साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अघिल्लोपटक भूमिगत विद्रोही ध्रुवे

Nepal Telecom ad

अघिल्लोपटक भूमिगत जीवनबाट सार्वजनिक हुँदा ध्रुवे हात्तीले धेरै चामत्कारकि कार्यहरू गरेको विषयमा चर्चा भइसकेको छ। ध्रुवेले छापामार युद्ध लडेको, सेनासँग भिडेको, जंगमा मार्च पास गरेको, पटक पटक सेल्टर सारेर सत्ताधारीहरूलाई जिल्याएको, दर्जनौँ वर्गशत्रुको सफाया गरेको, कैयौँपटक बस्तीहरू घेरेर प्रहरी, सेना र वरिष्ठ प्रशासकहरूलाई आच्छु आच्छु पारेको, राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा चर्चित भएको लगायतका घटना ताजै छन्। सरकारले ध्रुवेलाई आतंककारी घोषणा गरेर देख्नेबित्तिकै गोली हान्ने आदेश जारी गरेको थियो। आदेश अनुसार कहिले झाडीमा, कहिले उखुबारीमा अन्धाधुन्ध गोली पनि चलाइएको थियो। सुरक्षाकर्मीहरूले ध्रुवेलाई जिउँदो वा मृत पक्रन घेराउ गरेका थिए, एम्बुस थापेका थिए। त्यो वर्ष हिंस्रक जनावरको नाममा इतिहासकै सबैभन्दा ठूलो कारबाही ध्रुवेमाथि गरिएको थियो। तर, ध्रुवेको रौँ पनि हल्लिएन। ध्रुवेले हार मानेन। ध्रुवेले आत्मसमर्पण पनि गरेन। ध्रुवे झन् झन् क्रान्तिकारी भएर निस्कियो।
परििस्थति केही प्रतिकूल भएकाले शत्रुहरूलाई झुक्याउँदै ऊ पुनः भूमिगत भयो। एक वर्षमा थप शक्ति सञ्चय गरेर भर्खरै ध्रुवे धूलो टकटक्याउँदै उठेको छ। उसको रिनाँसाले रौतहटलगायतका क्षेत्रमा फेरि हलचल आएको छ। उसको पुनःजागरण हेर्दा ऊ अझै सशक्त, क्रान्तिकारी र गुरल्िला युद्धमा पोख्त भएको छ। ध्रुवे निरंकुश शासक वर्गका अह्रौटे-भरौटे सुरक्षाकर्मीहरूलाई बिरालोले मुसो खेलाएजस्तो खेलाउन सक्ने भएको छ। ऊ उत्तरतिर जंगलमा ढुंगो फालेर झाडी हल्लाउँछ र दक्षिणतिर गएर वर्गशत्रुहरूका घरमा गल लगाउँछ। सुरक्षाकर्मीहरूलाई एकातिर कुदाउँछ र अर्कैतिर गएर लुटपाट मच्चाउँछ। रातरातभरि सुरक्षाकर्मीहरू पूर्वतिर बन्दुक तेस्र्याएर जागा बस्छन्, ध्रुवे उनीहरूकै पछाडिबाट तिनीहरूलाई पुच्छर देखाउँदै पश्चिमतिर गएर ध्वंस गर्छ। ध्रुवेको रणकौशल अद्भुत छ।
ध्रुवेले अलि अस्ति नै आन्दोलन थाल्ने विचार गरेको थियो तर एनेकपा माओवादीले एउटा चुनावी सभामा \’हामीले चुनाव जित्यौँ भने हात्ती आतंक बन्द गरिदिन्छौँ\’ भनेपछि ध्रुवे एक पाइला पछि हटेको हो। ऊ जसबाट प्रभावित भएर संघर्ष गररिहेको थियो, उसैले यस्तो घोषणा गर्दा ऊ आक्रोशित भयो। ध्रुवेले विचार गर्‍यो, \’कमरेड वैद्य आफ्नै चेला प्रचण्डविरुद्ध चुनावमा बन्चरो बोकेर लागेका छन्। यिनीहरू आफ्नै जातका, आफ्नै सहकर्मीलाई त छाड्दैनन् भने मलाई के बाँकी राख्लान् !\’ त्यसैले ऊ चुनावको परिणाम आफू अनुकूल आओस् भन्ने प्रार्थना गर्दै अज्ञात स्थलमा लुकिरह्यो। जसै एमाओवादी पार्टी चुनावमा पछि पर्‍यो, तसै ध्रुवेको खुसीको सीमा नाघ्यो। ऊ फेरि उत्तेजित भयो, मात्तियो र पुनःजागृत भएर वर्गीय दुस्मनहरूका बस्तीमा उधुम मच्चाउन थाल्यो।
ध्रुवे छापामार मानव लडाकूहरू, तिनीहरूका नेताहरूभन्दा धेरै चलाख, चतुर र बहादुर मात्र होइन, सिद्धान्त र क्रान्तिका मामलामा इमानदार पनि देखियो। जनतालाई पटकपटक झुक्याएर क्रान्तिलाई बारम्बार दक्षिणपन्थमा विसर्जन गर्ने कथित् क्रान्तिकारीहरूभन्दा ध्रुवे धेरै निष्ठावान् देखियो। उसले आफ्नै वर्ग वा आफ्नै जातका जन्तुहरूलाई आक्रमण गरेको, मारेको वा अन्तरघात गरेको कहिल्यै सुनिएन। ध्रुवेले युद्ध अपराध गरेन।
हाम्रो दुर्भाग्य नेपाली क्रान्तिको इतिहासमा ध्रुवेजत्तिको इमानदार र क्रान्तिकारी नेता पनि हामीले आजसम्म पाउन सकेनौँ। बेइमान, धोकेवाज र अन्तरघाती नेतृत्ववर्गको माखेसाङ्लोबाट यो देश कहिले बाहिर निस्केला, ए ध्रुवे !

‘नेपाल’ ५७५ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x