मुकुन्द आचार्यनपत्याए हेर्नोस् न
चिडियाखाना हाकीमलाई दिनभरि कुर्सीमा थच्चिएर ग्यास्टिक बढेछ । चिडियाखानामा उत्पन्न भएको वायुलाई चिडियाखानामै त्याग गर्ने विचारले उनी टहल्न थाले ।
घुम्दै जाँदा एउटा बनमान्छेको खोर नजिक पुगेछन् । खोरमा बसेको बनमान्छेले हात जोडेर विन्ती ग¥यो, हजूर मलाई अब यहाँबाट मुक्ति दिनुस् । मलाई यहाँ राख्ने कुनै अर्थ छैन । मेरो साटो कुनै पनि एक नेपालीलाई यहाँ राखिदिए हुन्छ । मान्छेदेखि दिक्क भैसकेँ, बरु बनमै रमाउथेँ ।
हाकीम झस्के, के भन्या तैँले ? तेरो ठाउँमा कुनै नेपालीलाई राखिदिए त्यसको विचित्रताको परिचय कसरी दिने नि ?
बनमान्छेले प्रस्ट्यायो साब ! म जस्तो अनुहार हुने नेपाली पनि खोजे प्रशस्तै पाइन्छन् । कति त घुम्ने मेचमा बसेर निदाइरहेका होलान् । जहाँसम्म विचित्रताको कुरो छ, ढल मिसिएको पानी, मल मिसिएको तरकारी, धूलो र धुवाँ भरिएको हावा, ढुंगा मिसिएको चामल र दाल, नक्कली औषधि, नक्कली रक्सी खाएर पनि यो नेपाली यति वर्षसम्म बाँच्न सफल भएको छ, भनेर लेखिदिए हेर्नेको ताँती लाग्थ्यो ।
बनमान्छेको विचारले हाकीमको पनि चित्त बुझेछ । उनले माथि लेखेर पठाए, बनमान्छेको प्रस्ताव । माथिबाट आदेश आएछ, त्यसो नगर्नु । सरकारको नाक काटिन्छ ।
हाकीमले सरकारी आदेश बनमान्छेलाई सुनाइदिए । ‘सरकारको पनि नाक हुन्छ र !’ भन्दै बनमान्छे मरी मरी हाँस्न थालेछ । हाँस्दा हाँस्दै मरेछ । नपत्याए हेर्नोस् न, चिडियाखानामा बनमान्छे छैन ।
थानकोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































