साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औतारी काकाको खप्पर

Nepal Telecom ad

परिचय
‘ख्याल ख्याल’ गर्दागर्दै स्याल पक्रिन सफल भएका हास्यव्यङ्ग्य रचनाकार ‘औतारी काका’ को अवतार नेपालको राजधानी शहरभित्र पर्ने जाउलाखेलमा प्रकट भएको हो । माता प्रेमकुमारीसँग पिता प्रेमजङ्गको जङ्गविरामपछि प्रेमपूर्वक पैदा भएका कान्छा कुमारको नाम चिरञ्जीवी वीर विक्रम पाँडे थियो । पछि परिवारले नाम भाँडेर ‘जनक’ भन्न थाले । २००३ साल असार २५ का दिन जन्म लिएका लप्टन–पुत्र रामले बाल्यकाल रमाईरमाई बिताएको भए पनि युवावस्थामा उनलाई निकै तरुनीहरूले सताएका थिए । राणा परिवारहरूसँगको सम्पर्क, बुलबुले कपालमुनि चुलबुले आँखा र हिस्सी परेको अनुहारले गर्दा त्यस्तो विपत्ति आइलागेको थियो । (चन्द्रकान्त निरौलाः राकु पाँडेको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन, शोधपत्र पृ.४–५ ।) स्कुल जाने क्रममा नै उनको नाम रामकुमार पाँडे हुन पुगेको थियो । अरुलाई भने गोबरको तमाखु ख्वाउने आफू चाहिँ अम्मलका नामममा कूची– कलम मात्रै समाउने भएपछि यिनलाई ‘टपर्टुइँञा काजीको पगरी मिल्यो ।

शुरूमा ‘सुकुमार’ पछि ‘दाह्री–बाजे’ बनेका ‘मास्टर साहेब’ ले आफ्नो खप्परमा भरपूर उर्जा लिएर आएको रहस्य पछि मात्र थाहा भयो । पाल्पा पुगेर पोखरा झरेपछि उनका खप्पर सुनौलो रङको हुन गयो । भूतले तर्साएपछि भूगोलविद्बाट ‘स्वामी उदयानन्द’ भएका, लाटीसँग बिहे नगरीकन लाटीको पोइ बनेका व्यङ्ग्याचार्यले यही यात्रामा आफू निकै अग्लो भएको चाल पाए । त्यसपछि उनी ‘म अग्लो भएँ’ भन्दै ‘ख्याल–ख्याल’को गफभन्दा पनि अरुको सञ्चो–विसञ्चो ख्याल राख्ने ज्ञानी बनेर ज्यूँदो नेपाली सरह ‘सञ्चै छ ?’ भन्न थाले । (राजेन्द्र सुवेदी र हीरामणि शर्मा पौडेल, नेपाली हास्यव्यङ्ग्य निबन्ध– सा.प्र. २०४७, पृ.५२ ।)उनको त्यस प्रकारको प्रगतिले राकुपाको कुरालाई ख्यालठट्टा ठान्नेहरू जिलखान थाले । पाँडे बोलीका गोली खाएर मान्छेहरू मरणासन्न पर्ने क्रम बढ्यो । नौ ग्रहको बृत्तमा परेपछि त झन् उनको दरभाऊ बेग्लै भइहाल्यो । भैरव आर्यालले ठोकुवा नै गरे– “हास्यव्यङ्ग्यकारको हर बोली पाँडेबोली हुन्छ ।” (भैरव अर्याल, राकुपाको १०१ हास्यव्यङ्ग्य पृ.ञ को उद्धरणबाट ।)

