वासुदेव पाण्डेयअज्ञान
ज्ञानी बुझ्दछ सत्य के गलत के झन् दूरदर्शी बनी
अज्ञानी रनभुल्ल पर्छ उसकै देखेर छाया पनि ।
झुक्ने वृक्ष पछारिँदैन कहिले आए हुरी, हुण्डरी
कालो रै छ ‘मुहार’मा तर सधैं ‘ऐना’ पुछेँ बेसरी ।।
टाल्ने होस भएन प्वाल पिककधको धेरै पुरानो थियो
गाग्री भर्न गरेर कोसिस भुलेँ पानी चुही सिद्धियो ।
अज्ञानी मन डग्मगाउँछ सधैं घोरिन्छु एकै छिन
डोरी मात्र रहेछ सर्प छ भनी तर्सें म धेरै दिन ।।
अर्को हो कि भनेर आक्रमणमा जुट्ने बडो क्रुद्ध भै
ऐनामा ‘प्रतिबिम्ब’ हो कुकुरले बुझ्दैन झम्टिन्छ नै ।
टोक्ने कोसिस गर्दछन् कुकुरले के हो नजानीकन
आफ्नै रूप नियाल्छ मानिस बडो आनन्द मानीकन ।।
यौटा भौतिक पक्षका कलुषता खोतल्छ वेदान्तमा
अर्को अर्थ र तर्क देख्दछ यहाँ चार्वाक सिद्धान्तमा ।
मौरी सञ्चय गर्दछन् मह मिली लैजान्छ मान्छे लुटी
के पो लान्छ र साथ मानिस मरे खोलेर जान्छन् मुठी ।।
मान्छेका गुण, योग्यता धमिलिने तान्यो भने रूपले
भन्ला सागर हुन्छ भिन्न र ठुलो के कूपमण्डूकले ?
जान्छन् भूप मरेर आयु सकिए साम्राज्य हुन्छन् क्षय
माटो हुन्छ मरेर जो पनि यहाँ को छन् र मृत्युञ्जय ?
बैतडी, हाल– सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































