भूकम्प, पीडित र राहत

हो, साँच्ची हामीहरू भुक्तभोगी छौं, दैवी प्रकोप होस् वा प्राकृतिक विपत्ति मानवले नचाहेरै पनि आउँछ । रोए पनि आउँछ, हाँसे पनि आउँछ, कराए पनि आउँछ, डराए पनि आउँछ, हराए पनि आउँछ । यसलाई रोक्न त देउताको बाबु प्रभुको त केही तागत छैन भने हाम्रा बाबुको छ झन् कुरै नगरौं । १९९० सालको भूकम्पले तर्सिएर हजुरबाले अलि–अलि भए पनि छेकबार लाएका थिए रे, बाबुको पालामा आफैले काटेर फाले, मेरो पालामा २०७२ सालको भुँइचालो आइहाल्यो, छोरोले अब त सत्तरी वर्षसम्मलाई ढुक्क भो भन्छ, नातिले उहिलेको कुरा खुइलिसक्यो भन्ला । त्यो बेलामा त झन् घरको छत हेर्न पनि सूर्य नारायणको दर्शन गर्न पर्दाझैं टाउकोलाई राइट एङ्गलको कोणमा झुकाउनु पर्ला । तैपनि त्यति सारो उत्पात नै पो के होला र हँ ? अहिले आठ÷दश हजार त हो मान्छे मर्या नातिको पालामा साम ब्याज जोडजाड गर्दा पनि आठ दश लाखको भन्दा बढी त मानब क्षति नहोला हँ ? रात रहे अग्राख पलाउँछ भन्छन्, अहिलैबाट के को पूर्व तयारी गर्नुपर्ला र ?

पाठक महाशय, हामी अहिले पनि त्रसित छौं, मुटु भएकाहरू भने हामीहरूमध्ये पनि कति त हर्षित छौं, यो मानेमा कि राहतको ओइरोले अलि–अलि थर्र्किएका पक्की घरमा पहिरो गएकोले । हामी नेपालीहरूको संस्कार नयाँ छ, चिन्तन नयाँ छ, सोच नयाँ छ, विचार नयाँ छ, काम गर्ने शैली नयाँ छ । यति हुँदाहुँदै अझ राहत वितरण गर्ने शैलीमा पनि आमूल परिवर्तत भएको छ । अरु देशमा त राहत वितरण भन्ने कुरो त जो साँच्चै पीडित छ, घाइते, नाजुक छ, कमजोर छ, उसले पाउँथ्यो । हाम्रो देशाँ भने कमजोर, गरिब, नाजुकहरूका घर वैशाख १२ गते, १२ बजेको भूकम्प सँगै गल्र्याम गुर्लुम ढले, आधाआधीले त्यहीँ थुपुक्क पुरिएर शान्ति पाए भने भागेर ज्यान बचाउन कसिएका अधकल्चाहरू झन् विपत्तिमा परे । तिनीहरूलाई थाहा छैन विचरा, सरकार भनेको के हो ?, राहत के हो ?, मिडियाले के भन्छ ? १० दिन १० रातसम्म आश गरिरहे सरकारले बडेमानको राहतको पोको बोकेर आउला भनी तर भगवानलाई जस्तो देख्नै नसकिने राहतको पोको उनीहरूलाई आउँदै आएन । तर पनि चुपचाप छन् विचराहरू, पाइएन भनेका छैनन्, खाइएन भनेका छैनन्, लाइएन भनेका छैनन् । अधकल्चा घाइते हातहरूले भग्नावशेष भित्र के लाउँदैछन्, आधा माटो मिसिएको अन्न खेलाउँदै छन् । उनीहरूलाई थाहा छैन अमेरिका के हो ? युरोपेली युनियन के हो ? राहत भनेको के हो ?

हामी अर्काथरी छौं, यो देशका महामहिमहरू । ७.८ को होइन ९.८ रेक्टर स्केलको भूकम्प आए पनि हाम्रो घरको जगको त कुरै छोडौं कपालको रौं पनि हल्लिँदैन । केही नहल्ले पनि के भो र ? असली सच्चा भूकप्प पीडित हामीहरू नै बनिरहेका छौं । सरकार हाम्रो छ, मिडिया हाम्रो छ । सित्तैमा पाइयो भने अलकत्रा पनि खाएर पचाउने बानी परिसकेकाहरूलाई सयौं देशबाट आएका राहतका पोका र प्याकेट पचाउन कुनै कसरत नै गर्नुपर्दैन । आँ ग¥यौं भने अलङ्कार निल्न सकिन्छ । अवसर, दाउ र भाउ मिल्यो भने साँच्चैका भूकम्प पीडितले भन्दा दशौं गुणा बढी याक्टिङ गर्न जानिन्छ । त्यसैको करामत भनौं वा चमत्कार, अहिलेको भूकम्प पीडितहरूको राहत वितरणको कार्यक्रमले पनि हामीहरूलाई थुप्रै आहत दिएको छ ।

