डा. कपिल लामिछानेअनुकरण
क्याम्पसमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । सारा जेहेन्दार र उत्कृष्ट छत्रछात्राले भाग लिएका थिए । तिनै मध्येबाट अझ उत्कृष्ट छानिएका दस छात्र छात्राको फाइनल प्रतियोगिता तथा पुरस्कार वितरण समारोहको आयोजना गरिएको थियो । समारोहमा प्रमुख अतिथिका रूपमा शिक्षामन्त्री उपस्थित थिए । प्रतियोगीहरूले उक्त विषयमा वक्तृत्वकला प्रदर्शन गरे ।
अन्तिममा पालो आयो देशबन्धुको । उसले जातीय, क्षेत्रीय, भौगोलिक, भाषिक, प्राकृतिक, जैविक विविधिता युक्त आफ्नो देश आफ्नो गौरव भएको, सगरमाथा, बुद्ध, जनक, अरनिकोको देश आफ्नो आदर्श भएको, वीरतापूर्ण इतिहास बोकेको देशको आफू नागरिक हुन पाउँदा आफूलाई गौरव लागेको, देश नै आफ्नो एक मात्र अस्तित्व र पहिचान भएको भन्दै बडो भावुक मुद्रामा धाराप्रवाह वक्तृत्व प्रस्तुत ग¥यो । मन्त्रीजीले बेलाबेलामा ताली ठोके । उनी जुरुक–जुरुक भए ।
देशबन्धु प्रतियोगितामा प्रथम भयो । तालीका गडगडाहटका बिचमा मन्त्रीले पुरस्कार दिए, सम्मान गरे र हात मिलाए । उनले भने– म तपाईँको विचार, आदर्श र वक्तृत्वबाट सारै प्रसन्न भएको छु । भन्नुहोस् म तपाईंलाई के सहयोग गर्न सक्छु ?
देशबन्धुले भन्यो– त्यसो भए मलाई डी.भी. पारिदिनुस् ।
मन्त्री रलभुल्लमा परे । अघि बोल्ने मान्छे र अहिले सामुन्ने उभिएको मान्छे उही हो कि अर्को दोधारमा परे ।
उनले भने– त्यो त कोसिस गरुँला, तर तपाईंले अघि स्पिचमा त …!
देशबन्धुले भन्यो– त्यो त हेर्नुहोस्, तपाईंहरू यहाँ कस्ता कस्ता भाषण गर्नुहुन्छ र वहाँ कस्ता कस्ता काम गर्नुहुन्छ । त्यसबाट मैले पनि त केही सिक्नै पर्यो नि !
Subscribe
Login
0 Comments
Oldest





