अनि उनको ख्यालख्यालमा रतिरागको राल चुहेको कुरा क्षम्य हुन्छ, ‘खप्पर बलियो भएपछि छप्परले रोक्दैन’ भन्ने भाग्यवादी भनाई मान्ने हो भने उनले ‘सञ्चै छ’ भनेर सोधेकोे सवालमा प्रेमको अनुराग थिएन कसरी भन्ने । सामाजिक परिवर्तनका कुरा बैश ढलेपछिको चिन्तन हो । बलबैश छँदा त मोज गर्नुपर्छ, ‘मोज गर्नोस्’ भन्दै ‘मायालु’ लाई चित्र कोर्ने, पुस्तक लेखेर हातमुख जोर्ने, केटाकेटी भुल्याउन ‘पुतलीको घर’ बनाउने र ‘चरालाई जुत्ता’ लगाउने चर्तिकला गर्दै ‘कलियुगको सम्पादक’ बनेका अन्त्यमा सम्झिनुपर्ने नाम– राम भन्दै आफ्नो पहिचान दिन रुचाउने कुरापाँडेको कुरा जो छ त्यो “पाँडेपुराण” भएको छ । पाण्डेयभन्दा पान्थेय हुने डरले हो या आफूलाई कालु पाँडेको सन्तान बताएर ठालु हुने रहरले हो, मान्छे ‘लबरपाँडे’ भए पनि हास्यव्यङ्ग्य लेखनको क्षेत्रमा ‘कलम चण्डाल’ हुन पुगेका छन् । उनको यही खुबी ठम्याएर नै रामकुमार पाँडे भनेको ‘निर्भिक हास्यव्यङ्ग्य लेखक’ हुन् । (भवानी घिमिरे, राकुपाको कृति ‘खप्पर’को भूमिका पृ.क ।) ‘हास्य पक्षलाई टेवा दिंदै निबन्ध लेख्ने’ (ताना शर्मा, पच्चीस वर्षका नेपाली निबन्ध, नेराप्रप्र २०४८, पृ. १४ ।) ‘समकालीन पुस्ताका सर्वाधिक उज्ज्वल’ एवं ‘हास्यव्यङ्ग्यको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएका’ (वासुदेव त्रिपाठी– प्रज्ञा पूर्णाङ्क ८०, २०५१ पृ. ८५ ।) मनुष्य मानेको पाइन्छ । औतारी हुन् होइनन् भनेर खोजी–खन्तरी गर्नुमा भन्दा म पनि उनलाई आफैजस्तो शुद्ध मनुष्य मान्दछु । मान्छेका गुन–बैगुन जे छन् ती सब उनमा पनि छन् । परिवार नियोजनको नाराअनुसार ‘एक–एक दिक्क दुई–दुई ठिक्क” गरी अमितालाई एक औतारीलाई एक गरी ‘दुई सन्तान–ईश्वरको बरदान’ साकार पारेका छन् । आफू पठनपाठनमै रमाएको हुँदा लप्पनछप्पनतिर लाग्दैनन् । उनको भनाई छ– “जो ठग्न सिपालु छ त्यसले मोज गर्छ, जो जान्दैन त्यसले बोझ बोक्छ ।’ (रामकुमार पाँडे, १०१ हास्यव्यङ्ग्य, रत्न पुस्तक भण्डार २०५१, पृ.२९६ ।)

