दुर्गाप्रसाद ग्वालटारेरसमती
(गाईजात्रा २०७२)
बान्द्रे र म बाल्यकालका साथी उखु खान भने पछि दुबै हुरुक्क । ऊ मभन्दा अली बढी हेर्दा सोझो तर धुर्त । उसले मलाई टुप्पो दिन खोज्थ्यो जैले पनि । भन्दथ्यो– फेदभन्दा टुप्पो कमलो पनि हुन्छ पचउन सजिलो पनि । उसको चलाकी म बुझीबुझी बुझ पचाउँदथे ।
उखु धनी चिन्तित थिए– दिन दिनै उखुका लाँक्रा घट्दै गएको देखेर । डिलमा भड्खालो बनाए, बयरका झिक्रा हाले ।
भड्खालोमा बाँस तेर्स्याएर काँडा थिच्दै उखुबारीमा पुग्नुपर्ने भयो । म बाँस समाउने, ऊ चाहिँ झुन्डिदै पारी जाने र उखु भाँच्ने ।
उसले नयाँ सीप हासिल गर्यो– बाँस समाउनु र काँडा थिच्नु नपर्ने भयो । अनि ऊ हौसियो । मलाई थाहै नदिकन उखु चोर्ने गर्न थाल्यो ।
किसानले चलाकी गरेर भड्खालो पुरे । अग्लो बार हाले । त्यसमाथि फेरि काँडा राखे ।
बान्द्रेलाई म फेरि चाहिने भो बार नाघ्न । फेरि मसँग आयो, नानाभाँती कुरा गर्यो । सहमति गरौँ भन्यो ।
“गर्छु म सहमति बजिया बान्द्रेसित ।” म ठस्किएँ केही काल । तर ठुस्काइ दिगो भएन । बारीमा उखु रहुन्जेल हाम्रो ’सहमति’ कायम रह्यो । फेरि टुट्यो–फेरि जुट्यो ।
उखुको रससँगै बन्ने हाम्रो मती ‘रसमती’ पो रहेछ– ऐले बुझ्दैछु । शायद बान्द्रेको बुझाई पनि त्यस्तै होला !
हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































