सुनसरी बिचरी
धनकुटा कुटुँला सरि गर्दछ, धन पठा अझ भन्छ हपार्दछ
जति दिए पनि निल्छ हसुर्दछ, न त डकार्छ न ता गुन तिर्दछ ।
तल छ मोरङ मोरङ झैं रुखो, वचन गर्छ तिखो मनमा दुखो
जलन मात्र पठाउँछ तापको, न डर मान्दछ धर्म र पापको ।
छ मुटुमाझ धरान धरान झैं,चरचरी मन चिर्छ चिरान झैं
बनचरा पनि भागिसके पर, बनचरो अब काम कहाँ छ र ।
रुख सकेपछि पत्थर फोर्दछ,कनिकुथी भुइँमुन्तिर कोर्दछ
सब जमीन उजाड छ नग्न झैं,छ चुचुरो पनि शोकनिमग्न झैं ।
यदि उँभो चढुँ ता फुसरे भयो,अझ चढेपछि साँघुरिंदै गयो
सुँगुरको गुर गुर्गुर फैलियो, बगरमा गर माफिक मैलियो ।
ड्रग कतै छ कतै व्यभिचार छ, सुलभ एडसँगै अतिसार छ
भगवती पनि दाँत उखेलिए, शिव त पिण्ड लिई पर थन्किए ।
इनरुवा दिन रात रुवाउने, झगडिया कति तारिख धाउने
तरहरा तर मार्दछ हाकिम, तर धरा न हरा न भरा किन ।
इँटहरी दिन रात कराउने, टिटिहरी सरि हर्न बजाउने
युवक हात लिएर हिंडे छुरी, मन डराउँछ गर्दछ थर्थरी ।
अरि उतातिर बस्तछ सप्तरी,म वर आउँ कि भन्छ नदी तरी
न चतरातिरबाट तरावट, नहरमा सिकता छ रुकावट ।
छन त उद्यम छन् सब बन्द छन् ,पसल होटल औ लज बन्द छन्
शहरिया भरिया पनि बन्द छन्,सब बजार हिलेतिर सर्दछन् ।
अलिकता सुखका दुखका कुरा, भनुँ भने पनि को सुनिदिन्छ र
छ सँगिनी पनि एक बुढी नदी,उ पनि गै तल चित्त यता नदी ।
जुन थिई पहिले सुन झैं परी, जुन समान सुनै सुन छिर्बिरी
अब अतीत भयो सपना सरि, सुनसरी बिचरी ठहरै परी ।
कमलपोखरी, काठमाडौं