विमल निभाश्वान श्रेष्ठको चयन
श्वान सम्बन्धी मेरो ज्ञान कति अल्प रहेछ, यसको समुचित बोध मलाई श्वान प्रतियोगितामा गएर भयो । वास्तवमा म सोच्ने गर्थें, यो धरामा जम्माजम्मी दुई प्रकारका श्वानहरू अस्तित्वमा रहेका छन् । एक, हाम्रो समाजमा रहेका उच्च वर्गका अभिजात्य कुकुरहरू र अर्काे तल्लो वर्गका सामान्य कुकुरहरू । तर नाइँ यिनीहरू त विभिन्न वर्ग, रंग, जात, नश्ल, वर्ण, जाति, उपजाति आदिमा पो विभाजित रहेछन् ।
त्यसो भए, हामी मानव र कुकुरहरूमा के भेद रहेछ त ? म प्रदर्शनीस्थलको भव्य कक्षमा सुस्तरी प्रवेश गरेंँ । त्यहाँ भाँति–भातिका श्वानहरूसँग मेरो प्रत्यक्ष साक्षात्कार भयो । उदाहरणका लागि कुनै छोटो काँटका कुकुर भने कुनै बडेमानको एलसेसियन कुकुर । कुनै घुमाउरो पुच्छर भएको कुकुर भने कुनै क्लिनसेम्ड कुकुर । कुनै झ्वाप्पै भुत्लै—भुत्लाले छोपिएको कुकुर भने कुनै एकदमै सुटेड—बुटेड कुकुर । कुनै माथिल्लो हिमालको हिमाली कुकुर भने कुनै समथर भूमिको तराइयन कुकुर । कुनै विशुद्ध नेपाली अर्थात् स्वदेशी कुकुर भने कुनै छिमेकको हिन्दुस्तानी कुकुर । कुनै सर्वथा श्वेत वर्णको संयुक्त राज्य अमेरिकाको अमेरिकन कुकुर भने कुनै आफ्नो शरीरमा एब्सट्रेक्ट पेन्टिङ खोपाएको कुकुर । आदि–इत्यादि ।
मेरो व्यक्तिगत अनुमान के थियो भने इन्टरनेसनल ल्यांग्वेज अंग्रेजीमा जोडजोडले भुकिरहेको कुकुर सर्वश्रेष्ठ श्वान हुनेछ । मेरो मतलव दाता देशको कुकुर हो । अर्थात् कुनै अविकसित मुलुकको श्वान त होइन नि । यस्तो खाले समारोहका लागि हरियो–हरियो डलर कहाँबाट आउँछ ? तर मसँगै प्रदर्शनीस्थल विचरणमा व्यस्त एक हाइ सेन्डलको सहयोगले उँचो कदकी भद्र महिला मेरो अनुमानसँग पूर्णरूपले असहमत थिइन् । उनको सम्पूर्ण तर्क सामुन्नेको क्लिनसेम्ड कुकुरको हार्दिक समर्थनमा निर्मित थियो ।
वस्तुत उनको तर्क के थियो भने– मिस्टर, तपाई अलिक क्लिनसेम्ड कुकुरतर्फ आफ्नो ध्यान त पु¥याउनोस् । अर्थात् पर्सनाल्टी पनि कुनै कुरो होइन र ? हाम्रो श्वान संवाद दुवै कान ठाडो पारेर सुनिरहेको एक नेता टाइप सज्जनको मौलिक विचार हामी दुवैभन्दा भिन्न प्रकारको थियो । उनले हामीसमक्ष प्रकट गरेको विचार यस्तो थियो– हामीले यो महत्त्वपूर्ण पदवी हिन्दुस्तानी कुकुरलाई किन नदिने ? जब हामी नेपालीहरू नुनदेखि लिएर स्वदेशी कुकुरलाई सेवन गराउने डग फुड विस्कुटसम्ममा छिमेकी देश हिन्दुस्तानको सम्पूर्णतः भर पर्छौं भने कुकुर चयनमा मात्रै स्वतन्त्रताको यत्रो आग्रह किन ?
