प्रेम ओली ढकलपुरेमेरो कुकुर क्या मोटाको छ
गाउँमा छँदा
घरी पल्नो गाउँ जान्थ्यो
घरी वल्नो गाउँ जान्थ्यो
जसले जे दिए पनि
पुच्छर हल्लाउँदै खान्थ्यो
सिदा थियो सादा थियो
थोरै कलो भए पनि मान्थ्यो
तर राजधानी आएपछि
पाँच तारे होटेलमा जान्छ
टन्न मासु मासु खान्छ
चिल्लो चपिलो भाको छ
मेरो कुकुर त क्या मोटाको छ ।
गाउँमा छँदा भुक्दै
गाउँ गाउँ जान्थ्यो
जसले जे भने पनि मान्थ्यो
गाउँलेलाई मालिक नै ठान्थ्यो
तर काठमाडौं आएपछि
कहाँ खान पाईन्छ हिँड्छ
पाएन भने
खानकै लागि भिड्छ
बागदरबार पनि छिर्छ
सिंहदरबार पनि छिर्छ
उस्तै परे
खान नपाको झोकमा
सरकारी कुखुरालाई पनि पिर्छ
कहाँ कहाँ के पाउँछ
पत्ता लगाउनेमा वीर छ
त्यसैले मेरो कुकुर
चिल्लो चपिलो भाको छ
पोहर भन्दा क्या मोटाको छ ।
सुकुटी परेका खुट्टा थिए
चाम्री परेका छाला
सारङ्गी जस्तो पेट थियो
दाम्री परेका गाला
महानगर पसेपछि
कहाँ कहाँ पाउँछ जान सिक्यो
कहाँ कहाँबाट आउँछ खान सिक्यो
मगाएर खायो
फकाएर खायो
धम्काएर खायो
दम्काएर खायो
त्यसैले हेर्दा हेर्दै मेरो कुकुर
चिल्लो पिरो भाको छ
पहिलेको भन्दा क्या मोटाउँदै गाको छ ।
अब पहिले जस्तो भुक्दैन
कसैको दैलो पनि ढुक्दैन
सहरमै भुलेको छ
गाउँमा पनि पुग्दैन
अब त आफूलाई मालिक ठान्छ
कसैसङ्ग पनि झुक्दैन
तर एक दिन
तुर्काउँदै बाटो भरी
गाउँ त जानु पर्ला
शहरको खाने बाटो सकिएपछि
गाउँलेको खाना त खानु पर्ला
तर जे भए पनि
पहिले भन्दा धेरै फरक भाको छ
मेरो कुकुर झन क्या मोटाको छ ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































