लागेका जो कोही पनि यसरी नै जानकार छन् । अर्थात् संविधानसभा सदस्य तीन प्रकारले छानिन्छन् । पहिलो, प्रत्यक्ष निर्वाचनबाट छानिने । दोस्रो, पार्टीलाई मत आएको आधारमा छानिने समानुपातिक र तेस्रो मन्त्रिपरिषद्बाट छानिने । भर्खरै सम्पन्न संविधानसभाको निर्वाचनबाट पहिलो दुई थरिका सभासद् छानिइसकेका छन् । तेस्रो छानिन बाँकी नै छ । पहिलो प्रत्यक्षमा पूरै भाले जुधाइ हुन्छ, जसले जे गरेर पछार्छ उही ‘शेर’ हुन्छ । ‘जो जिता वही सिकन्दर’ भने जस्तै हो । यसपटक जङ्गली भालेलाई लोकल भालेहरूले प्रत्यक्षमा धुलो चटाइदिए । अघिल्लोपटक यसरी नै जङ्गलबाट आएका लुइँचेले लोकल भालेलाई धोती न टोपी बनाएका थिए । अघिल्लो पटकका हरुवा लोकल भालेले धाँधली गरेर जङ्गलीले जितेको आरोप लगाए । यसपटक जङ्गलीले त्यसरी नै कोकोहोलो मच्चाए । खुट्टा टेक्नै दिएनन्, नत्र त पोहोर परारकै जसरी पछार्ने थियौंसम्म भने ।
यी त भए सभासद् छानिने प्रकारका कुरा । तर यसपटक दोस्रो समानुपातिक छानिने पद्धतिका बारेमा खुबै रामरमिता भएको छ । यहाँ समानुपातिक पद्धतिकै बारेमा रौंचिरा विश्लेषण गरिनेछ । समानुपातिक पद्धति प्रत्यक्षबाट चुनिएर आउन नसक्ने गरीब, गुरुवा, हरुवाचरुवा, उत्पीडित, सीमान्तकृत, अल्पसङ्ख्यकको लागि भनेर छुट्याइएको हो तर तिनकै नाममा नेताजीहरूले समानुपातिकलाई भोरजुवा नै बनाए । यो भोरजुवाको आधारमा समानुपातिकलाई मोटामोटी तपसिल बमोजिमका प्रकारमा विभाजन गर्न सकिन्छ :
१. रकमानुपातिक : समानुपातिकमा यो काइदाबाट सभासद् हुने तरिका हो । मोटो रकम दियो, सभासद् पड्कायो । चलनचल्तीको भाकामा यसलाई दामानुपातिक पनि भन्ने गरिएको छ । विजय गच्छदारको फोरम लोकतान्त्रिक यस मानेमा अगाडि देखियो । उसले नेपालमा बोर्डिङ स्कुल खोलेर अकुत सम्पत्ति कमाएका बाबुराम पोखरेल, गीता राणा र सेक्सका हावा कुरा पस्केर अकुत रकम कमाएका सुबोध पोखरेल, अरबपति व्यापारी पवनकुमार सारडालाई सभासद् बनाएर भित्र्याएको छ । कता मधेशीको हित गर्ने पार्टी, कताको सभासद् ? काङ्ग्रेस, एमाले, एमाओवादी कोही पनि सम्पानुपातिक सभासद् लिलाम गर्न कोहीभन्दा कम रहेनन् । एमालेले त ‘लक्ष्मी माता’ लाई नै सभासद् बनायो । यिनी हुन्, राज्यलक्ष्मी गोल्छा । यिनलाई सभासद् बनाएपछि एमालेका महिलाले जगटा नै फिँजाए तर कसैको दाल गलेन । एमालेकी रामकुमारी झाँक्रीले एमालेमा बगाएको रगत खेर गएकोसम्म भनिन् । कतिले झाँक्री बाहिर बोक्सीभित्र भनेर उल्याए तर नेता ओलीले एमालेमा धामी–झाँक्रीको काम छैन भनेर मुखमा बुजो लगाइदिए । यसका अतिरिक्त एमालेले महेन्द्र शेरचन, इच्छाराज तामाङ, केदार सञ्जेललाई पनि दामानुपातिक अन्तर्गत सभासद् बनाएको भन्नेहरू दुई मत छैनन् । एमाओवादीमा पनि रवीन्द्रप्रताप शाहले कति खोका ‘करोड बढी’ बुझाएर सभासद् उछिट्याएकोमा रडाको छ । एमाओवादीका अर्का दामानुपातिक उषाकिरण अन्सारी हुन् । राप्रपा नेपालले त दामानुपातिकमा रेकर्ड नै तोडेकोले पार्टी फुटाउनेसम्मको नौबत आयो ।