यो तर्क सबल थियो । त्यसकारण सँगैको भद्र महिलासहित म पछिल्तिर हेर्न थालेंँ । पछिल्तिर एक विशालकाय बुलडग दृष्टिगोचर भयो । क्षमा गर्नाेस्, उसको समीप गएर हेर्दा स्थितिले पुरै पल्टा खायो । याने उनी त यस श्वान प्रतियोगिताको प्रमुख निर्णायक पो रहेछन् । उनको उन्नत प्रकारको स्वास्थ्यरूपी व्यक्तित्वले मलाई अलिकति भ्रम भयो । जे होस्, यो श्वान प्रतियोगितामा कुनचाहिंँ कुकुर सर्वश्रेष्ठ श्वान श्रीपेचको असली हकदार हो, यो उनकै स्वविवेकी निर्णयमा निर्भर थियो ।
असलमा उनी एक फौरन रिटर्न श्वान विशेषज्ञ थिए । डग एन्ड फेमिली लाइप टाइपका सयौं पेंगुइन एडिसनका श्वान ग्रन्थहरू अध्ययन—मनन गरेर पचाइसकेका सुप्रसिद्ध श्वान विद्वान हाल ‘श्वान प्रजनन क्रिया र मौसमको अनुकूलता’ शीर्षकमा कुनै युरोपियन युनिभर्सिटीमा अनुसन्धानरत थिए । तसर्थ कुनै पनि श्वानसम्बन्धी निर्णय आदिमा जज महोदयको निर्णायकत्व निर्विवाद रूपले मानिएको थियो । अर्थात् उनको श्वान निर्णय क्षमता चुनौतीरहित मानिन्थ्यो । श्वान प्रतियोगितामा यही श्वान विशेषज्ञको सक्रियता हेर्नलायकको थियो ।
उनी एक मोटो आइग्लासको सहयोगले चपलतापूर्वक यताउता गरेर तमाम कुकुरहरूको परख गरिरहेका थिए । अर्थात विविध कोण र उपकोणमा जाँचबुझ चालु थियो । उनी कहिले कुनै कुकुरको पृष्ठभागको मांसपेशीलाई हलुका ढंगले स्पर्श गर्थे भने कहिले कुनै कुकुरको टेढो पुच्छरको समग्र बनोटमा तीक्ष्ण दृष्टि दिएर चिन्तनमग्न हुन्थे । अर्को शब्दमा भन्ने हो भने उनी प्रतियोगिताका श्वानहरूका अंग–प्रत्यंग याने आँखा, नाक, कान, जिब्रो, खुट्टा, सबतिर सफल विचरण गरिरहेका थिए । एकाएक श्वान विशेषज्ञ महोदय तनावग्रस्त देखापरे । उनको फराकिलो ललाटका रेखाहरू परस्पर अल्झिएका थिए । तर केही समयपश्चात शिथिल भएर उनी एउटा कुर्सीमा बसे । सायद अहिले पनि केही सोचिरहेका थिए । यही उनको निजी मुद्रा थियो ।
एउटा लामो अन्तरालपछि उनी सिटबाट जुरुक्क उभिए । र हतार—हतार अगाडिको उँचो मञ्चमा राखिएको माइकतर्फ अग्रसर भए । त्यहाँ पुगेर उनले अर्थात् निर्णायक श्वान विशेषज्ञले गम्भीर भावमा जुन प्रवचन प्रस्तुत गरे, त्यसको लम्बाइ, चौडाइ र गहिराइ प्रशस्त भएकोले सो धारावाहिक वाणीको संक्षिप्तीकरण यसप्रकार छ–
श्वानप्रेमी बन्धुहरू हो, म एक महत्त्वपूर्ण सूचना प्रसारण गर्ने अनुमति चाहन्छु । यो के भने विशेष कारणको परिणामस्वरुप श्वान प्रतियोगिता भङ्ग गरिएको छ । यसको अर्काे कारण के भने प्रतियोगिता, निर्वाचन, प्रतिस्पर्धा, जय—पराजय आदि शब्दबाट राजनीतिक गन्ध आउँछ । हामी श्वान अर्थात् श्वानप्रेमी समाजलाई प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र आदिसँग के सरोकार ? त्यसकारण सर्वसम्मत ढङ्गले म यस प्रतियोगिताको श्वान श्रेष्ठको घोषणा गर्न गइरहेको छु । उहाँ हुनुहुन्छ, अघिल्लो पङ्क्तिको तेस्रो क्रममा विराजमान प्यारो–प्यारो सानो पमेरियन कुकुर– यो वर्षको सर्वश्रेष्ठ श्वान । आशा एवं विश्वास छ, तपाईहरू सबै मेरो समर्थनमा जोडदार ताली बजाउनु हुनेछ । जय श्वानप्रेमी समाज !
कान्तिपुर, आश्विन ३०, २०७२
Subscribe
Login
0 Comments
Oldest








