सिर्जनाको फूलबारी
वीसको दशक नै हास्यव्यङ्ग्य सिर्जनाको पहिलो उर्वर दशक बनेको हुँदा ‘खै खै’ भन्दैै ‘काउकुती’ लगाउने काम बाहेक त्यसअघिका गन्थन–मन्थनहरू ऐतिहासिक सन्दर्भमा नै संझना गरिन्छ । जब बीसको ‘विस्फोट’सँगै ‘जयभूडी’ भन्न थालिन्छ तब नै त ‘बाँचेर संसार हेरिन्छ’ भन्ने दर्शन लिएर हास्यव्यङ्ग्य लेखन्तेहरू जुर्मुराए । पत्रिकाहरूले हास्यव्यङ्ग्य विशेषाङ्क निकाले । यही अभियानमा ‘ख्यालख्याल’ बाट शुरु गरेर ‘सञ्चै छ’, ‘खप्पर’, ‘मोज गर्नोस्’, ‘बाह्र मज्जा’ जस्ता कृति लिएर औतारी काका अघि बढ्छन् । तीसको दशकमा थप रचना निकाल्दै– ‘बावुको बिहे’ देखाउँछन् । ‘सिंङ न पुच्छर’का गफ गर्दै आफ्नो नाम हास्यव्यङ्ग्य लेखकमा दर्ता गराउँछन् । फलस्वरूप साहित्यलाई मान्छेका मनको मयल धुने पानी ठानी व्यक्ति र समाजका नराम्रा आनीबानीमाथि सिस्नुपानी लगाउन थाल्दछन् । राकुपा आफ्नो सिर्जनामा प्रारम्भिक प्रयत्न स्वरूप प्राकृतिक रागमा रमाउन पुग्छन् । उनले वीसको दशकमा रचेका धेरै रचनामा यो प्रवृत्ति पाइन्छ भने तीसको दशक र त्यसपछि पनि कतिपय सिर्जनाहरूले राग परागको बखान गर्दछन् । अठार आश्चर्यको आविस्कारद्वारा औतारी काकाले आफ्ना दाैँतरीहरूलाई उछिन्ने बल गर्न थाल्छन् । हास्यव्यङ्ग्य रचनाहरूमा सबैभन्दा ठूलो ‘एकसय एक’ नामको ठेली निकाल्छन् । शैलीमा भैली खेल्दै अनेक पुराण फलाक्छन् । पाँडे पुराणका आधारमा हेर्दा– उनले आविस्कार गरेका नयाँ शैलीहरूमा– तमसुके शैली, विन्ति–पत्र शैली, प्रत्यक्ष–प्रसारण शैली, गणितीय शैली, परिसंवाद शैली, दिव्योपदेश शैली, मदारु शैली, योगाशन शैली, आत्मपरक शैली, कथात्मक शैली आदि देखा पर्दछन् । यीमध्ये पत्रात्मक शैली र समीक्षात्मक शैली भने पुरानै हुन् र पछिल्ला दुई पनि नेपाली साहित्यको गद्यात्मक सिप बनेर पहिलेदेखि नै चलन चल्तिमा छन् । तमसुके शैलीमा मन्त्रीको मेच, विन्तिपत्र शैलीमा विन्तिपत्रै भयो, मदारु शैलीमा नाचभालु नाच, दिव्योपदेश शैलीमा भव्योपदेश जस्ता सिर्जनाहरू हामीले हेर्न पाउँछौ । यी शैलीहरू लेखनको ढाँचा भए पनि शैलीकै स्तरमा केही काँचा लाग्न सक्छन् तै पनि ‘स्वामी उदयानन्द’जीले टाँचा मारेपछि मान्नु नै प¥यो । ‘बाह्र मज्जा’ नाम राख्दैमा वाह्रथरीका मनुष्य वर्गले कसरी सम्मै–जम्मै मजा मान्ने हुन् अलि अनौठो पनि लाग्छ ।

कुराको धक्कु र मनोरञ्जनको लक्कुमा केही भिन्नता हुने पक्कूतर्फ कम ध्यान गएर हो कि के हो ? सामाजिक विकृतिमा प्रहार प्रशस्तै भएर पनि हाँसो उब्जाउने खूबी मनग्गे पाइँदैन । त्यसो त उनी चरोको वर्गीकरणदेखि चोरको वर्गीकरणसम्म ध्यानदिन सक्षम छन् र रतिको राग र मतिको पराग बीच मिल्दोजुल्दो मेल मौलाउन नसकेको अनुभव पुस्तक पढ्नेहरूले गर्नुपर्दैन । नेपालीमा अंगे्रजी अक्षर मिसाएर गरिएको गाईजात्रा हेर्ने जात्रु कम हुने कुरा स्वाभाविक छ । रबड शैलीको घोषणा नगरेका भए पनि पाँडेले आफ्ना सिर्जनाहरूमा सानो कुरालाई तन्काएर आकाश–पाताल हाँक्ने गरी विषयवस्तु पस्केका छन् । समाज सुधारको सन्देश छुट्यो कि भन्दै ठाउँ–कुठाऊँ झस्केका छन् । हृदयचन्द्रसिंह प्रधानले मुसालाई वेद पढाउने धूनमा आफूलाई डुबाएका थिए भने रामकुमार पाँडेले बोकालाई गीता पढाउन चाहन्छन् । भाषाको सरलतामा उखानको बखान पनि पाइन्छ, आख्यानको परिधानसँगै कवितात्मक व्याख्यान भेट्टाइन्छ । कतै आफ्नो अहंकारसँगै अलङ्कार मिसाएर, कतै ताल–बेत्तालको गफ गर्दै ‘श्रीमती कस्तो हुनुपर्छ ?’ भनेर मनको बह बिसाएर उनले आफ्नो सिर्जनालाई सिंगारेका छन् । विष्णु प्रभातको ‘मान्छे मार्ने सजिलो तरीका’ भन्दा औतरी काकाको ‘मान्छे तौलने तरीका’ शान्तिप्रिय लाग्न सक्छ । तर श्रमिक जनतााको दुई चार ग्यालेन रगत पशिना चुसेर एकदुई पोका रक्तदान गर्ने पापीहरूको पङ्तिमा उनी पर्दैनन् । त्यसैले सामन्ती शोषक र पूँजीवादी महाजनका विरुद्धमा औतारी काका जम्जमाउँछन् ।

