साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नर्क जाने मेसो

Nepal Telecom ad

‘तँ मरेपछि यमराजले सोझै तँलाई नर्क पठाउँनेछन् र तैंले गरेको पापको बदला लिनेछन् ।’ लामो समयपछि भेट भएको एकजना पूर्वलेखक साथीले मलाई यसरी तर्सायो । आश्चर्य प्रकट गर्दै मैले नर्क जानुपर्ने कारण सोधें ।

उसले भन्यो– ‘देशका सबै महान् व्यक्तित्वहरूलाई सरापेर जिवीकोपार्जन गर्ने तँ जस्तालाई यमराजले स्वर्ग पठाउलान् त ! बल्ल बल्ल पाएको यो नरचोलालाई यसरी पाप जम्मा गर्ने भाँडो बनाएपछि तँलाई नर्क नपठाए कसलाई पठाउने ? एउटा राम्रो जागिर खोजेर खानू, नभए कुनै व्यापार व्यवसाय गर्नू, पैसो कमाउनू, स्वास्नी छोराछोरीलाई सुखले पाल्नू, घर बनाउनू, गाडी किन्नू । त्यस्तै केही गर्न नसके बरु चोर्नू, पाकेट मार्नू, ठगी गर्नू, ठिटी बेच्नू, ठिटा निकासी गर्नू, भट्टी खोल्नू, नक्कली नोट छपाउनू, नक्कली लालपूर्जा बनाउनू, जनताको रगत पसिनाको पैसामा बैंक खोलेर एकदुई वर्षमै अर्बपति हुनू । यस्ता कर्म गरेर धर्म बटुल्न छाडेर सराप्ने दुष्कर्ममा लागेर तैंले के पाउँछस् ? कुन दिन कुन चाहिँ महापुरुषले एउटा डन पठाएर टाउकामा घनले हनाउँछ अनि स्वास्नी छोराछोरीले तँलाई नै सराप्न थाल्छन् रातोदिन । पेसा गर्नु त गर्नु, यस्तो सराप्ने पेसा पनि गर्नु ! छिः छिः छिः !

साथीको कुरा नबुझेर म जिल्ल परिरहेँ । म जिल्लिएको देखेर उसले एउटा कथा सुनायो–
‘काठमाण्डूतिरकै पुरानो चलन हो । कथित् कुनै एउटा तल्लो जातका पुरुषहरू बेलाबेला गाउँतिर माग्न जान्थे । घरमा तिनीहरूलाई ठूलो स्वागत सत्कार हुन्थ्यो । अरु अरु माग्ने वा जोगीहरूलाई दुईचार मुठी कुहिएका चामल दिन पनि कञ्जुस्याईँ गर्ने गृहिणीहरू त्यस्तो माग्नेलाई भने देउतै प्रकट भएझैं गरी खुबै खातिरदारी गर्थे । त्यो जमानाको एक मोहोर वा एक रुपियाँ नगद, प्रशस्त चामल, घिऊ, नून, तेल आदि राखिएको नाङ्लो फूलले सजाएर टक्र्याइन्थ्यो । त्यसरी सिदा टक्र्याएपछि घरमूलीहरू हात जोडेर आशिक थाप्न निहुरिन्थे । अछूत भनिने जातको त्यो माग्नेले चाहिँ त्यसपछि घरमूलीलाई धारेहात पारेर तथानाम सराप्न थाल्थ्यो– तम पापीहरूको सत्यानास होओस् । बाह्रै महिना अनिकाल लागोस् । स्वास्नीको कोख र लोग्नेको खेत बाँझो होओस् । गाईवस्तुहरू ठाउँको ठाउँ मरेर गोठ रित्तो होओस् । परिवारैलाई कोर सल्कियोस् । धानको कुन्यूमा आगो लागोस् । खेतमा उन्यू उम्रियोस् । बाँच्न पनि सुख नहोओस्, मर्न झन् कठिन होओस् । आदि इत्यादि अनेक ।’

