साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्वान श्रेष्ठको चयन

Nepal Telecom ad

श्वान सम्बन्धी मेरो ज्ञान कति अल्प रहेछ, यसको समुचित बोध मलाई श्वान प्रतियोगितामा गएर भयो । वास्तवमा म सोच्ने गर्थें, यो धरामा जम्माजम्मी दुई प्रकारका श्वानहरू अस्तित्वमा रहेका छन् । एक, हाम्रो समाजमा रहेका उच्च वर्गका अभिजात्य कुकुरहरू र अर्काे तल्लो वर्गका सामान्य कुकुरहरू । तर नाइँ यिनीहरू त विभिन्न वर्ग, रंग, जात, नश्ल, वर्ण, जाति, उपजाति आदिमा पो विभाजित रहेछन् ।

त्यसो भए, हामी मानव र कुकुरहरूमा के भेद रहेछ त ? म प्रदर्शनीस्थलको भव्य कक्षमा सुस्तरी प्रवेश गरेंँ । त्यहाँ भाँति–भातिका श्वानहरूसँग मेरो प्रत्यक्ष साक्षात्कार भयो । उदाहरणका लागि कुनै छोटो काँटका कुकुर भने कुनै बडेमानको एलसेसियन कुकुर । कुनै घुमाउरो पुच्छर भएको कुकुर भने कुनै क्लिनसेम्ड कुकुर । कुनै झ्वाप्पै भुत्लै—भुत्लाले छोपिएको कुकुर भने कुनै एकदमै सुटेड—बुटेड कुकुर । कुनै माथिल्लो हिमालको हिमाली कुकुर भने कुनै समथर भूमिको तराइयन कुकुर । कुनै विशुद्ध नेपाली अर्थात् स्वदेशी कुकुर भने कुनै छिमेकको हिन्दुस्तानी कुकुर । कुनै सर्वथा श्वेत वर्णको संयुक्त राज्य अमेरिकाको अमेरिकन कुकुर भने कुनै आफ्नो शरीरमा एब्सट्रेक्ट पेन्टिङ खोपाएको कुकुर । आदि–इत्यादि ।

मेरो व्यक्तिगत अनुमान के थियो भने इन्टरनेसनल ल्यांग्वेज अंग्रेजीमा जोडजोडले भुकिरहेको कुकुर सर्वश्रेष्ठ श्वान हुनेछ । मेरो मतलव दाता देशको कुकुर हो । अर्थात् कुनै अविकसित मुलुकको श्वान त होइन नि । यस्तो खाले समारोहका लागि हरियो–हरियो डलर कहाँबाट आउँछ ? तर मसँगै प्रदर्शनीस्थल विचरणमा व्यस्त एक हाइ सेन्डलको सहयोगले उँचो कदकी भद्र महिला मेरो अनुमानसँग पूर्णरूपले असहमत थिइन् । उनको सम्पूर्ण तर्क सामुन्नेको क्लिनसेम्ड कुकुरको हार्दिक समर्थनमा निर्मित थियो ।

वस्तुत उनको तर्क के थियो भने– मिस्टर, तपाई अलिक क्लिनसेम्ड कुकुरतर्फ आफ्नो ध्यान त पु¥याउनोस् । अर्थात् पर्सनाल्टी पनि कुनै कुरो होइन र ? हाम्रो श्वान संवाद दुवै कान ठाडो पारेर सुनिरहेको एक नेता टाइप सज्जनको मौलिक विचार हामी दुवैभन्दा भिन्न प्रकारको थियो । उनले हामीसमक्ष प्रकट गरेको विचार यस्तो थियो– हामीले यो महत्त्वपूर्ण पदवी हिन्दुस्तानी कुकुरलाई किन नदिने ? जब हामी नेपालीहरू नुनदेखि लिएर स्वदेशी कुकुरलाई सेवन गराउने डग फुड विस्कुटसम्ममा छिमेकी देश हिन्दुस्तानको सम्पूर्णतः भर पर्छौं भने कुकुर चयनमा मात्रै स्वतन्त्रताको यत्रो आग्रह किन ?