भूकम्प गएको रात एउटा नयाँ अनुभवको लागि भए पनि खुल्ला आकाशमुिन यसो के आएका थियौं । आकाशबाट असिना बर्सेझैं, राहतका त्रिपालहरू टाउकोमा बर्सिन थाल्यो । भाग्य भए तालुमा आलु फल्छ भन्थे हो रहेछ गाँठे । एकै रातमा त्रिपालको खातैखात कोही नेपाली, कोही भारती, कोही बेलायती, कोही अमेरिकी आदि । यत्ति मात्र कहाँ हो र हजुर ? सरकारले जे–जे दिए पनि केही पनि पाइएन भनेर मिडिया उचाल्ने, अनि चक्काजाम, नेपाल बन्द र आन्दोलन गर्ने हाम्रो सनातन धर्मले यसमा पनि निरन्तरता पायो । अनि त गाँठे, त्रिपाल मात्र होइन चामलका पोका, चाउचाउका पोका, फलफूलका पोका, दूध दहीका पोका, हुँदाहुँदा दामका पोका पनि अलिअलि त हात परिहाल्यो । आपूmलाई चाहिएको खर्च गर्यो अनि बाँकी बक्यौता गोदाममा स्टोर गरेर राखेपछि मौकामा चौका हान्न मिल्दा चर्को दाम लिएर बेचिन्छ । यो सबै हामीकहाँ बाठैबाठाको देश भएर सम्भव भएको हो । हामीकहाँ सरकार बाठो छ, मिडिया बाठा छन्, जनता बाठा छन्, कर्मचारी बाठा छन्, व्यापार÷व्यावसायी टाठा छन्, सबै टाठा छन् । सोझा भनेका, मोरा भनेका साँच्चैका भूकम्प पीडित हुन्, तिनीहरू भूकम्प पीडित मात्रै होइनन् हजुर ! सरकारबाट पीडित हुन्, मिडियाबाट पीडित हुन्, कर्मचारीबाट पीडित हुन् । आफू बाहेक अरु सबैबाट पीडित हुन् ।

हामीहरूलाई थाहा नै छ, हामी नेपाली सगरमाथाको देशमा छौं, गौतम बुद्धको देशमा छौ, त्यसैले पनि हाम्रो साहस अदम्य छ, हाम्रै शिर ठाडो छ, त्यसैको करामतलाई अहिलेको भूकम्पको झड्कामा पनि नगुमाई उकालो चढिरह्यौं । हामीले छातीमा हात राखेर निर्धक्क भन्न सक्छौं । हाम्रा विश्व सम्पदा नष्ट भएको, हजारौं नरसम्हार भएको दृश्य आफ्नै आँखाको पर्दामा हेरिरहेका छौं, कैयौं जीवित आत्माहरू भग्नावशेषले पुरिएका छन् तर पनि हाम्रो विशाल छाती चिरिएन, हाम्रै दैनिकीमा अझ भनौं भने हुनेखानेको दैनिकीमा कुनै परिवर्तन आएन । जहाँ मिल्छ त्यही सुकुटी, छोइला र कवाफसँग दारु पिउने हाम्रो दैनिकीले एकदिन पनि विश्राम लिएन । मरेको सिनो ठुङ्न जाने कागले बरु आफ्नो कुनै कागलाई कुनै विपत्ति प¥यो भने सयौं कागहरू एक सेकेण्डमै जम्मा भएर उद्दार गर्छन् तर हामी महामहिमहरू अधकल्चा घाइते मानिसहरूको कुनै वास्ता नगरी सिनो खान तम्तयार परिरह्यौं किन कि यो हाम्रो अहिले विकास भएको अत्याधुनिक सभ्यता हो ।

पाठक महाशय, अहिले पनि भूकम्पको झड्का आउने क्रम जारी छ । राहत र पुनर्निर्माणका कुरा भैरहेका छन्, गैरहेका छन् । यसमा पनि हामी महामहिमलाई कुनै चिन्ता छैन । हाम्रा घर नचर्केर के भो र ? पुनर्निर्माणमा सरकारले बाँड्ने रकमको ठूलो हिस्सा हाम्रै पोेल्टामा आउनेछ, साँच्चैका भूकम्प पीडितलाई २/४ पोकाले हिर्काए भैहाल्यो, उनीहरू चुप लागिहाल्छन् । जति खाए पनि नअघाउने हामी छँदैछौं, जति पाए पनि केही पाइएन भन्ने हामी छँदैछौ । जय होस् भूकम्प पीडितहरूको, जय होस् महामहिमहरूको, जय जय, जय ।
२०७२/०१/२१
स्याङ्जा

रिमिक्स नेपाल

रिमिक्स नेपाल

गायत्री परिरोशनी
टाइम पास

टाइम पास

गायत्री परिरोशनी
रिमिक्स नेपाल

रिमिक्स नेपाल

गायत्री परिरोशनी
चम्चा चिन्तन

चम्चा चिन्तन

नरनाथ लुइँटेल
के रे ? नेतालाई चोर भन्छन् रे ?

के रे ? नेतालाई...

फित्काैली
बूढो नेताको भाषण

बूढो नेताको भाषण

खगेन्द्र नेउपाने