साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माफी पाम् माननीय !

Nepal Telecom ad

धरतीबाट जीव विलुप्त हुने रफ्तार सय गुणा बढेको र सर्वाधिक जोखिममा मानव जाति रहेको भन्ने नवीनतम शोध रिपोर्टले दुनियाँको ध्यानाकर्षण गरेको वेला मानव अन्तर्गतको सभासद् प्रजातिप्रति हामी नेपालीको संवेदनहीनता सम्झेर भयंकर ग्लानि हुन थालेको छ। संविधान नल्याएको बात लगाउँदै हाम्ले माननीयहरूलाई शहर–बजार, गाउँ–टोल, सडक–गल्ली, चमेनागृह–भट्टी कहीं टिक्न दिएनौं। उब्जिएको एक दशक पनि नपुग्दै थोपरिएका अनेकानेक फत्तुरले माननीय सभासद्हरूलाई जुन निमुखापनमा पुर्‍याएको छ, त्यसमाथि गम खानैपर्ने भएको छ।

भोलेबाबाको जटाबाट गंगाजी बहे झैं मौसूफको बाहुलीबाट राजकीय सत्ता कुलकुलाउने जुगबाट त्राण पाई गणतन्त्र नेपालको नागरिक बन्दाको फुईंमा हाम्रो खुट्टीले पनि भुईं छाडेकै हो। अनेक जुगमा एकबार आउने बताइएको संविधानसभाका लागि यही ज्यानले दुईबाजी भोट खसाल्दा पनि जडी कुरोको भेउ नपाउने लन्ठुको खप्परले अनेक ठक्कर भेट्नु नै थियो। सम्प्रभु जनताको मतप्राप्त सभासद्ज्यूहरू संविधान कोर्न सार्वभौम होलान् भन्ने हाम्लाई लागेकोमा दुई दुना चार हुँदै आठ वर्ष तुरिंदा पनि हातलागी शून्य हुने लक्षण देख्दा मनमा सल्क्या डढेलोको भुतभुते पनि माननीयकै थाप्लोमा खन्याइयो। माननीय देख्यो कि, जिब्रो चिलाएर के भनम् के भनम् हुने, कलम बोकेका हातहरू सुकेलुतो लागे झैं त्यसैत्यसै सक्सकाउने। सत्ता चखुवा, भत्ता घिचुवा, अल्छीको पुङ, बेथितिको भकारी के–के भनियो के–के! बरा माननीयहरूले चाहिं निरन्तर बत्तिसी देखाउँदै सामान्य रहनुपर्ने, नत्र स्थिति बिग्रने!

उता बखेडाको अखडामा भने अरू नै कोही कुटिलता मुस्कुराइरहेका छन्। तिनका त्रिताल ठम्याउन नसक्ने हामी अनाडीले \’बाह्र वर्ष पछि लागें पियारी, झ्रेनन् ती निरन्तर\’ हुनुको झोंक अदना सभासद्हरूसँग झार्‍यौं, जो त्रितालेहरूको सहमतिले संविधान बन्ला कि भनी बसेका छन्। सभासद्हरू हौसिएर हुने केही होइन। लौ, उनीहरूले बनिबनाउ संविधानमा हस्ते धस्काउन पाए रे, शीतलनिवासमा गर्मी भयो भने सब हेरेको हेर्‍यै। उता, दिनकटनीको लागि रिट ठेल्ने कालाकोटेहरूले अदालती आदेश/परमादेशको भवसागर निर्माण गरिदिनसक्ने सम्भावना आफ्नो ठाउँमा छँदैछ।

बेवकुफ हुनु र नहुनुबीचको सीमारेखा ग्रेटवाल झैं गोचर नभई साह्रै मिहीन हुने ज्ञानीजनको मत छ। त्यसमाथि, यो युगमा बेवकुफ र बिजाइँवादीलाई कपडछान् गरेर बस्नु ज्यादै दुरुहकर्म हो। यहीबीचमा द्वितीय र तृतीय पुरुष (समावेशितालाई उच्चसम्मान गर्दै महिला समेत) लाई लम्पट सावित गर्ने सामाजिक उद्यम पनि अहोरात्र चल्दो छ। यस समाजको सदस्य हुनुको नाताले सभासद्हरूलाई बातबातमा चमाट लगाउन हाम्ले एकरत्ति कन्जुस्याइँ गरेनौं। कदाचित्, कतैबाट एक थान संविधान फ्याट्ट फालियो भने नेपालबाट सभासद् प्रजाति लोपै भएर जाने तथा तिनले चाहेर मात्र संविधान नआउने सत्यलाई मनन् गर्दा भने अचानक मूढता बिराम हुँदोरहेछ।

जति भूमिका बाँधे\’नि बक्न खोजेको चुरो कुरो चाहिं यत्ति हो– हे माननीयज्यू, आफ्नो कृत्यप्रति हामी शर्मिन्दा छौं। हामीले आफ्नै कर्ताधर्ता, विघ्नहर्ता प्रतिनिधि यहाँहरूमाथि धारे हात लगायौं। यति सराप्यौं कि झिंगाको सरापले डिंगा मर्ने भए यहाँहरूको पूरै प्रजातिको चिलिम फर्किसक्नेथियो, दोस्रो संविधानसभा निर्वाचन हुने नै थिए। बाटो ढुकेर, गौंडो कुरेर ख्यारी–ख्यारीकन दुर्मुखास्त्र प्रहार गर्ने, कसरी हुन्छ– लतार्ने, दराल्ने, गिजोल्ने, छिमल्ने, खुइल्याउने यावत् कर्तुत गरिकन साह्रै आततायी भयौं। तर, तपाईंहरू त हामी जनता भन्दा पनि फुङ्गा, फक्कड र संकटापन्न पो हुनुहुँदोरहेछ!

तपाईंहरूले बनाउन खोजेकै भरमा संविधान नबन्ने सत्य नबुझी एकोहोरो खेद्ने र बित्थाको अवगाल बोकाउने महाभूल भयो। संविधानसभाबाट संविधान बनाउने लालसामा भट्किरहनुभएका तपाईं सभासद्हरूसँग सामूहिक माफी माग्दछौं। कसूर लर्तरो छैन, तर के गर्नु, तपाईंहरू बाँदरको पुच्छर हो भने हामी पनि साँढेको पुच्छर हौं। बाँदरको पुच्छर न लौरो, न हतियार भए जस्तै साँढेको पुच्छर पनि न काट्नु न साट्नुको जिनिस हो। सामूहिक माफी कबूल होस्, बस्!

हिमाल खबर पत्रिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x