यो तर्क सबल थियो । त्यसकारण सँगैको भद्र महिलासहित म पछिल्तिर हेर्न थालेंँ । पछिल्तिर एक विशालकाय बुलडग दृष्टिगोचर भयो । क्षमा गर्नाेस्, उसको समीप गएर हेर्दा स्थितिले पुरै पल्टा खायो । याने उनी त यस श्वान प्रतियोगिताको प्रमुख निर्णायक पो रहेछन् । उनको उन्नत प्रकारको स्वास्थ्यरूपी व्यक्तित्वले मलाई अलिकति भ्रम भयो । जे होस्, यो श्वान प्रतियोगितामा कुनचाहिंँ कुकुर सर्वश्रेष्ठ श्वान श्रीपेचको असली हकदार हो, यो उनकै स्वविवेकी निर्णयमा निर्भर थियो ।

असलमा उनी एक फौरन रिटर्न श्वान विशेषज्ञ थिए । डग एन्ड फेमिली लाइप टाइपका सयौं पेंगुइन एडिसनका श्वान ग्रन्थहरू अध्ययन—मनन गरेर पचाइसकेका सुप्रसिद्ध श्वान विद्वान हाल ‘श्वान प्रजनन क्रिया र मौसमको अनुकूलता’ शीर्षकमा कुनै युरोपियन युनिभर्सिटीमा अनुसन्धानरत थिए । तसर्थ कुनै पनि श्वानसम्बन्धी निर्णय आदिमा जज महोदयको निर्णायकत्व निर्विवाद रूपले मानिएको थियो । अर्थात् उनको श्वान निर्णय क्षमता चुनौतीरहित मानिन्थ्यो । श्वान प्रतियोगितामा यही श्वान विशेषज्ञको सक्रियता हेर्नलायकको थियो ।

उनी एक मोटो आइग्लासको सहयोगले चपलतापूर्वक यताउता गरेर तमाम कुकुरहरूको परख गरिरहेका थिए । अर्थात विविध कोण र उपकोणमा जाँचबुझ चालु थियो । उनी कहिले कुनै कुकुरको पृष्ठभागको मांसपेशीलाई हलुका ढंगले स्पर्श गर्थे भने कहिले कुनै कुकुरको टेढो पुच्छरको समग्र बनोटमा तीक्ष्ण दृष्टि दिएर चिन्तनमग्न हुन्थे । अर्को शब्दमा भन्ने हो भने उनी प्रतियोगिताका श्वानहरूका अंग–प्रत्यंग याने आँखा, नाक, कान, जिब्रो, खुट्टा, सबतिर सफल विचरण गरिरहेका थिए । एकाएक श्वान विशेषज्ञ महोदय तनावग्रस्त देखापरे । उनको फराकिलो ललाटका रेखाहरू परस्पर अल्झिएका थिए । तर केही समयपश्चात शिथिल भएर उनी एउटा कुर्सीमा बसे । सायद अहिले पनि केही सोचिरहेका थिए । यही उनको निजी मुद्रा थियो ।

एउटा लामो अन्तरालपछि उनी सिटबाट जुरुक्क उभिए । र हतार—हतार अगाडिको उँचो मञ्चमा राखिएको माइकतर्फ अग्रसर भए । त्यहाँ पुगेर उनले अर्थात् निर्णायक श्वान विशेषज्ञले गम्भीर भावमा जुन प्रवचन प्रस्तुत गरे, त्यसको लम्बाइ, चौडाइ र गहिराइ प्रशस्त भएकोले सो धारावाहिक वाणीको संक्षिप्तीकरण यसप्रकार छ–

श्वानप्रेमी बन्धुहरू हो, म एक महत्त्वपूर्ण सूचना प्रसारण गर्ने अनुमति चाहन्छु । यो के भने विशेष कारणको परिणामस्वरुप श्वान प्रतियोगिता भङ्ग गरिएको छ । यसको अर्काे कारण के भने प्रतियोगिता, निर्वाचन, प्रतिस्पर्धा, जय—पराजय आदि शब्दबाट राजनीतिक गन्ध आउँछ । हामी श्वान अर्थात् श्वानप्रेमी समाजलाई प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र आदिसँग के सरोकार ? त्यसकारण सर्वसम्मत ढङ्गले म यस प्रतियोगिताको श्वान श्रेष्ठको घोषणा गर्न गइरहेको छु । उहाँ हुनुहुन्छ, अघिल्लो पङ्क्तिको तेस्रो क्रममा विराजमान प्यारो–प्यारो सानो पमेरियन कुकुर– यो वर्षको सर्वश्रेष्ठ श्वान । आशा एवं विश्वास छ, तपाईहरू सबै मेरो समर्थनमा जोडदार ताली बजाउनु हुनेछ । जय श्वानप्रेमी समाज !

कान्तिपुर, आश्विन ३०, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x