लेखनको विशेषता
साहित्य, कला र अभिनयमा समेत साधनारत स्रष्टा भए पनि ‘कलियुगका सम्पादक’ अलि लजालु छन् । उनले यौन र राजनीतिका कुरा लेख्दा नाम ढाँटी लेख्ने गरेका छन् । हास्यव्यङ्ग्य लेखन्तेहरूको जीवन सपार्ने पुर्पुरो पुरस्कार थपना गरेको भए पनि धेरैको पुर्पुरोमा त्यो सोमर्न लेखेको छैन भन्ने ठानेर होला त्यसलाई नियमित र व्यवस्थित गरिएको पाइँदैन । विषयवस्तुको गह्रँुगो प्रस्तुति भए पनि हास्यव्यङ्ग्य आफैं हलुङ्गो रचना हो भन्दै आकर्षक भाषामा, भनाई र भावको जुहारी खेल्दै, मन र जीवनलाई ठेल्दै–पेल्दै विकृतिमाथि जाइलाग्ने स्वभाव औतारी काकाको कला बनेको छ । उनलाई मुढेबलको विद्वता मन पर्दैन । विश्वशान्तिका लागि अन्न डढाल्ने नेपाली हुन् वा बत्ति बगाउने भारती हुन्, हतियार बढाउने अमेरिका होस् वा अन्नपात बढाउने चीन कसैप्रति मोह छैन । तटस्थ भएर उनी के भन्छन भने– “संसारका सबै धर्मलाई एउटै कराहीमा पकाएर मानव धर्मको हलुवा बनाउनु पर्छ ।’ (चन्द्रकान्त निरौला– पूर्ववत्– शोधपत्र– पृ. ३९ ।) हास्यव्यङ्ग्यलाई हल्काफुल्का लेखनको बाटोमा घच्चाएर च्याउझैं उम्रिएका चेपागाँडाबाट हास्य–व्यङ्ग्य सिर्जना समृद्ध बन्दैन । त्यसकारण औतारी काकाले ‘अन्घेर नगरी’ चहार्दा पक्राउ परे पनि उजेलो संसारका निम्ति लेखिरहेका छन् ।

राकुपाको हास्यव्यङ्ग्य लेखन सामाजिक, राजनैतिक तथा वैयक्तिक विषयवस्तुलाई टिपेर आफ्नो तर्क र अनुभव, आलोचना र सुझाव अघि सार्दै आदरपूर्वक अन्त्य हुन्छ । (राजेन्द्र सुवेदी र हीरामणि शर्मा, नेपाली हास्यव्यङ्ग्य निबन्ध, सा.प्र. २०५१, पृ.१०३ ।) सामाजिक संस्कार, सदाचार र सम्बन्धको सीमाभित्र प्रेम र यौनलाई हास्य र व्यङ्ग्यको शिल्पद्वारा सजाएर प्रस्तुत हुन्छ । उमेरअनुसार औतारी गफ गर्दै अघि बढ्ने क्रममा राकुपाको रचना प्रौढ, शिष्ट र सामाजिक दायित्वप्रति सचेत हुँदै मानवीय सम्बन्धप्रति संवेदनशील बनेर अभिव्यक्त भएका छन् । नेपली समाजको सुधार, समुन्नति र समृद्धि उनको रचनाधर्मिता बनेको छ ।