त्यस्तो उदेकको चलनको तात्पर्य के रहेछ भने तल्लो जातको माग्नेले माथिल्ला जातकाहरूलाई सरापेको ठ्याक्कै उल्टो लाग्छ भन्ने विश्वास रहेछ त्यो बेला । उसले जति तल्लोस्तरमा गिरेर मनपरि सराप्छ उत्ति नै सरापिने परिवारको उन्नति हुने रे । जति घटिया सराप गर्ने माग्ने आउँछ उत्ति नै बढी दक्षिणा पाउँथ्यो रे ।

साथीले कथालाई यसरी जोड्यो– ‘हो, त्यही सराप्ने मान्छे जस्ता हौँ हामी व्यङ्ग्यकारहरू । पत्रपत्रिकामा सराप छपाएर पारिश्रमिक लिएर जीविका गर्छौँ । जति हामीहरू सराप्छौँ उत्ति नै नेताहरूको सम्पन्नता बढ्छ । त्यसैले हामीहरूको सराप हाँसी हाँसी ग्रहण गर्छन् नेताहरूले र झन् झन् सुखी हुन्छन् ।’

तर्क गरेर नहार्ने लेखक मित्र एकोहोरो भन्दै गयो– ‘नेता भनेका हात्ती हुन्, हामी लेखक, कवि, कलाकार, पत्रकार, स्तम्भकार, व्यङ्ग्यकार भनेका कुकुर । हामी जति भुके पनि हात्तीहरू थाहै नपाएजस्तो गरेर लम्किरहन्छन् । हामी हात्तीलाई टोक्न सक्तैनौँ, चिथोर्न सक्तैनौँ, धेरै भए रिसले मुर्मुरिन्छौँँ, त्यत्ति हो । बाँधेको हुन्छ नि त साङलोले– पार्टी सदस्यताको साङ्लोले, नातावादको साङ्लोले, कृपावादको साङ्लोले । साङ्लोमा बाँधिएर हामी वर्षौंदेखि तिनीहरूलाई भुकिरहेछौँ । यताबाट, उताबाट, तलबाट, माथिबाट, भोटे स्वरमा, खिच्चा स्वरमा, भाले स्वरमा, पोथी स्वरमा, लोकल स्वरमा, आयातित स्वरमा, रातमा, दिनमा अनेक तरिकाले । पुस्तकमा, पत्रिकामा, गोष्ठीमा, सेमिनारमा रेडियोमा, टेलिभिजनमा, वेभसाइटमा जताततै भुकेका छौँ । जति भुकौँ न हामी, हात्तीहरूले टेरे पो ! तिनीहरू वस्तीमा पस्न छाड्दैनन्, बाली सखाप पार्न छाड्दैनन् । रुख ढाल्छन्, घर लडाउँछन्, चपाउँछन्, अघाउँछन्, उग्राउँछन् । यस्तोमा भुक्नुको के अर्थ छ ? मैले पनि जिन्दगीमा धेरै भुकेँ । म राम्रै भुक्थेँ । पत्रपत्रिकाहरूले मेरो भुकाइ खूब छापे र बेचे । एउटै नेतालाई नछाडी भुकेँ । जति भुके पनि पार नलागेपछि मैले त भुक्ने पेसै छाडिदिएँ, तँ पनि छाड् र काम गर्न थाल् ।’

साथीका कुरा सुन्दासुन्दै मलाई पनि हो कि क्या हो जस्तो लाग्न थाल्यो । सम्झेँ, म पनि वर्षौँदेखि भुकेको भुकेकै छु । सरापेको सरापेकै छु । साँच्चै पापको ठूलै भारी बोकियो कि क्या हो । लेख्न छाडूँ कि क्या हो, एक मनले सोच्यो । फेरि सम्झेँ केही न केही त होला नि होे कुनै दिन ! यसरी कसैको बहकाऊमा लागेर आफ्नो कर्म छाड्नु त भएन नि ! यी छाडा हात्तीहरूलाई नाङ्लो ठटाउन छाड्नु भएन, राँको बालेर तर्साउन छाड्नुभएन, चैनले खान दिनु्भएन भन्ने लागेर म त फेरि लेख्न थालेँ, त्यो साथीको भाषामा भन्ने हो भने भुक्न थालेँ । नर्कै जानु परे पनि जाउँला, म त फेरि लागेँ है हजुरहरू हो सराप्ने कर्ममा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x