२. श्रीमतानुपातिक : श्रीमती अर्थात् घरकै ‘गृहमन्त्री’ लाई सभासद् बनाउने उद्यमको आविष्कारक झापाली नेता सीपी मैनाली हुन् । अर्का अनुयायी हुन्, शेरबहादुर देउवा । पहिलो संविधानसभामा मैनालीले सपत्नी सीता खड्कालाई सभासद् बनाएपछि देउवाले पनि आरजुलाई घान हाले । पहिलो संविधानसभामा एमाओवादी सपत्निक सभासद् त कति हो कति ? श्रीमान् प्रत्यक्षबाट, श्रीमती समानुपातिकबाट । यसको सिको यसपटक झनै मजाले दोहोरियो । भेट्रान साम्यवादी नेता मोहनविक्रम सिंहले सपत्नी दुर्गा पौडेललाई सभासद् बनाए । सद्भावनाका राजेन्द्र महतो, सङ्घीय सद्भावनाका अनिल झा, फोरुम गनतान्त्रिकका राजकिशोर यादवले सपत्नी सभासद् बनाए । सपत्नीलाई सभासद् बनाउन त प्रचन्नले पनि खोजेकै थिए तर बक्स अफिसमै विरोध भएपछि उनले सीताको नाम बेलैमा झिके ।
३. ओछ्यानुपातिक : यो कुरा भन्न त मिल्यो तर लेख्न मिल्ने हो– होइन, छलफलको विषय छ । बोलचालको लवजमा ओछ्यान तताएबापत सभासद् हातलागी गर्नेहरूलाई यो कोटीमा राखिएको छ । शरतसिंह भण्डारीलाई यसको जन्मदाता भनिन्छ । उनको समाजवादी पार्टीले यसपटक यस्तै निर्णय लिएर नयाँ खाता खोलेको छ । उसो त काङ्ग्रेसमा यो पद्धतिबाट थुप्रै सभासद् चुनिँदै आएको कुरा काङ्ग्रेसीहरू नै खासखुस गर्छन् । यो प्रणालीलाई प्रेमानुपातिक पनि भन्ने गरिएको छ ।
४. सर्वेसर्वानुपातिक : एउटामात्र समानुपातिक सिट ल्याउने दलका नेताले आफ्नो नाम आफैं सिफारिस गर्नु सर्वेसर्वानुपातिक पद्धति हो । गएको संविधानसभामा परिवार दल, चुरे भावर, दलित जनजाति, समाजवादी आदि पार्टीले यसो गरेका थिए । यसपटक यस्तो पद्धति अपनाउने खम्बुवान राष्ट्रिय मोर्चा, नेपाली जनता दल, समाजवादी जनता पार्टी आदि हुन् ।
५. छोरी–बुहारीनुपातिक : यो पद्धति पनि पहिलो संविधानसभाबाटै शुरु भएको हो । पहिलो संविधानसभामा जनता दल, राप्रपा नेपालले यसको शुरुआत गरेका हुन् । जनता दलकी छोरीनुपातिक सभासद् गायत्री शाह त रातो पासपोर्ट काण्डमा परिन्, त्यस बखत । यसपटक पनि राप्रपा नेपालले बुहारीनुपातिकलाई निरन्तरता दिएको छ । राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीकी बुहारी यसपटक पनि सभासदमा दोहोरिएकी छन् ।
यसैबमोजिम साला–सालीनुपातिक, ज्वाइँनुपातिक, छोरा–भतिजानुपातिक, हुक्केनुपातिक, चिलिमेनुपातिक, बैठकेनुपातिक अन्तर्गत पनि सभासद् चुनिएका छन् । यी प्रणालीबाट चुनिएका सभासद्का बारेमा पनि अनुसन्धान भइरहेको छ । यसका बारेमा अनुसन्धानपछि सत्यतथ्य बाहिर ल्याइने छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x