स्वैरकल्पनाको प्रयोगबाट हास्य सिर्जना गर्ने भैरव अर्यालको तरिका अँगालेका भए पनि तीसको दशक अघि र चालीसको दशकपछि उनका रचनाले फरक भाव–सन्देशलाई गुुदी बनाएका छन् । हासनेको उपहार बनेको चारखुट्टेको चमत्कार जर्ज अरबेलको चरखुट्टेको घरजम जस्तो छैन । प्रजातन्त्रको नक्कली गुण नङ्ग्याउने क्रममा त्यसले नेपाली माझ विखण्डन बढाएको कुरा अघि सार्छ । त्यसमा उनको चित्त धेरै दुखेको आभाष पाइन्छ । राजतन्त्रप्रति अनुरागी, धर्मतन्त्रप्रति बैरागी राकुपा ‘मध्यरातमा’ कविता लेख्छन्, झुप्रालाई महल देख्छन् र आफ्नो सिर्जनाको मूलक्षेत्र हास्यव्यङ्ग्य मानेर कृति लेख्छन् । ‘नेपाल परिचय’ सँगै अतिरिक्त परिचय बाँडेका पॉँडेले चित्रकला र अभिनयलाई शोखको साधन बनाएका छन । सम्पादन, प्राध्यापन, सर्वेक्षण र व्यवस्थापनलाई भने दालभात डुकु क्षेत्र मानेर सहर्ष स्वीकार गरेका छन् ।

निष्कर्ष
थोरैमा धेरै भन्नुपर्दा सबैलाई गाह्रो पर्र्छ । औतारी काकाको चौतारीमा निबन्ध, कविता, कार्टून र कथाहरू सुन्ने मान्छेहरू निकै संख्यामा छन् । त्यसमाथि माना पाथीको जमानामा झैं मूल्याङ्कनको तराजु नै बराजु वर्गको हातमा भएको हुँदा मेरा नजरमा उनको विशेषता भनेको– हास्यव्यङ्ग्य क्षेत्रमा खडा कडा मिजासका बडा प्रतिभा, कवितामा कम रमाउने र कहिलेकाहीँ बुरुस समाउने, सामाजिक विकृतिका बैरी सुधार सन्देशका मैरी, सरल सहज बोली व्यङ्ग्यको गोली, शब्दको झोली प्रेमको लोली, विषयको विविधता अभिव्यक्तिमा एकरूपता, मानव अस्तित्वका रखवारे सामयिक लेखनमा अखबारे, धार्मिक सुधारका पक्षपाती सामन्ती दृष्टिमा खुराफाती, राष्ट्रिय अस्तित्वका पुजारी जीवनराग र सामाजिक परागका अनुरागी । व्यक्तिगत रूपमा हेर्दा उनको लेखन निजात्मक परात्मक दुवै शैलीको भैली गाउने– नेपाली भाषामा अंगे्रजी घुसाउने, शब्द–कलाका पारखी– भाव र भावनाका सारथी, शिष्टहाँस्यका साधक सोझो बोलीका वाधक, स्वच्छ पवर्यावरण जीवनको आधार– यथार्थको प्रस्तुति कला साहित्यको सार, हास्यव्यङ्ग्यको मूल मीयो– समाजिक सुधारको सन्देशदियो ¹ बनेका छन् । अरुले के भन्छन् थाहा छैन, सिर्जनात्मक दृष्टिले हेर्दा हास्यव्यङ्ग्यको ‘जिउँदो नेपाली’ एक नम्मरमा अहिलेलाई अर्को आ‘ छैन । यसका निम्ति उनको खप्परलाई बलियै मान्नुपर्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x