दुर्गाप्रसाद ग्वालटारेसुनारपाने जुत्ता
सधैं सबेरै उठ्छिन् देवमायाँ । घर बढार्छिन्, लिपपोत गर्छिन, धाराबाट पानी ल्याउँछिन्, हतार–हतार भान्सा तैयार गर्छिन् र छोराछोरीलाई स्कुल पठाउँछिन्, अनि बाँकी घरधन्दा र बस्तुभाउमा लाग्छिन् ।
आज अरूदिन भन्दा छिटो उठेर दिउँसोको धन्दा पनि भ्याइन् उनले किनकी संबिधानको सुझाव सङ्कलन गर्न स्कुलको चौरमा आयोजना गरिएको भेलामा जाने इच्छा थियो उनको ।
पल्लाघरे जेठानी दिदीसँगै भेलामा गइन् उनी । छलफल र घम्साघम्सी हेरिन्, सुनिन् । धेरै कुरा बुझिनन् तर केहिकेहि बुझिन् ।
“कामै नगरी बस्नेलाई भत्ता दिने रे सरकारले । त्यस्तो पनि हुन्छ ! काममा दलाओस् न, गल्ली सफा गर्न लाओस्, खोलामा बाँध बाँध्न ढुङ्गा बोकाओस्, भत्किएका पाटिपौवा र चौतारा मर्मत गर्न लगाओस् अनि पो दिने भए पनि ठिकै हुन्छ । हल्लिएर खान पल्केकाहरूले उल्टै पैसा पाउने रे !…काहीँ नभाको जात्रा हाँडीगाउँमा !“ झन्किंदै जुरुक्क उठिन् र “जौं दिदी” भन्दै हात तानिन् देवमायाँले जेठानी दिदीको ।
त्यसै बेला टारिगाउँका मास्टरबा पनि भेलाबाट बाहिर निस्कँदै थिए । “सातसाल पनि देखियो, सत्रसाल पनि हेरियो, सठ्चालिस् साल पनि भोगेकै हो… क्या गजबको नाटक, सुनार्पाने जुत्ताजस्तो” भन्दै भट्भटाउँदै थिए उनी । मास्टरबाका अरू कुरा त बुझिन् देवमायाँले तर सुनार्पाने जुत्ताको प्रसंग भने पटक्कै बुझिनन् । नाताले ससुरा पर्ने भएकोले सार्बजनिक स्थलमा सवाल(जवाफ गर्नु पनि उपयुक्त ठानिनन् उनले ।
“मास्टरबाले सुनारपाने जुत्ता भन्दै झोक्किएर हिंड्नु भो, के भनेको होला आमा ?” साँझको भातभान्सा पछि दिउँसोको प्रसङ्ग उल्लेख गर्दै सासुसँग सोधिन् देवमायाँले ।
“हाहाहा…पहिले पहिले हाम्रो पालामा केटाकेटीहरूलाई जुत्ता लाउने रहर भएपछि घरमुलिले जुत्ता सिउनेलाई बोलाएर नापो लिन लाउँथे । परालको डाँठ चुँडेर जुत्ताको नापो लिन्थे र झोलामा हालेर हिंड्थे । केटाकेटी मख्ख परेर आशा गरेर बस्थे तर जुत्ता कहिल्यै आउँदैनथ्यो । पछि कच्कच बढेपछी फेरि बोलाइन्थ्यो नापो लिन” हाँस्दै प्रस्ट पारिन् सासूले ।
सुनारपानी भन्ने गाउँ रामेछापमा पर्दछ र उसबेला त्यहाँका चर्मकारहरूले चिटिक्क परेका अप्रसोधित छालाका घरेलु जुत्ताहरू बनाई बिक्री गर्ने गर्दथे भन्ने कुरा पनि सासुआमाले कुराको सन्दर्भमा प्रस्ट्याइन् देवमायाँलाई ।
उतिबेला आफ्ना रहर मेटाउन अभिभावकबाट कसरी केटाकेटीहरू झुक्क्याइँदा रहेछन् भन्ने कुराले चक्क्राएकी देवमायाँ राती अबेरसम्म छट्पटाई रहिन् र अर्ध्निन्द्रामा भएका पतिलाई कोट्ट्याउँदै सोधिन् “संविधान साँच्चै बन्छ त ? अनि लेखिएका सबै कुरा लागू हुन्छन् त किस्नेका बा ?”
किस्नेकाबा बिउँझिए र एकछिन् झोक्राए अनि “ऐले छोड्दे“ भन्दै फेरि सुते । देवमायाँले पनि थप प्रश्न गरिनन् ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































